0 COMMENTS

काठमाडौँ, १९ साउन । नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले आगामी आइतबार मलेसियाको किनरारा ओभलमा नेपाल र विश्व ११ टोलीबीच खेल हुँदैछ ।

11703499_1064541826898246_5169878060840143930_o‘ब्याट फर नेपाल’ नाम दिइएको उक्त अभियानमा खेल्ने विभिन्न देशका खेलाडी सम्मिलित विश्व ११ टोलीको कप्तानी श्रीलङ्काली जेलेन्ड सनथ जयसूर्याले गर्ने लगभग पक्का भएको छ । खेल २० ओभरको हुनेछ ।

यसअघि कप्तानीको जिम्मेवारी अर्का श्रीलङ्काली खेलाडी लासिथ मालिङ्गाले गर्ने भनिए पनि त्यो सत्य नभएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । “मालिङ्गाले ‘ब्याट फर नेपाल’ अभियानका लागि समर्थन गरेका हुन्, खेल्नैपर्छ भन्ने छैन,” क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले भन्नुभयो ।

विश्व ११ विरुद्ध खेल्ने नेपाली टोलीको चाँडै घोषणा गरिने क्यानले जनाएको छ । खेल हेर्न मलेसियामा धेरै नेपाली दर्शकको उपस्थिति हुने भएकाले अधिकाङ्श राष्ट्रिय टोलीकै खेलाडी टोलीमा रहने क्यानले बताएको छ ।

विश्व ११ को सम्भावित टोलीमा श्रीलङ्काका जयसूर्याका अतिरिक्त पाकिस्तानका पूर्व विकेट किपर रसिद लतिफ, बङ्गलादेशका पहिलो टेस्ट कप्तान अमिनुल इस्लाम, अब्दुल रज्जाक, शोहाग गाजी, अस्ट्रेलियाका स्टिभ ओकिफे र मार्कुस स्टाइनिस, मलेसियाका सुरेश नवरत्नम, अहमद फैज र बेणुगोपाल राव तथा सिङ्गापुरका चेतन सूर्यवंशीलगायतको नाम छ ।

‘ब्याट फर नेपाल’ अभियानबाट उठेको करिब ७० प्रतिशत रकम भूकम्पपीडितका लागि तथा ३० प्रतिशत जति रकम नेपाली क्रिकेटकै विकासमा खर्च गरिने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।