0 COMMENTS

पूर्वको प्रसिद्ध तिर्थस्थल पाथिभरा हिन्दू एवं बौद्धहरूको महत्त्वपूर्ण धार्मिक स्थल हो। ताप्लेजुङ जिल्लाको १२००० फिटको उचाइमा बसेर आफ्नो सृष्टि र भक्तहरूको निगरानी गरिरहने माता पाथिभरालाई आस्था विश्वास अनि पवित्रताकी देवी मानिन्छ। अन्नले भरिएको पाथी जस्तै सुन्दर मनमोहक आकृति बोकेको पाथिभरा पर्वतमा उत्पन्न भएकी, आफ्ना भक्तहरूको मनोकामना पूर्ण गर्ने साक्षात भगवतीको दर्शनीय स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङबाट १८.४ किलोमिटर उत्तरपूर्वमा ३,७८४ मिटरको उचाइमा अवस्थित छ।

हाल नेपालको थुप्रै ठाउँमा पाथिभरा माताको मूर्ति स्थापना गरिएको भएपनि र हरेक माताको मुर्ति रहेको ठाउँमा भक्त हरुको भिडभाड देखिने भए पनि यहाँ रहेकाे मूर्ति सबै भन्दा अग्लो (८’६”) र माताको यो प्रथम उत्पत्ति स्थल भएको ले धार्मिक भक्तहरू आस्थाका कारण र पैदल यात्रा मा रमाउने पर्यटक हरू यहाँको प्राकृतिक दृश्यको मोहकता मा रमाउन यसै ठाउँमा जान रुचाउँछन्। सडक सुविधा र खाने बस्ने ठाउँको ब्यबस्था का साथै पैदल यात्रा गर्नु पर्ने बाटोको पनि सहजता सँगै दैनिक हजारौंको सङ्ख्यामा दर्शनार्थी हरू पुग्ने गरेको यो सुन्दर, पवित्र र रमणिय क्षेत्र साँच्चै स्वर्ग समान छ।

पैदल यात्रा गर्नु पर्ने उकालो दूरी लभगभ ५ किलोमिटर मात्र भए पनि उचाइका कारण र करिब ५ महिना जति हिउँ पर्ने अनी हमेशा ० डिग्री तापमान रहने उक्त क्षेत्रमा तीर्थ यात्री तथा पर्यटक हरू ले लेकलाग्ने (High Altitude sickness) र न्युनताप (Hypothermia) बाट जोगिन यात्रा मा जानू पूर्व डाक्टरको सल्लाह लिन र घरेलू उपचारको सामाग्री तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ न्यानो कपडा, रेन कोट आदिको व्यवस्था गर्न बिर्सनु हुँदैन। हिउँमा चिप्लिन बाट जोगिन काे लागी जुत्ता भन्दा बाहिर मोजा लगाउनु पर्छ।

किराँती वा लिम्बु भाषामा मुकुम्लुङ भनिने यसै क्षेत्रमा परापूर्व कालमा भेडिगोठ राखेका गोठालाहरूको बथान भेडा अलग भएपछि स्तब्ध भएका गोठालाहरूलाई राति सपनामा देवीले आफ्नो आकृति र उत्पत्ति स्थलको बोध गराउँदै भेडाको बलि सहित पूजा अर्चना गर्न निर्देशन दिनुभएपछि देवी को आज्ञाअनुसार आत्मबोध प्राप्त गोठालाहरूले भक्तिभाव पूर्वक पूजा अर्चना गरि सबैभन्दा रिष्टपुष्ट भेडाको बलि दिने बित्तिकै ती अलग भएका सयकडौँ भेडाहरु जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे भने बलि दिएको भेडाको रगत पनि बलिस्थानमा झर्नासाथ हराउन पुग्यो। दैनिक सयौं बलि चढाउने यो मन्दिरमा बलि दिएको आधारमा मन्दिरमा रगतको पोखरी जम्नु पर्थ्यो तर त्यस्तो हुँदैन यसकारण यहाँ बलि चढाइने कालिका देवीले भक्त हरुले दिएका बलि सहजै ग्रहण गर्छिन भन्ने जनविश्वास छ। भेडा गोठालाहरूले पत्ता लगाएकी यी भगवतीको चर्चा देश तथा विदेशमा समेत पुगेका कारण दैनिक जसो हजारौंको सङ्ख्यामा (भक्तजनहरू) दर्शनार्थीहरु पुग्ने गर्दछन्। माथिल्लो फेदीबाट थोरै पर रहेको कान्छी थान पुगेर दर्शन गरेपछि माथि पाथिभरा माताको दर्शन गर्न सहजै सकिन्छ भन्ने जनविश्वास रहेको यस ठाउँमा आस्था र इच्छा हुने हो भने पाथीभरा माता को दर्शन गर्न गाह्रो भने छैन। कमजोर शारीरिक अवस्था र उमेर भएका भक्तहरूले पनि दर्शन गर्ने चाहना राख्ने हो भने पैदल हिँड्नुपर्ने अप्ठ्यारो बाटोमा जुनसुकै ठाउँमा बोकेर माताको दर्शन गराइदिन तत्पर सहयोगी दाजुभाइहरु भेट्न सकिन्छ। कसै द्वारा बोकीएर मन्दिर जानु मनले सहजै स्विकार्ने काम त होइन तर कसैलाई आम्दानी हुने र कसैकाे मनको इच्छा पूरा हुने भएकाेले याे कार्य लाई राम्रै मान्नु पर्ने देखिन्छ।

मन्दिरमा दर्शन गर्नका लागि कुनै जात ,धर्म र लिङ्गको भेदभाव छैन। तर मनमा शुद्धता र आस्था भने हुनुपर्दछ। यहाँबाट देखिने अत्यन्तै सुन्दर मनमोहक दृश्य मध्ये सेसेलुङ कञ्चनजङ्घाको सुर्योदय र सूर्यास्तको दृश्य हो। मौसम सफा भएका बेलामा पुग्ने अवसर पाएका हरूले धेरै दृश्यावलोकन गर्न पाउने हिमालहरूमा कञ्चनजङ्गा, कुम्भकर्ण ,मकालु , काङ्बाचेन लोत्से ,नोत्से र मकालु,हुन्।

लगभग ५ महिना हिँउले छोपिने याे क्षेत्र मा फागुन देखि कार्तिक महिना सम्म गरिने यात्रालाई भने उपयुक्त मानिन्छ। मध्ये पहाडी लाेक मार्ग को सञ्चालन सँगै देशका थुप्रै भाग हरूलाई सडक सञ्जाल ले छोए पछि गाडी द्वारा गरिने पाँच दिन को पाथिभरा को यात्रा भित्र भोजपुरको सिद्ध काली र खोटाङ को हलेसी दर्शन लाई पनि समेट्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।