0 COMMENTS

वि.सं. २०७६ आश्विन १७ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०४ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत कात्यायनी भगवतीको पूजा आराधना गर्ने दिन, बिल्व निमन्त्रण, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, आश्विन शुक्लपक्ष (कौलाथ्व) षष्ठी तिथि, दिउँसो ०२:२५ बजेसम्म, त्यसपछि सप्तमी तिथि, ज्येष्ठा नक्षत्र, साँझ ०५:५१ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, साँझ ०५:५१ बजेसम्म, त्यसपछि धनु राशिमा, आयुष्मान् योग, बिहान ०७:२३ बजेसम्म, त्यसपछि सौभाग्य योग, सुरुमा तैतिल करण दिउँसो ०२:२५ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०२:१७ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : चर, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पश्चिम, वारशूल : पश्चिम, नक्षत्रशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:५७ बजे, सूर्यास्त : साँझ ०५:४६ बजे, दिनमान : २९ घडी ३१ पला (११ घण्टा ४८ मिनेट, रात्रीमान : ३० घडी २९ पला (१२ घण्टा १२ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आज बेलुकीपख तपाईंको राशिबाट भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर दिनभरि अष्टम भावमा रहने चन्द्रमाको प्रभावले परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग चित्त नबुझ्न सक्छ । बोलीमा संयमता अपनाउनु पर्छ किनकि भनेको कुराले विपरीत अर्थ वहन गर्नेछ । नयाँ साथीभाइलाई झट्ट विश्वासमा लिनु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दाम्पत्य जीवन पनि निराशापूर्ण नै रहने छ । दिउँसोबाट क्रमशः निराशाको अन्त्य हुँदै जानेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –मन रोमान्टिक र भावुक बन्नेछ । रमझम र मनोरञ्जनमा आकर्षण बढ्रन सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । दिन ढल्दै जाँदा जिम्मेबारीबोध बढ्दै जानेछ, रामरमाइलो त्यागेर व्यवसायिक गतिविधिमा संलग्न हुन मन लाग्नेछ । आम्दानीका दृष्टिले नराम्रो छैन, तर विलासिताका क्षेत्रमा खर्च बढ्न सक्छ । साँझपख जुवाजन्य क्रियाकलाप र जोखिममूलक कामबाट फाइदा हुने छैन, होस राख्नु जाति हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । साँझपख विलासिताका भावना र मोजमज्जाप्रति आकर्षण बढ्न सक्छ । पुराना सम्झनामा हराउन सक्नुहुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आत्मबल बढ्ने समय छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । आज विशेषगरी ज्ञानमूलक क्षेत्र र छात्रछात्राका लागि स्मरणीय समय हो । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । बन्धुबान्धव र दाजुभाइका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया/प्रेमको वातावरण बन्नेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । ठूलाबडाले सहयोग गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –उदयकालमा चतुर्थ चन्द्रमा भएकाले घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । यात्राको सम्भावना छ । रातीअबेर चन्द्रमाले पाँचौं घरलाई छुनेछ, त्यसपछि दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् । तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ । छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना छ । प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ । आज जे गरे पनि परिवारको भावना र विचारलाई कदर गरी काम गर्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ । बन्दव्यापारमा सोचेको फाइदा हुने दिन छ । विवादमा विजयी बन्नु हुनेछ तर बोलीवचनमा कडापन त्यागेको राम्रो हुन्छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साँझ घरपरिवारका गर्नै पर्ने काममा दिलचस्पी बढाउनु पर्ने समय रहने छ । अभिभावकका इच्छापूरा गर्न समय निकाल्नु जायज हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन/पाठनमा प्रगति हुनेछ । विशेष सभा/समारोहमा सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल बन्नु हुनेछ । आज नयाँ चिनजान भएको व्यक्तिउपर झट्ट विश्वास गर्नु राम्रो होइन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आफ्नै राशिमा चन्द्रमा र बृहस्पतिको उपस्थिति हुनाले गजकेशरी योगको सिर्जना भएको छ, अब नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –यात्राको योग छ । राशिस्वामी बृहस्पतिका साथमा चन्द्रमासमेत द्वादश भावमा उपस्थित भएकाले शुभ परिणाम पाउने समय होइन, तर राशिस्वामीको अनुकूलता भएकाले केही सकारात्मक र शुभ परिणामहरू प्राप्त हुनेछन् । त्यसैले आज काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ । वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ, घरखर्चमा बृद्धि हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आत्मबल र निर्णय क्षमतामा बृद्धि हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । साँझ बाह्रौं भावमा चन्द्रमा र राशिस्वामीको युतिसम्बन्ध बन्ने भएकाले नकारात्मक ऊर्जा वहन हुने समय छ, एकान्तमा बस्नु ठिक हुँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापार/व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –आज परोपकारी काममा खट्नु पर्ने दिन छ । दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ । तर्कवितर्क र प्रतिस्पर्धामा विजयी भइने छ । घरपरिवारमा सुमधुर वातावरण सिर्जना हुनेछ । साथीभाइले सकेको सहयोग गर्नेछन् । प्रेम र प्रणयप्रसङ्गका लागि पनि समय अनुकूल छ । सानो प्रयासले भाग्यबल बृद्धि गर्न सकिने दिन छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।