0 COMMENTS

वि.सं. २०७६ आश्विन ०९ गते बिहीबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २६ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत त्रयोदशी श्राद्ध, मघा श्राद्ध, गुरु प्रदोष व्रत, कलियुगादि, आश्विन कृष्णपक्ष (ञलागा) द्वादशी तिथि, बिहान ०७:३३ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि भोलिबिहान ०५ बजेर १३ मिनेटसम्म त्यसपछि चतुर्दशी तिथि, मघा नक्षत्र, मध्यरात्रीपछि ०२:४१ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, बिहान ०७:४१ बजेसम्म, त्यसपछि साध्य योग, सुरुमा तैतिल करण बिहान ०७:३३ बजेसम्म, त्यसपछि गर करण साँझ ०६:२३ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : मुसल, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : नैऋत्य, वारशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:५३ बजे, सूर्यास्त : साँझ ०५:५५ बजे, दिनमान : ३० घडी ०५ पला (१२ घण्टा ०२ मिनेट, रात्रीमान : २९ घडी ५५ पला (११ घण्टा ५८ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एकाबिहानै केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –चतुर्थ चन्द्र भए पनि दिन लाभदायक नै देखिन्छ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु परे पनि सफलता हासिल हुनेछ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा बढोत्तरी हुनेछ । बन्दव्यापार फस्टाउने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –मध्यमफल प्राप्त हुनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । तपाईंसँग चेलीबेटी वा कुटुम्बपक्षको सम्बन्ध चिसिन सक्छ । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । धातु र गरगहनाको खरिदमा महँगोमा पर्नसक्नु हुन्छ । दैनिक कारोबारबाट फाइदा नै हुनेछ । पारिवारिक र घरायसी जीवनमा विभिन्न समस्या देखापरे तापनि तिनलाई सजिलै समाधान गर्नुहुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –अहिलेको समय तपाईंको पक्षमा छैन । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । ज्ञानविज्ञान र चिन्तन मननमा समय बित्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आम्दानीमा कमी आउने छैन । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ । आफन्तहरूले मनले चाहेजस्तै सहयोग गर्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । करकुटुम्बको आगमन हुनसक्छ । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ, संयम हुँदा जीत हुनेछ । पेसाव्यवसाय र रोजगारीका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । मनमा कताकता चिन्ता र शङ्का सिर्जना भए पनि आज उत्साहमा कमी हुन दिनुहुँदैन । तपाईंको रोकिएको काम बन्न सक्छ । उपलब्धीमूलक यात्राको योग छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो, आज । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट समय अलि धमिलिएको महसुस हुनेछ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । सामाजिक र परोपकारका मार्गमा तल्लीन भइने छ । पारमार्थिक काममा खर्चको मात्रा बढ्न सक्छ । बन्दव्यापारमा ठिकै छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।