0 COMMENTS

वि.सं. २०७६ आषाढ २४ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जुलाई ०९ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : देउपाटनमा गङ्गामाई रथयात्रा, सूर्य पूजा, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) सप्तमी तिथि, बिहान ०९:१३ बजेसम्म, त्यसपछि अष्टमी तिथि, हस्ता नक्षत्र, बेलुका ०९:२६ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), परिघ योग, दिउँसो ०५:१८ बजेसम्म, त्यसपछि शिव योग, सुरुमा वणिज करण बिहान ०९:१३ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण साँझ ०८:०८ बजेसम्म, अन्तिममा बब करण, आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : वायव्य, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:१६ बजे, सूर्यास्त : साँझ ०७:०१ बजे, दिनमान : ३४ घडी २२ पला (१३ घण्टा ४५ मिनेट, रात्रीमान : २५ घडी ३८ पला (१० घण्टा १५ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म, यमघण्ट : बिहान ०८:४२ देखि १०:२५ सम्म , गुलिक काल : दिउँसो १२:०९ देखि ०१:५२ सम्म, काल वारवेला : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म, रोग वारवेला : बिहान ०५:१६ देखि ०६:५९ सम्म र साँझ ०५:१८ देखि ०८:१८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान १०:२५ देखि १२:०९ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । भोलिको चाडपर्व र उत्सव : बुधाष्टमी व्रत, गोरखकाली पूजा, भोलिको मुहूर्त : कर्णवेध(कान छेड्ने), पसल थाप्ने, वस्त्राभरण(गुन्युचोलो), डेरा सर्ने, कलशचक्र, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
यात्राको योग छ, यात्राबाट विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । हुन त आज तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काम तथा व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । अधिकार प्राप्तिका लागि भने अलि संघर्ष गर्नुपर्ला । छात्रछात्राले प्रतिष्ठा कमाउने दिन हो, प्रतिस्पर्धीले प्रयास गरेपनि सफल हुने छैनन् । आज खासगरी गृहिणीहरू बेकारका र अनावश्यक वादविवाद र झैझमेलामा पर्ने दिन भएकाले धैर्यता र संयमता गुमाउनु हुँदैन । न्यायिक र प्रशासनिक क्षेत्रका कर्मचारीले लाभ पाउने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पञ्चम भावमा चन्द्रमा भएकाले आज खासगरी विद्यार्थीहरूका लागि महत्त्वपूर्ण दिन कायम हुनेछ, अध्ययनमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । प्रायः सबैले सेवामूलक कामबाट धनलाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रमा पनि राम्रै देखिन्छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने सङ्केत छ । गृहस्थीहरूका लागि सन्ततिपक्षबाट खुसीको समाचार सुन्न पाइने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अरूको फाइदाका लागि खट्नु पर्ने दिन छ, त्यस्तै व्यक्तिगत उन्नति/प्रगतिका लागि परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिने छन् । पारिवारिक भेटघाटको समय छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने छ । आत्मीयजनसँग भेटघाट होला । सजावट सम्बन्धी काममा आकर्षित भइनेछ । विद्यार्थीहरूले प्रतिभा प्रदर्शन गरी वैदेशिक प्रयोजनको काम थालनी गरेमा लाभ मिल्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन/दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । काममा सामान्य चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । इष्टमित्र र सहयोगीहरूको साथ पाइने छ । पराक्रम भावमा बलियो चन्द्रमा रहेकाले आफ्नो आत्मबल र निर्णयमा गरिएका कामबाट फाइदा लिन सकिने छ । छात्रछात्राले प्रतिस्पर्द्धा र प्रतियोगितामा जीत हासिल गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । परिश्रमको बलमा प्रतिस्पर्धाको दौडमा विजय पहिल्याइने छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुनसक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका/ताकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । मान–सम्मानको संरक्षणमा भएका प्रयास सफल हुनेछन् । गरेको प्रयासअनुरूप व्यावसायिक काममा राम्रो फाइदा उठाउन सकिने छ । मुखमा चन्द्रमा भएकाले अभिव्यक्ति कौशलका माध्यमले प्रतिष्ठावृद्धि हुने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । छात्रछात्राका लागि पठनपाठनमा प्रगति हुने समय छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । गृहिणीहरूलाई सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । प्रायः सबैका लागि विभिन्न अवसरले पछ्याउने दिन हो । उचित काममा सही निर्णय लिन सकिने छ । शुभचिन्तकहरूले आफ्ना कमी/कमजोरी औंल्याएर सुध्रने मौका प्रदान गर्नेछन् । स्वास्थ्य सबल रहने छ । तर खानपानमा सचेत रहनुहोला । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । हौसला र हिम्मतका साथमा काम गर्ने दिन छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खर्च गराउने भावमा चन्द्रमाको बास छ तर सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्न सक्छ । प्रलोभन देखाउनेहरूको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुनसक्छ, सजग रहनुहोला । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । गृहिणीहरूका लागि पारिवारिक भ्रमण वा कुनै सामाजिक काममा संलग्न हुने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हुन त राज्यस्थानमा चन्द्रमा छ, तर शुभफल प्राप्त गर्न कडा मिहिनेत र लगनशीलताको खाँचो छ । आँटेको काम सफल बनाउन जान्नेबुझ्ने, अनुभवी र ठूलाबडाको सहयोगको खाँचो देखिने छ । सरकारी वा प्रशासनिक काममा विलम्ब हुनेछ । विभिन्न भौतिक साधनहरू जुटाउने इच्छा जागे पनि आर्थिक पक्ष बाधा बन्नेछ । गरेका कामबाट भनेजति लाभ पाउन निकै खट्नु पर्नेछ । व्यापारमा सामान्य फाइदा हुने नै दिन छ । आम्दानीका नयाँ स्रोत फेला पर्ने छैनन् । ऋणसापटी दिंदालिंदा झमेलामा फँस्ने सम्भावना छ, सतर्क रहनु पर्नेछ । छात्रछात्राको पढाइलेखाइमा मन जाँदैन, तर प्रायोगिक विषयमा घोत्लिन मन लाग्नेछ । आज योजनाबद्ध भई काम गर्न सके समय उत्साहवद्र्धक रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । सामाजिक दायित्व बढ्नेछ । कर्मको प्रतिफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । रोजगारीको प्रयासमा रहेकाहरूले प्रयास गर्नु राम्रो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । बन्दव्यापारबाट फाइदा हुनेछ । सुखद यात्राको सम्भावना छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आजको दिन राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । विद्यार्थीहरूका लागि प्राज्ञिक र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापारीहरूका लागि आर्थिक पक्ष सबल छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुनसक्छ । तापनि, झिनामसिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ । आठौं चन्द्रमा भए पनि सकारात्मक ऊर्जा प्राप्त भएकाले आत्मबल र हिम्मत बढ्ने छ । स्वास्थ्यमा देखिएको कमजोरी निराकरण हुनेछ । आँटेको काममा देखिएका व्यवधान पन्छाएर उपलब्धी लिन सकिने छ । तर सानातिना काममा अल्मलिएर समय खेर जानसक्छ, सचेत रहनु होला । त्यस्तै बाटो काट्दा र हातहतियारको प्रयोग गर्दा सावधानी अपनाउनु जाति हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मन फुरुङ्ग हुनेछ । हाँके/ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । परिवारजनको साथले उत्साहित भइनेछ । प्रेम वा मित्रताको बन्धन कसिने समय छ । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त हुनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुनसक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । किशोरकिशोरीहरू कल्पना र भावनामा रुमल्लिने समय भएकाले पठनपाठन प्रभावित बन्नसक्छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।