0 COMMENTS

वि.सं. २०७६ आषाढ १३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जुन २८ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : स्मार्तहरूले लिने योगिनी एकादशी व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास (सामान्य), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, घर छाउने/ढलान गर्ने, पुराणश्रवण, कलशचक्र, आषाढ कृष्णपक्ष (तछलागा) एकादशी तिथि, मध्यरात्रीपछि ०४:०३ बजेसम्म, त्यसपछि द्वादशी तिथि, अश्विनी नक्षत्र, बिहान ०७:०६ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, बेलुका ०९:४७ बजेसम्म, त्यसपछि धृति योग, सुरुमा बब करण दिउँसो ०३:४९ बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०४:०३ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : वज्र, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : आग्नेय, वारशूल : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे, सूर्यास्त : साँझ ०७:०१ बजे, दिनमान : ३४ घडी ३२ पला (१३ घण्टा ४९ मिनेट, रात्रीमान : २५ घडी २८ पला (१० घण्टा ११ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : बिहान १०:२३ देखि १२:०७ सम्म, यमघण्ट : दिउँसो ०३:३४ देखि ०५:१८ सम्म, गुलिक काल : बिहान ०६:५६ देखि ०८:४० सम्म, रोग वारवेला : दिउँसो ०१:५० देखि ०३:३४ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो १२:०७ देखि ०१:५० सम्म, अमृत वारवेला : बिहान ०८:४० देखि १०:२३ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । भोलिको चाडपर्व र उत्सव : वैष्णवहरूले लिने योगिनी एकादशी व्रत, त्रिपुष्कर योग बिहान ०८ बजेर ११ मिनेटपछि, भोलिको मुहूर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । छात्रछात्राको पढाइमा प्रगति हुनेछ भने कर्मचारी र व्यापारीहरूको आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । प्रायः सबैलाई कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । रोकिएका काम बन्नाले मनग्ये लाभ हुनेछ । गृहिणीहरूका लागि द्वेष वा ईष्र्या गर्नेहरूले हार खाने समय छ, चुनौती पन्छाएर पनि काम बनाउन सकिने छ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आलस्यपनले काममा ढिलासुस्ती हुनसक्छ । किशोर/किशोरीहरू तथा छात्रछात्राको उत्साह र जाँगरमा कमी देखिने छ । कामकाजीहरूलाई आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । गृहिणीहरूले अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुनसक्छ, परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ । प्रायः सबैका लागि आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सानो त्रुटिका कारण ठूलो विवादमा परिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुने दिन छ, त्यस्तै नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । गृहिणीहरूको धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ, तर घरगृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ । बृद्धबृद्धाले तीर्थाटनको अवसर प्राप्त गर्नेछन् । कर्मचारी र कामदारहरूले प्रतिष्ठा कमाउने बेला छ । माताको सहयोग र आशीर्वादले आज कुनै ठूलो काम बन्ने दिन हो । छात्रछात्राले आफ्नो प्रतिभा देखाउने दिन हो । आज सबैले जे गरे पनि महत्वाकाङ्क्षी योजना गोप्य राखेर बढ्नु पर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रयत्न गर्दा समयको सदुपयोग हुने दिन छ । गृहिणीहरूका लागि सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ, त्यस्तै सहयोगीहरूले राम्रै साथ दिनेछन् र कामकाजमा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । छात्रछात्राले प्रतिस्पर्धीमाथि विजय प्राप्त गर्ने दिन हो, प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । कर्मचारीहरूको हाकिम वा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । सबैले आस मारेको फल पुनः प्राप्त हुनसक्छ । गोप्य रहस्य पत्ता लाग्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भाग्यमा चन्द्रमा भए पनि मनमा निराशा र वैराग्यका बादल मँडारिने समय छ । गृहिणीहरूको धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । सामाजिक काममा खट्नै पर्ने बाध्यता हुनेछ, तर जति गरे पनि जस पाइने समय देखिंदैन, त्यस्तै अनावश्यक यात्रा र फजुल खर्चको सम्भावना पनि देखिन्छ । कर्मचारीले काम गर्दा असाध्यै सतर्कता अपनाउनु पर्नेछ, नत्र बेकारको लफडामा फँस्ने समय देखिन्छ । तर कसैले पनि अत्तालिई हाल्नु पर्दैन, आत्मविश्वास र हिम्मतका साथमा गरेको काममा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ, कीर्तिमानी काम सम्पादन हुनसक्छ । कडा मिहिनेतपछि चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोगका बलमा आम्दानी र प्रतिष्ठाले पछ्याउने समय छ । सुरुमा निराशा भए पनि अन्ततः चिताएका कामहरू बन्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । छात्रछात्राहरूको इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ, वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । व्यवसायीका लागि व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । प्रायः सबैका लागि आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । अनावश्यक प्रतिस्पर्धा भए पनि सोचेको काम गर्न सकिने छ । प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, तर डराउनु पर्दैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आत्मबल र उत्साहमा बृद्धि हुने दिन छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम पनि बन्नसक्छ । आफन्तजनसँग आत्मीयता बढ्ने छ । छात्रछात्राको तर्क, विवाद र बहसमा दिलचस्पी हुनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । गृहिणीहरूमा शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । प्रायः सबैका लागि गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । नयाँ ठाउँको यात्रा हुनसक्छ, त्यस्तै नयाँ जोडी जुर्ने समय पनि हो । दिन रमाइलो गरी बित्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मातृधन र पैत्रिक सम्पत्तिको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । विद्यार्थीहरूका लागि पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ । कुनै पनि निर्णय गर्नुअघि मान्यजनको सुझाव र जान्नेबुझ्नेको राय ग्रहण गरेमा उपलब्धी हात पर्नेछ । तर हतारमा गरेको कामबाट घाटा हुन्छ । मौसमी रोगको प्रकोप पनि देखिंदैछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पाँचौं भावको चन्द्रमा बलियो छैन, त्यसैले मिश्रित प्रभाव भएको दिन छ, धेरै आशावादी हुनु हुँदैन । गृहस्थीहरूले आज सन्ततिका समस्यामा केन्द्रित हुनुपर्छ । सामाजिक कामबाट जस पाउन सकिंदैन । सँगीसाथीको सहयोग र सद्भाव प्राप्त नहुनाले निराशा बढ्न सक्छ । परिश्रमका बाबजुद प्रतिफल सोचेजस्तो नहुनसक्छ । यद्यपि पुरानो समस्यालाई निराकरण गरी अघि बढ्न प्रेरणा प्राप्त हुनेछ । विशेष गरी छात्रछात्राका लागि आत्मबल र हिम्मतका साथमा गरेको काममा सफलता मिल्ने दिन छ, कीर्तिमानी काम गर्ने र प्रतिष्ठा कमाउने बेला छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा नै मिल्नेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बनिसकेको काम बिग्रन सक्छ, सचेत भई काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनसक्छ, तर कामधन्दा र जिम्मेवारीमा कमी आउने छैन । बाध्यतापूर्ण काममा समय बित्न सक्छ । काममा लगानीको समय छ । श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूले धोका दिन सक्छन् । सहयोग र सद्भाव पाउन गाह्रो हुन्छ, उता व्यावसायिक काममा खर्च बढ्ने र काम पूरा नहुनाले खिन्नता बढ्ने समय पनि छ । अतः होसियारीसाथ काम लिनुपर्ने समय छ । यद्यपि सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । बाहिर बस्ने कामदार र छात्रछात्राले घर सम्झिने दिन हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक काम र परोपकारी कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ । रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई समाधान गरी छाड्ने समय हो । विद्यार्थीहरूको प्राज्ञिक क्षमता बढ्ने समय छ । कामकाजी व्यक्तिको हक र अधिकारको संरक्षणको प्रयास हुनेछ । जसले पनि धैर्य र संयम भएको जाति हुन्छ । आज सहयोगीहरूको साथ पाइने छ भने रोकिएका काम पुनः प्रारम्भ गर्न सकिने छ । परिवारजनका आकाङ्क्षा पनि पूरा गर्न सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धनभावमा चन्द्रमा भए पनि मिश्रित प्रभाव भएको दिन छ । व्यवसायको सन्दर्भमा टाढाको यात्राको सम्भावना देखिन्छ । सोचेको काम बनाउन अनायासै खर्च बढाउनु पर्ने हुनसक्छ । वैदेशिक यात्रा वा कामकाजबाट भनेजस्तो फाइदा लिन सकिने छैन । जतिबेला पनि मनमा डर र त्रासको निवास हुने भय छ । छात्रछात्राका लागि मनको निराशाभाव र आत्मबलको कमीले गर्नै पर्ने काममा बाधा पुग्नसक्छ । व्यवसायीहरूले अनुभवीको सल्लाह लिएर लगानी बढाउन सकिने समय हो । गृहिणीहरूका लागि करकुटुम्बसँगको सम्बन्धमा चिसोपन आउन दिनु हुँदैन । कर्मचारी र सामाजिक कार्यकर्ताले चाहेको काम गर्न नपाउँदा खिन्नता बढ्न सक्छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।