0 COMMENTS

वि.सं. २०७६ ज्येष्ठ १७ गते शुक्रबार तदनुसार ई. सं. २०१९ मई ३१ तारिख, ज्येष्ठ कृष्ण द्वादशी, अश्विनी नक्षत्र, मेष राशिको चन्द्रमा, सौभाग्य योग, तैतिल र गर करण, आजको चाडपर्व र उत्सव : शुक्र प्रदोष व्रत, विश्व धूम्रपान रहित दिवस, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास (सामान्य), वस्त्राभरण(गुन्युचोलो), दैलो राख्ने, पुराणश्रवण, कलशचक्र, भोलिको चाडपर्व र उत्सव : नेवारी पर्व सिथि चह्रे पूजा, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र,

आजका लागि अशुभ समय :–
राहु काल : बिहान १०:१९ देखि १२:०२ सम्म, यमघण्ट : दिउँसो ०३:२७ देखि ०५:१० सम्म, गुलिक काल : बिहान ०६:५४ देखि ०८:३७ सम्म, रोग वारवेला : दिउँसो ०१:४५ देखि ०३:२७ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो १२:०२ देखि ०१:४५ सम्म, अमृत वारवेला : बिहान ०८:३७ देखि १०:१९ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पानी खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । पेसा र व्यवसायका विविध क्षेत्रमा सफलता पाइने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बाह्रौं घरमा चन्द्रमा भए पनि शरीरमा स्फूर्ति, उत्साह र उमङ्ग देखिनेछ । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ र रामरमाइलो तथा मनोरञ्जनात्मक क्षेत्रमा धनलगानी हुनसक्छ । छरछिमेकी वा साथीभाइले कुनै महत्वपूर्ण काममा सहयोग गर्नेछन् । तपाईको दार्शनिकता र विचारलाई सबैले सराहना गर्नेछन् । खर्च बृद्धि हुने समय छ, तर समुचित स्थानमा धनव्यय हुनेछ । परोपकारमा चित्त जानसक्छ वा अस्वस्थ रहेका वा अप्ठ्यारामा परेका आफन्तको सहयोग गर्दा धन खर्च हुनेछ । मातापिता र अभिभावक वर्गको इच्छाबमोजिम धार्मिक वा सांस्कृतिक क्षेत्रको भ्रमण हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । बौद्धिक र प्राज्ञिक उन्नयनको प्रयास सफल हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । समय उत्साहवद्र्धक रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामाजिक सम्बन्ध सुदृढ हुनेछ । कर्मक्षेत्रमा व्यस्त रहनु पर्ने दिन छ । पठनपाठनमा समय दिन सकिंदैन । प्रतिस्पर्धामा विजयी भइने छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न सकिंदैन । पेसा÷व्यवसायमा भनेजस्तै लाभ मिल्नेछ । आर्थिकपक्ष कमजोर छैन, कर्मसिद्धिको समय छ, जेगरे पनि फाइदा नै छ । मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय दिनुपर्ने छ । मान्यजनको सद्भाव मिल्नाले आत्मबल तथा प्रतिष्ठाबृद्धिमा सहयोग पुग्नेछ । दिन बितेको पत्तो पाइने छैन, साँझ श्रममूलक काम गर्नेहरूले अलि बढी थाकेको अनुभूति गर्नेछन्, पौष्टिक आहारामा ध्यान दिनु राम्रो हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । व्यस्त दिनचर्यामा सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय भएकाले दिक्क लाग्नसक्छ, संयम र लगनशील हुनुपर्छ, अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ । पेसाव्यवसाय र रोजगारीका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउनाले दैनिक कामकाजमा असर पर्नसक्छ वा गर्नैपर्ने कुनै काम रोकिन सक्छ । आज धननिवेश गर्नु र साक्षी÷जमानी बस्नु हुँदैन । अनाहकमा अरुले गरेका गल्तीको सजाय पनि आफैले भोग्नु पर्ने हुन्छ । यात्राबाट फाइदा छैन, त्यसैले धेरै टाढा जानु हुँदैन, चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बोलीमा अङ्कुश लगाएको नै राम्रो हो, नत्र साथीभाइ टाढिन सक्छन् अनि बेकारको विवादमा फँस्न सकिन्छ । सोच नै उल्टो हुने भएकाले आज कुनै पनि नयाँ काम नथाल्नु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । घरायसी सुखका वस्तुको किनमेल हुनसक्छ । प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनसक्छ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । भावुकता बढ्ने समय हो, प्रेमी÷प्रेमिकाको सामीप्यता बढ्ने छ । आफन्तका बीचमा आत्मीयता बढ्ने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । देख्दा झिनामसिना र सानातिना काम भए पनि आजको कामले दीर्घकालिक उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । उद्योगधन्दा, कलकारखाना र बन्दव्यापारमा खटेजति सफलता हासिल हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता बढे पनि नयाँ कामधन्दाका लागि काम गर्ने वातावरण सिर्जना हुन्छ । विद्यार्थीका लागि आज थोरबहुत सकारात्मक दिन नै रहने छ, तर आफ्नो क्षमतामा घट्दै गएको महसुस हुनेछ । सन्ततिका लागि भौतिक सुविधाको जोहो गर्ने सिलसिलामा केही धनराशि खर्च हुने सम्भावना छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । भोगविलासप्रति आशक्ति बढ्न सक्छ वा कुनै तिर्सना जाग्नाले मन विरक्तिन सक्छ, सचेत रहनु होला । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनमा किसिमकिसिमका भावना पलाउने छन् । मनलाई पापमतिमा जान दिनु हुँदैन । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । घरायसी खर्चमा बृद्धि हुनेछ । शरीरमा अल्छीपना र आलस्य जाग्नेछ । धन निवेश गर्नु ठिक छैन । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । परिवारजनमा असमझदारी बढ्नेछ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनेछ । कृषि–चौपाया र बन्दव्यापारबाट पनि भनेजस्तो लाभ हुँदैन । गोपनीयता भङ्ग हुनाले हुन लागेको काम बिग्रने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समाजमा साख बनाउने उपयुक्त समय छ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अचल सम्पति बेचबिखन गर्ने वा दीर्घकालिक लगानी गर्नु फाइदाजनक नभए पनि दैनिक कारोबारबाट फाइदा नै हुनेछ । आम्दानीमा कमी आउने छैन तर प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, जान्नेबुझ्नेको राय लिनुपर्छ । पारिवारिक र घरायसी जीवनमा विभिन्न समस्या देखापरे तापनि तिनलाई समाधान गर्न सकिने छ । झिनामसिना काममा समय र धन खर्च हुनेछ । सहयोगीको साथ पाइने छैन, व्यस्त रहेर समय यापन हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ । श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ । पढाइलेखाइमा समय दिन सकिंदैन ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।