0 COMMENTS

काठमाण्डाै२२चैत्र/ घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ। नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए। घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँशीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ। सो अवसरमा राष्ट्रपति भण्डारीले घोडेजात्राअन्तर्गत भएका म्युजिकल राइड प्रतियोगितामा प्रथम भएका सहसेनानी राजेश श्रेष्ठ र द्धितीय स्थान प्राप्त गर्ने सहसेनानी अजयजङ्ग सुवेदीलाई पुरस्कार प्रदान गरिन्।

शो जम्पमा प्रथम र द्धितीय स्थान प्राप्त गर्ने क्रमशः ओमप्रसाद यादव र जगदीश घिसिङलाई पनि राष्ट्रपतिले पुरस्कार प्रदान गरिन्।

कार्यक्रममा तालीम प्राप्त कुकुरले प्राथमिक उपचार, कुहिने र नकुहिने फोहर सङ्कलनको गरेको दृश्य आकर्षक रहेको थियो। राष्ट्रपति भण्डारी कार्यक्रमस्थल आई पुग्नु हुँदा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।