0 COMMENTS

मिलन चाम्लिङ,  धरान२९कार्तिक०७५ / उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि फगिङ अभियान चलाइरहदा थप २ जनामा डेंगु ज्वरोका विरामी फेला परेको छ ।
धरान १० स्थित विजयपुर हस्पिटलका अनुसार धरान १५ का एक पुरुष र १७ की एक महिलामा डेंगु ज्वरो भएको परीक्षणबाट देखिएको हो । अस्पताल निर्देशक प्रभाव खतिवडाका अनुसार दुई दिनअघि उच्च ज्वरो आएर उपचारमा आएका दुवैको परीक्षण पश्चात डेंगु भएको पुष्टि भएको थियो । ‘अहिलेसम्म हाम्रोमा उपचारमा आएका ५ जनामा डेंगु ज्वरो भएको पुष्टि भइसकेको छ,’खतिवडाले भने ।

विजयपुर अस्पतालमा डेंगु ज्वरोका विरामी भेटिए पनि पुर्वकै ठुलो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भने अहिलेसम्म एक जना पनि डेंगुका विरामी भेटिएको छैन । जबकी प्रतिष्ठानमा विजयपुर हस्पिटलमा भन्दा दशौं गुण बढी विरामीहरु उपचारमा आउछन् । प्रतिष्ठानका डेंगुको अध्ययन, अनुसन्धानरत डा.नारायण भटराई अहिलेसम्म बिपीमा डेंगुका विरामी आएको भन्ने थाह नभएको बताउँछन् ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रण गर्न कार्तिक २० गतेदेखि नै निरन्तर फगिङ अभियान गरिरहेको छ । अब घर घरमा लार्भा नष्ट गर्ने अभियान पनि शुरु गर्ने कार्ययोजना तयार गरेको उपमहानगरका स्वास्थ्य संयोजक घनश्याम सिग्देलले बताए । उनका अनुसार गत बर्ष पनि धरानमा २१ जना जतिमा डेंगु देखिदा फगिङ गर्दा नै नियन्त्रणमा आएको थियो । ‘मुख्य काम फगिङ नै हो । यो पछि लगत्तै वडा वडामा घरमा लार्भा नष्ट गर्ने अभियान चलाउछौं, त्यसको कार्ययोजना बनिसकेको छ,’उनले भने,‘घरमा सफा गर्ने, घरभित्रको टंकी एकपटक सबैले सफा गर्नुपर्छ । पानीको स्रोत सफा राख्नुपर्छ । सफा पानी पनि कतै जम्न दिनु हुदैन ।’

एडिस एजिप्टाई जातको पोथी लामखुटेको टोकाईबाट मानिसमा डेंगु ज्वरो सर्ने गर्छ । यो लामखुटेले दिउँसो मात्र टोक्ने भएकोले दिनमा सावधानी अपनाउनुपर्छ । साथै, यो लामखुटे सफा पानीमा मात्र बस्ने, लार्भा पार्ने भएकोले घरभित्र, वरीपरी सफा पानी जम्न दिन हुदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।