0 COMMENTS

प्रिय करुणा जी,

म ३६ वर्षीय पुरुष हुँ । मेरी श्रीमती मभन्दा उमेरले ५ वर्ष कान्छी छिन् । हाम्रो विवाह भएको ६ वर्ष भयो । हामीबीच यौन सम्बन्ध छैन भने पनि हुन्छ । सुन्दा अनौठो लाग्छ, तर सत्य यही हो । अहिलेसम्म हाम्रो कुनै सन्तान छैन । किनभने ममा यौनईच्छा नै हुँदैन ।

केही वर्ष यता म अनौठो समस्याले ग्रसित छु । मेरी श्रीमती मसँगबाट यौन सन्तुष्टि प्राप्त गरिरहेको बताउने गर्छिन् । श्रीमतीका अनुसार निन्द्राको सुरमा म बेलाबेलामा उनीसँग यौन सम्र्पक गर्छु । सुरुमा मलाई पत्यार लाग्दैनथ्यो । उनले यसोभन्दा म हाँसेर टार्थें । मैले थाहा नपाएको जस्तो गर्दा उनी रिसाउँथिन् र भन्थिन्, ‘नक्कल पार्न पनि कति आएको ।’

जब मैले साँच्चै नै निद्रामा रहँदा मात्रै यौन सम्पर्क गरेको महसुस गरें, उनी मज्जाले नै रिसाउन थालिन् । उनले गाली गरिरहँदा हामीबीच सम्पर्क भएको हो कि जस्तो त लाग्दथ्यो, तर हामीबीच यौन सम्पर्क भएको म यकिन नै गर्न सक्तिन थिएँ । यसले उनको र मेरो झगडा हुन सुरु भयो । मलाई थाहै नभई मैले उनीसँग सम्पर्क गरेको कसरी स्वीकार गरौं ? यसले मलाई निकै रीस उठ्छ अनि हाम्रो झगडा सुरु हुन्छ । यसरी झगडा सुरु हुन थालेको पनि वर्ष दिन भन्दा बढी भैसक्यो ।

मैले यस विषयमा केही डाक्टरहरुसँग पनि सल्लाह लिइसकेको छु । आजकाल ममा चिडचिडाहट र उदासीनता देखिने गरिएको छ । हामीवीचमा यौन सम्वन्ध नभएको कुरा मेरो परिवारलाई पनि थाहा छ ।

यस्तै अवस्थाका वीचमा मेरी श्रीमती गर्भवती भएको थाहा भयो । यो समाचारले म निकै दुविधामा छु । उनी पेटमा रहेको बच्चा मेरो नै हो भन्ने दावी गर्छिन् । यसले गर्दा मेरो र उनको परिवारले मलाई अनेक शंका गर्न थालेका छन् । मलाई पनि यस्तो कसरी हुन सक्छ र भनेर निकै प्रश्नहरु मनमा खेल्न थालेको छ । मलाई उनीमाथि अनेकखालको शंका उब्जिन थालेको छ । हामीवीचको यो समस्यालाई कसरी सुल्झाउन सकिन्छ ? यो के भएको होला र यो कस्तो समस्या हो ?

निद्रामा हुने सहवासलाई सेक्सोमनिया भनिन्छ

यो गम्भीर प्रश्न र जिज्ञासाका लागि धन्यवाद । सायद नेपालमा तपाईंमार्फत पहिलोपल्ट यस किसिमको समस्या सार्वजनिक रुपमा बाहिर आएको हुनुपर्छ ।

यसको अर्थ, तपाईं यस किसिमको समस्या भोग्ने पहिलो व्यक्ति भने होइन । यो मनोविज्ञानमा अध्ययन गरिने महत्वपूर्ण विषय भएको र यस्ता समस्या हुने व्यक्तिहरु थोरै भए पनि संसारभरि नै छन् भन्ने कुरा जानकारी गराउन चाहन्छु ।

यो एउटा गम्भीर समस्या भएकाले तपाईंले चाँडो भन्दा चाँडो यो समस्या समाधान गर्नतिर उन्मुख हुनुपर्छ । यसअघि नै तपाईंले केही चिकित्सकसँग सम्पर्क राख्नु भएको कुरा पत्रमा उल्लेख गर्नुभएको छ । तर, उहाँबाट कस्तो सुझाव, सल्लाह र औषध उपचारको व्यवस्था भयो, त्यो उल्लेख नगर्नु भएकाले केही भन्न सकिएन ।

सबैभन्दा पहिले यो कस्तो समस्या के हो भन्ने बारेमा प्रस्ट पार्ने प्रयास गर्छु । तपाईंले धेरै मानिसहरु निन्द्रमा हिँड्ने, बोल्ने गरेको तर आफूलाई भोलिपल्ट केही थाहा नभएको भन्ने कुरा पक्कै सुन्नुभएको छ होला । यस्तै निन्द्राको सुरमा आफूसँग सुतेका व्यक्तिसँग यौन सम्पर्क हुने र भोलिपल्ट त्यो व्यक्तिलाई आफूले राति के गरेँ भन्ने कुरा थाहा नहुने समस्या हुनसक्छ । यस्तो समस्या भएका पुरुष तथा महिलाहरुलाई सेक्सोमनिया भनिन्छ ।

सेक्सोमनिया भएका व्यक्तिले आफूले गरेको यौन सम्बन्धि कृयाकलापले कतिपय अवस्थामा केही व्यक्तिहरुले कानूनी झमेलामा परेका धेरै उदाहरण छन् । कारण, कुनै अपरिचित वा परिचित महिलासँग सुतेको बेलामा हुने गरेका यस्ता क्रियाकलापबाट अर्को व्यक्तिले आफू बलात्कृत भएको ठान्छन् । अदालका कतिपय बहसमा आफूलाई थाहा नभएको बताउँदा कानुनलाई झुटो बोलेको आरोप पनि खेपेका धेरै उदाहरण छन् ।

खासमा सम्बन्धित व्यक्तिबाहेक यो समस्या हुन्छ भन्ने अरुले विश्वास गर्दैनन् । खासमा काल्पनिक जस्तो लागे पनि यो एउटा समस्या हो र थोरै संख्यामा भए पनि यस्ता समस्या भोग्ने व्यक्तिहरु धेरै छन् ।

त्यसोभए सेक्सोमनिया कसरी हुन्छ भन्ने प्रश्न उब्जन सक्छ । अनुसन्धानमा यस्तो समस्या कसैको पनि जन्मजात हुँदैन भन्ने देखिएको छ । उमेर बढ्दै जाँदा अत्यधिक चिन्ताले ग्रसित व्यक्ति जब चेतन मनमा आफ्नो शरीर र मनको आवश्यकता के हो बुझ्न सक्दैन । यस्तो व्यक्तिले निन्द्राका बेला अचेतनमा दबेर बसेको यौन र प्रेमको आकांक्षा बलियो भएर आउँछ ।

तपाईको समस्याका बारेमा खुलेर चर्चा गर्नका लागि तपाई निन्द्रामा सेक्स सधैं आधा रातमा हुने हो कि कहिले काहीँ मात्रै हुने होे यसमा प्रष्ट हुन आवश्यक हुन्छ । यस्तो समस्याका वारेमा छिटो भन्दा छिटो मनोविदसँग छलफल गर्नु आवश्यक हुन्छ र आफ्नो पार्टनरसँग पनि खुलेर कुरा गर्न र उहाँलाई पहिले नै जानकारी गराउन आवश्यकता हुन्छ ।

जोडीले कहिलेकाहीँ यौनका बारे वा भनौं दुवैको शरीरलाई राम्ररी बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने गर्छ । तपाई आधारातमा ब्युझिनु हुन्छ र तपाईको चाहना पूरा गर्न लाग्नुहुन्छ भने उहाँको यौन चाहनालाई सम्मान नगरिएको जस्तो बुझिन्छ ।

हरेक ब्यक्तीकाे यौनईच्छा फरक हुन्छ, दुई व्यक्ती जब दाम्पत्य जीवनमा प्रवेश गर्छन् । एक अर्काको यौन ईच्छाको फरकपनलाई कसरी एकैखालको बनाउने, त्यो चाहीँ महत्वपूर्ण कुरा हो । राति निद्राको सुरमा हुने यौन सम्र्पकलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हुँदैन । हुनसक्छ तपाईले श्रीमतीसँग यौन ईच्छाका बारेमा खुलेर प्रष्टसंग कुरा राख्न नसक्नाले यहाँले तपाईको यौनईच्छाका बारेमा नबुझेको पनि हुन सक्दछ ।

तपाईको प्रश्न पद्दा यौन प्रवृत्तिका बारेमा तपाईलाई जानकारी नभएको जस्तो लाग्छ । यस विषयमा जानकारी हुन आवश्यक छ । हाम्रो समाजमा धेरै मानिसहरु दम्पतिबीचको सम्बन्धमा पनि सामाजिक व्यवहार, सामाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिलाई ध्यान दिने गर्छन् तर प्रेमपूर्ण सम्बाद, एक अर्काप्रति ब्यक्त गरिने आदर, सम्झन, यौन सम्बन्धलाई त्यति महत्व दिएको पाइँदैन । एकअर्कालाई राम्ररी बुझ्ने प्रयास नगर्दा पारिवारिक असन्तुष्टि र कलह हुने गर्छ । त्यसले प्रत्यक्ष असर यौन सम्बन्धमा पनि गर्दछ ।

तपाईको समस्याको वास्तविकतामा पुग्नु अगाडि यस्ता धेरै विषयहरुलाई केलाउनुपर्ने हुन्छ । तपाईहरुवीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि ? त्यो पनि प्रष्ट हुन जरुरी हुन्छ । प्रश्न पढ्दा एकअर्काप्रतिको सम्मान गर्ने स्वाभावमा कमी भएको पनि बुझिन्छ ।

दुईजना वीच यौन चाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ । एकअर्कालाई दोष लगाउने गर्दा दैनिक जीवनमा विभिन्न समस्या सिर्जना हुन सक्छ र तपाईको सम्बन्ध झन् जटिल बन्दै जान्छ । यदि तपाईले यौनईच्छा राख्नु हुने समय श्रीमतीका लागि उपयोगी छैन भने त्यसको सम्मान गर्न आवश्यक हुन्छ ।

दुईजना वीचको गुणस्तरीय सम्बाद गर्ने सीपमा विकास भएन भने दैनिक जिवनको विभिन्न कृयाकलापमा समेत असर देखिन शुरु हुन्छ । तपाईमा देखिएको चिडचिडाहट र रिस पछि अझ बढी हुन सक्छ र यसले तपाईको परिवार र काममा अप्ठ्यारो सिर्जना गर्न सक्छ । कुनै पनि कुरा गुणस्तरीय सम्वादबाट सुल्झन सक्छ । त्यसैले चरम रमाइलोपन र उच्चस्तरको सन्तुष्टि प्राप्त गर्ने हो भने पहिला दुईजनावीचको सम्वाद अनि विशेषज्ञको सहयोग लिन सकिन्छ ।

तपाईकी श्रीमतीले तपाईलाई माया गर्नु हुन्छ भने तपाईको यो समस्या पनि बुझ्नु हुन्छ र उनी गर्भवती भएकोमा स्वीकार्यता देखाउँदै सहयोगी भावनाका साथ उनको स्वास्थ्यको उपचारतिर लाग्नहुनेछ भन्ने विश्वास छ ।

तपाईंले उपचार गर्न जाँदा श्रीमतीलाई पनि साथमा लिएर गएमा विशेषज्ञहरुले तपाईंको समस्या के हो र किन यस्तो हुन्छ भन्ने बुझाउनु हुनेछ । यसो गर्दा तपाईंहरुमा रहेको समस्या समाधान हुनेछ । यो समस्या तपाईंको भए पनि यसले परिवारलाई नै दुःख दिएको हुँदा आफ्नो रोग नलुकाइकन समझदारीका साथ उपचार गर्नतिर लाग्नु नै श्रेयश्कर हुनेछ ।
अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।