0 COMMENTS

संभवत धेरैजसो पति-पत्नीबीच मनमुटाव भइरहन्छ । ठाकठुक परिरहन्छ । कहिले को नबोल्ने, कहिले खाना नखाने । अक्सर दम्पतीबीच यस्तो नोंकझोक चलिरहन्छ ।

पति-पत्नीबीच किन झगडा हुन्छ ? किन ठाकठुक परिरहन्छ ?

किन झगडा हुन्छ ?

हरेक मान्छेको आ-आफ्नै स्वभाव हुन्छ । आफ्नै प्रवृत्ति हुन्छ । बोली-व्यवहार भिन्न हुन्छ । इच्छा फरक हुन्छ । सोंच-चिन्तन फरक हुनसक्छ ।

यसरी फरक-फरक सोंच, प्रवृत्ति, इच्छा भएका दुई व्यक्ति जब एक ठाउँमा उभिन्छन्, उनीहरुबीच मतभिन्नता हुनु स्वभाविक हो । आपसमा कुराहरु बाझिन सक्छ । इच्छाहरु बाझिन सक्छ । एउटै कुरालाई हेर्ने फरक दृष्टिकोण बन्न सक्छ ।

आपसमा कुराहरु बाझिन्छन्

अक्सर पति-पत्नीबीच मनमुटाव हुनु वा भनाभन हुनुको कारण यही हो । पतिले जे सोच्छन्, पत्नीलाई त्यो सही लाग्छ भन्ने छैन । पत्नीले जे गर्छिन्, पतिलाई त्यो मन पर्छ भन्ने छैन । यस्तो अवस्थामा उनीहरुको कुरा आपसमा बाझिन सक्छ ।

सामान्य झगडा स्वभाविक

स्वतन्त्र रुपमा आ-आफ्नै मर्जीको जीवन भोगिरहेका महिला र पुरुष जब विवाह गरेर एक हुन्छन्, उनीहरुमा दायित्व बढ्छ । पतिले पत्नीका लागि र पत्नीले पतिका लागि आफ्नो खुसी, इच्छा, समय साझेदार गर्नुपर्छ । साथसाथै पारिवारिक जिम्मेवारी थपिन्छ । सबै कुरामा आफुखुसी गर्न पाइदैन । आफुखुसी निर्णयहरु गर्न छुट हुँदैन । यस्तो अवस्थामा एकअर्कामा ठाकठुक पर्नु स्वभाविक हो ।

विभिन्न अध्ययनहरुले पनि के देखाएको छ भने, पति-पत्नीबीच झगडा भइरहन्छ । मनमुटाव नहुने, झै-झगडा नगर्ने, आपसमा गुनासो नभएका आदर्श दम्पति अपवाद मात्र हुनसक्छन् ।

तर, गम्भीर नतिजा

कहिले काहिँ झैझगडा हुनु सामान्य हो । मनमुटाव हुनु, भनाभन हुनुलाई पनि अन्याथा लिन सकिदैन । यद्यपी यस्तो झैझगडा दिनदिनै हुने र त्यसको कारण उनीहरुको घरासयी वातावरण नै बिथोलिन थाल्यो भने, त्यसले गंभिर रुप लिनसक्छ । पति-पत्नीबीच मात्र होइन, यसले परिवारलाई समेत गम्भीर असर पार्छ ।

खासगरी उनीहरुका बच्चालाई यसले नकारात्मक असर पुर्‍याउँछ । आमाबुबाबीच दिनदिनै झगडा भएमा बच्चाहरुले त्यसको मानसिक पीडा झेल्नुपर्छ ।

आफ्नो अडान नछाड्ने प्रवृत्ति

पति पत्नीमा व्यवहारिक कारणले वा घर-व्यवहारको कारणले मात्र झगडा हुँदैन । यसमा उनीहरुको प्रवृत्ति पनि जिम्मेवार हुन्छ । खासमा पति पत्नी झै-झगडा गरिरहनुमा उनीहरुको अहंम्, दम्भ वा एकअर्कासँग नझुक्ने, नहार्ने प्रवृत्ति पनि मूख्य हो ।

अक्सर पति वा पत्नी एकअर्कासँग झुक्न चाहँदैनन । कुनैपनि कुरामा विवाद भएमा उनीहरु दुबै पछि हट्न चाहदैनन् । दुबैलाई आफ्नो कुरा सही लाग्छ । आफ्नो अडान नछोड्दा पनि दम्पतीबीच झगडा हुन्छ ।

१. कतिपय पति-पत्नी अर्काको गल्ती स्विकार्न र माफ गर्न चाहँदैनन् । उनीहरु आफ्ना पार्टनरमाथि हक जमाउन खोज्छन् ।

२. एकअर्काबीच बढी अपेक्षा गर्छन् । आफ्नो अपेक्षा पुरा नहुँदा उनीहरुबीच झगडा हुन्छ ।

३. विवाहपछि सबै कुरा ठिकठाक हुन्छ भन्ने भ्रम धेरैलाई हुन्छ । तर, विवाहपछि कतिपय व्यवहारिक कठिनाइ आउन सक्छ । त्यस्ता कठिनाइलाई मिलिजुली सामाना गर्न नसक्दा पनि उनीहरुमा मनमुटाव हुन्छ ।

अब के गर्ने त ?

पति-पत्नीबीच आपसी मतभेद हुनु, मनमुटाव हुनु, ठाकठुक पर्नुलाई त्यती गंभिरतापूर्वक लिन आवश्यक छैन, जसले मनमा तुष रोपोस् । वा वदलाको भावना पैदा गरोस् ।

सामान्य झै-झगडा हुन्छ । त्यसले एकअर्कालाई बुझ्न, एकअर्काको चाहाना, भावना, इच्छा, आकंक्षा, प्रवृत्ति बुझ्न सघाउँछ । र, बुझ्ने प्रयास पनि गर्नुपर्छ । पार्टनरको इच्छा, प्रवृत्ति, स्वभाव बुझिएमा त्यही अनुसार व्यवहार गर्न सकिन्छ ।

पार्टनरलाई वदला लिने भावनाले हेर्ने होइन । बरु आपसी कमजोरीहरु सुधार गर्ने बाटोमा लाग्नुपर्छ । गल्ती दुबैबाट भएको हुनसक्छ । कमजोरी दुबैमा हुनसक्छ । यस्ता गल्ती, कमजोरीलाई एकअर्काले स्विकार्ने र सुधार्ने गर्नुपर्छ ।

माफी दिनु नै दाम्पत्य सुखको अर्को कडी हो । पति वा पत्नीले एकअर्काको कमजोरी स्विकार्ने र माफी दिने गर्‍यो भने उनीहरुमा यस्ता मनमुटाव हुने क्रम पातलिन्छ । किनभने माफीले पार्टनरको मन पग्लिन्छ । प्रेमभाव पैदा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।