0 COMMENTS

lp-gas-116x70काठमाडौँ ३ कात्तीक /खाना पकाउने ग्यास चीनबाट ल्याउने गृहकार्य सुरु भएको छ। प्रधानमन्त्री केपी ओलीले चीनबाट ग्यास ल्याउने प्रक्रिया तत्काल सुरु गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले वाणिज्य सचिव समेतलाई डाकेर चीनबाट ग्यास आयातको काम थाल्न निर्देशन दिएका हुन्। ग्यास व्यवसायीहरुले यसअघि नै चीनबाट ग्यास ल्याउने प्रस्ताव सरकारसँग गरिसकेका थिए।

प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका ग्यास बिक्रेताहरु सहितको बैठकमा उनले आयल निगमका अधिकारीहरुलाई चीनबाट ग्यास ल्याउने सबै प्रक्रिया पूरा गर्न निर्देशन दिएका हुन्।

‘तत्काल सबै प्रक्रिया पूरा गर्न प्रधानमन्त्रीले आयल निगम र वाणिज्य मन्त्रालयका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ’, ग्यास विक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले पहिलोपोस्टसँग भने। यो बैठकमा मुख्य सचिव सोमलाल सुवेदी, आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्याय र आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का समेत उपस्थित थिए।

भारतले अघोषित नाकाबन्दी गरेपछि पेट्रोलियम पदार्थको हाहाकार भइसकेको छ। एक महिनायता कम्पनीहरुले खाना पकाउने ग्यास उपभोक्तालाई दिन सकेका छैनन् भने भारतीय सीमा रक्सौलमा तीन सयभन्दा बढी ग्यास भरिएका बुलेट रोकिएका छन्।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमण नाकाबन्दी खुलाउने विषयमा सफल नभएपछि चीनबाट ग्यास आयात गर्ने विकल्प खोजिएको हो। सरकार यस अघि चीनबाट ग्यास ल्याउन त्यति सकारात्मक थिएन।

प्रधानमन्त्रीसँगको भेटमा व्यवसायीहरुले चीनबाट ग्यास ल्याउँदा केही महंगो हुनेभएपनि कर छुट र अनुदानबाट समान मूल्य बनाउन सकिने बताएका छन्। व्यवसायीहरुले सरकारलाई ग्यास आयातको व्यवसायिक योजना नै प्रस्तुत गरेका छन्।

दुवै मुलुकका सरकारले ग्यास आयातका लागि सहयोगीको भूमिका खेल्नुपर्ने सुझाव व्यवसायीहरुले दिएका छन्। उनीहरुले नेपाल सरकारले चीनबाट आयात हुने ग्यासमा सबै कर छुट दिनुपर्ने र केही अनुदान पनि दिएर उपभोक्ताका लागि अहिलेकै मूल्यमा बेच्ने वातावारण बनाउनुपर्ने सुझाव दिएका छन्। भारतीय बजारबाट आयात गर्दाको बढी हुने जति मूल्यमा अनुदानको माग व्यवसायीहरुले गरेका हुन्।

त्यस्तै नेपाल सरकारले चिनियाँ कम्पनीमा नेपालका ग्यास सिलिण्डर भर्ने र बुलेट भर्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि व्यवसायीहरुले दिएका छन्। दीर्घकालमा चीनबाट ग्यासका बुलेट आयात गर्ने र पेट्रोलियम पाइपलाइन निर्माण गर्नुपर्ने सुझाव पनि व्यवसायीहरुले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।