0 COMMENTS

काठमाण्डौ १२ पुस०७४/ रानीपोखरी पुनःनिर्माणको विवाद चुलिदै गएपछि मङ्गलबार तालाबन्दीको अवस्थामा पुगेको छ । काठमाडौँ महानगरपालिकाले थालेको रानीपोखरी वरपरको पर्खाल पु्नःनिर्माण गर्दा रड, सिमेन्ट र कङ्क्रिटको प्रयोग गरेर ऐतिहासिक सम्पदाको मौलिक स्वरूप बिगारेको भन्दै स्थानीयले विरोध गरेर मङ्गलबार निर्माणस्थालमा तालाबन्दी गरेका हुन् । रानीपोखरी पुनःनिर्माणको प्रक्रियाका विषयमा महानगरपालिका प्रमुख र उपप्रमुखबीच पनि मतभेद देखिएको छ । काठमाडौँका सम्पदा संरक्षण अभियान नामक स्वयम्सेवी संस्थाले रानीपोखरी पुनःनिर्माण गलत तरिकाबाट भएको भन्दै विरोध गर्दै आएको छ । यो खबर आजको गोरखापत्रले छापेको छ ।

पुनःनिर्माण भइरहेको रानीपोखरीको विवाद विभिन्न सञ्चार माध्यममा आएपछि महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले मङ्गलबार बिहान स्थालगत भ्रमण गरेपछि त्यहाँ कङ्क्रिटको वाल लगाउने कार्य रोक्न निर्देशन दिनुभएको थियो । त्यसपछि त्यहाँ भेला भएका स्थानीयले स्वःस्फूर्त रूपमा तालाबन्दी गरेको सम्पदा संरक्षण अभियानका संयोजक आलोक तुलाधरले बताउनुभयो । उपप्रमुख हरिप्रभा खड्गी ऐतिहासिक सम्पदा जथाभावी तरिकाले पुनःनिर्माण गर्न नहुने भन्दै सम्पदाविद्सँग छलफल गरेर विवादरहित ढङ्गले काम अगाडि बढाउनुपर्ने बताउनुभयो । महानगरपालिकामा यस विषयमा छलफल हुँदा आफूलाई जानकारी समेत नदिने गरिएको उहाँको आरोप छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दुई वर्षअघि नै राष्ट्रपतिले शिलान्यास गर्नुभएको योजनालाई आफूले अगाडि बढाएको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यसको निर्माणको प्राविधिक पक्षबारे मलाई त्यति धेरै थाहा छैन । मैले नीतिगत निर्णय गर्ने हो, त्यो गरेँ । प्राविधिक पक्षबारे महानगरपालिकाका वरिष्ठ इन्जिनियर डा। उत्तमकुमार रेग्मीलाई राम्रो जानकारी होला । ’उहाँले आफू मङ्गलबार मात्र पहिलो पटक रानीपोखरीको पुनःनिर्माण हेर्न गएको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, म त्यहाँ पुग्दा काम गरिरहेका मानिसलाई पन्छाएर ताला लगाइएको पाएँ तर कसले किन तालाबन्दी गरे भन्ने विषयमा कोही कतैबाट जवाफ पाइनँ । पोखरी पुनःनिर्माणको तरिका गलत भएको भन्दै बारम्बार विरोध भएपछि पुरातत्व विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग छलफल गरेर काम अघि बढाइने उहाँले बताउनुभयो । सम्पदाविज्ञले भने रानीपोखरी पुनःनिर्माण गर्दा पहिलेकै जस्तो इँटा र कालिमाटीको पर्खाल लगाउनुपर्नेमा जोड दिँदै आएका छन् । कङ्क्रिटबाट पर्खाल लगाएमा पोखरीको अस्तित्व छिट्टै नासिने पोखरीभित्रको पर्यावरणीय चक्र बिग्रने उनीहरूको भनाइ छ ।

रानीपोखरी नेपाल संवत् ७८९ मा खनिएको थियो भन्ने तथ्य इतिहासकारले प्रस्तुत गर्दै आएका छन् । पोखरीको मध्यभागमा रहेको बालगोपालेश्वरको मन्दिर भने पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ । करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको रानीपोखरीको चारैतर्फबाट अतिक्रमण गरेपछि साँघुुरिँदै गएको छ । पछिल्लो समयमा महानरपालिकाले रानीपोखरीको पुनःनिर्माण गरेर त्यसवरपर क्याफे सञ्चालनमा ल्याउने योजना पनि अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।