0 COMMENTS

लन्डन- अघिल्लो सप्ताहन्तमा दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिकाले चार वर्षका लागि बिदा लियो। त्यो प्रतियोगितामा आफ्नो स्वाभाविक क्षमता एकपटक पनि प्रस्तुत गर्न नसकेका एक सुपरस्टार खेलाडीले आफ्नो 'भाँचिएको' करिअरलाई सही ट्र्याकमा फर्काउन अर्को एक 'दयालु' मौका पाएका छन्।
विपक्षी पोस्टमा आक्रामक प्रस्तुत हुने र गोल गर्ने अद्भूत क्षमताका धनी राडामेल फाल्काओले आइतबार सम्पन्न कोपा अमेरिकामा कोलम्बियाको जर्सीमा एकमात्र खेल पूरा समय खेल्न पाए। निराशाजनक रूपमा यो प्रतियोगिता पनि उनका लागि सुखद रहन सकेन, गत सिजन म्यानचेस्टर युनाइटेडमा लोनमा बिताउँदा जस्तै। गोल गर्ने असाधारण क्षमताको कतै उपयोग भएन।

उमेरले भर्खर २९ औं बसन्तमा हिड्ँदै गरेका फाल्काओको ओरालो लाग्ने बेला भइसकेको छैन। चोटका कारण उनको मनमा पैदा भएको भय र कमजोर आत्मविश्वासले मात्र फाल्काओलाई स्वाभाविक क्षमतामा प्रस्तुत हुनबाट रोकिरहेको छ। खासमा उनी फुटबलमा हुने सबैभन्दा डरलाग्दो घुँडाको चोटको मूल्य तिरिरहेका छन्।

कुनै बेला उनी चितुवाझै छरिता थिए। त्यही छरितोपनका कारण उनलाई कोलम्बियामा 'इल टिग्रे' को उपनाम दिइएको थियो। कोलम्बियाली भाषामा इलको अर्थ अंग्रेजीको 'दी' हुन्छ भने टिग्रेको अर्थ बाघ हुन्छ। विपक्षी पोस्टमा फाल्काओले देखाउने छरितोपन र गोलको भोकका कारण उनलाई समर्थकले बाघसँग तुलना गरेका हुन्। २०१४ मा मोनाकोका लागि फ्रेन्च कप खेल्ने क्रममा एक अर्धव्यावसायिक खेलाडीको ट््याकलले यी कोलम्बियाली बाघको करिअरमा निराशाजनक मोड ल्यायो। उनको घुँडाको जोर्नीमा गम्भीर चोट लाग्यो।

शल्यक्रियाबाट हुन सक्नेसम्म उपचार गरियो। चोट लागेको ६ महिनापछि विश्वकप थियो। कोलम्बियाली राष्ट्रिय टोलीका सबैभन्दा प्रभावशाली स्ट्राइकरको उपस्थिति विश्वकपका लागि पनि आवश्यक थियो। त्यसैले उनले विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताका लागि आफूलाई तयार गर्न हतार गरे। सायद त्यही हतार उनका लागि घातक भयो। विश्वकपमा उनी खेल्न नसक्ने पक्का भएपछि ब्राजिलमा कोलम्बियाली टोलीमा फाल्काओ रहेनन्। तर, लगत्तै उनले विश्वकै व्यावसायिक फुटबलमा शारीरिक रूपमा सबैभन्दा कठिन र डरलाग्दो मानिने इङ्ल्यान्डको प्रिमियर लिगको टोलीसँग लोनमा सम्झौता गर्ने अर्को जुवा खेले।

गत सेप्टेम्बरमा युनाइटेडले फाल्काओका लागि साताको २ लाख ६५ हजार बेलायती पाउन्ड पारिश्रमिक दिने तथा मोनाकोलाई सरुवा रकमबापत १ करोड ५० लाख पाउन्ड दिने प्रस्ताव राख्यो। त्यसमा सहमति भएपछि मोनाकोबाट फाल्काओ ओल्ड ट्राफोर्ड लागे। तर, युनाइटेडको जर्सीमा २९ पटकमात्र उनले मैदान छिर्ने मौका पाए। ती मौका पनि पूरा समय थिएन। त्यसक्रममा उनले चार गोल गरे। चोटबाट राम्ररी पुनरागमन जनाउन नसकेका कारण युनाइटेडले फाल्काओलाई स्थायी रूपमा अनुबन्ध गर्ने विकल्पलाई खास ध्यान दिएन।

युनाइेटडमा पूरा वर्ष बित्न लाग्दा फाल्काओको भविष्य अनिश्चिततातिर धकेलिँदै गयो। कडा मिहिनेत गरे पनि मैदानमा प्रभाव स्थापित गर्न उनी सफल भएनन्। जसले उनमा दबाब झनै बढायो। अघिल्ला सिजनहरूमा देखिने गरेको उनीभित्रको बहादुर र आक्रामक स्ट्राइकरको छवि बदलिन समय लागेन। उनका पोर्चुगाली एजेन्ट जर्ज मेन्डेसले यसमा युनाइटेडलाई दोष दिए। त्यही कारण फाल्काओले ओल्ड ट्राफोर्डमा अर्को सिजन नबिताउने निर्णय गरेको उनको भनाइ थियो। युनाइटेडमै थप समय बिताउनुभन्दा विश्वकै उत्कृष्टमध्ये अर्को कुनै क्लब रोज्नु उनको बाध्यता बनेको मेन्डेसले बताए।

केही समिक्षक भने युनाइटेडले विगतको उच्च प्रदर्शनको भरमा फर्ममा नरहेका फाल्काओमाथि थप लगानी गर्न इच्छा नदेखाएको पनि शंका गर्छन्।

यसैक्रममा 'फाल्काओको नयाँ गन्तव्य चेल्सी हो' भनेर हल्ला सुरु भयो। भित्री कथा अर्को पनि छ। फाल्काओका एजेन्ट मेन्डेस चेल्सीका प्रशिक्षक जोजे माउरिन्होका पनि एजेन्ट हुन्। फाल्काओको हकमा व्यावसायिक रूपमा ६० प्रतिशत अधिकार पनि मेन्डेससँगै छ। यही कारण अघिल्लो शुक्रबार चेल्सी र फाल्काओबीच सम्झौता भयो।

चेल्सीमा आबद्ध हुँदा फाल्काओको पारिश्रमिक स्वाभाविक रूपमा घट्यो। चेल्सीमा उनले युनाइटेडमा पाएभन्दा आधामात्र पारिश्रमिक पाउनेछन्। फेरि एकपटक उनको सम्झौता एक वर्षे मात्र भयो। जसले फाल्काओलाई स्थायी रूपमा बेच्दा छुट्टै सरुवा रकम पाउने कारण मोनाको पनि फाइदामा रह्यो।

'फाल्काओलाई उनको स्वाभाविक फर्ममा फर्काउन सके भने त्यो मेरो पनि उपलब्धि हुनेछ। त्यसका लागि म पूरा प्रयास गर्नेछु,' माउरिन्होले एक महिनाअघि भनेका थिए, 'हामीले युनाइटेडमा देखेको फाल्काओ नै सही हो भनेर मानिसहरू उनको आलोचना गर्ने गर्छन्। त्यसले मलाई दुःखी बनाउँछ। वास्तवमा फाल्काओ त्योभन्दा धेरै माथिल्लो स्तरका खेलाडी हुन्। उनमा विश्व हल्लाउन सक्ने क्षमता छ।'

युनाइटेडमा आबद्ध हुनुअघि अर्जेन्टिना, पोर्चुगल, स्पेन र फ्रान्सबाट क्लब फुटबलको अनुभव बटुल्दा उनले ३ सय ५ खेलमा २ सय गोल गरेका थिए। कोलम्बियाली रक्षक फाल्काओका छोराले १९९९ मा १३ वर्षकै उमेरमा कोलम्बियाको दोस्रो डिभिजनको क्लब लंकेरोस बोयाकाबाट करिअर सुरु गरेका थिए। त्यसको दुई वर्षपछि १५ वर्षको हुँदा बोयाकाले उनलाई अर्जेन्टिनी क्लब रिभरप्लेटमा बेच्यो।

फुटबलमा गोल गर्नु सबैभन्दा कठिन काम हो। तर उच्च क्षमता, छरितोपन र मिहिनेतका कारण फाल्काओबाट यो काम पनि सजिलो देखिन थाल्यो। त्यसैले अहिले कठिन अवस्थामा पनि उनले ठूला क्लबको प्रस्ताव पाइरहेका छन्। फुटबलमा खेलाडीलाई सिकाउन नसकिने कुरा उसमा हुने दैवी क्षमता हो। फाल्काओ पनि गोल सुघ्न सक्छन्। अर्जेन्टिनामा रिभरप्लेटका लागि खेल्नेक्रममा उनले १ सय ५ खेलमा ४५ गोल गरेका थिए। त्यसपछि पोर्चुगलको एफसी पोर्टोमा उनले ८७ खेलमा ७२ गोल गरे। स्पेनको एट्लेटिको मड्रिडमा खेलेका ९१ खेलमा उनको गोलसंख्या ७० थियो।

फाल्काओले गरेका गोलमध्ये केही साधारण भए पनि धेरैजसो गोल विशेष हुन्थे। खासमा फाल्काओ दायाँ खुट्टे खेलाडी हुन्। उनी दुवै खुट्टा तथा टाउकोले पनि गोल गर्न माहिर मानिन्छन्। करिअरको सबैभन्दा प्रभावशाली ह्याटि्रकमध्ये एक उनले एट्लेटिकोबाट २०१२ को युइएफए सुपर कपमा चेल्सीविरुद्ध गरेका थिए। उनले गरेका तीनै गोल बायाँ खुट्टाबाट भएका थिए। तीनै गोलको शैली फरक थियो। गोलका लागि उनले तीब्र गतिमा चेल्सीका रक्षकलाई दायाँ–बायाँ गराउँदै मध्यभागबाट सट प्रहार गरेका थिए।

पहिलो गोलका लागि विपक्षी गोलकिपर पिटर चेकको टाउको माथिबाट बल चिप गराएका थिए। दोस्रो गोल पेनाल्टी एरिया बाहिरबाट क्रसबारको माथिल्लो भागमा प्रहार गरे। तेस्रो गोलमा उनको प्रहार कम उचाइबाट जालीभित्र छिरेको थियो। तीनै पटक गोल गर्दा उनले खुट्टाको फरक भागले बल प्रहार गरेका थिए। कडा सटको सट्टा उनले बडो रचनात्मक पारामा गोल गरेका थिए। त्यो उनको जन्मजात प्रतिभा थियो, कसैले सिकाएको होइन। एउटा चरा सहज रूपमा आकासमा उडेजस्तै उनी विपक्षी पोस्टमा सहजै धावा बोल्न सफल हुने क्षमताका कारण एउटा पक्का स्ट्राइकरका रूपमा स्थापित भए।

तर २०१४ को सुरुआतमै भोगेको एक ट्याकलले उनको अवस्था आकासमा उड्दा उड्दै पखेटा भाँचिएर खसेको चराजस्तै भयो। फाल्काओको दायाँ घुँडाको जोनीमा त्यसअघि पनि एकपटक चोट लागिसकेको थियो। यसपालि बायाँ घुँडामा चोट लागेको थियो। पहिलोबाट निको हुन उनलाई खास समय लागेन। तर, दोस्रो चोट लागेको १८ महिना भइसक्दा पनि वास्तविक फाल्काओ अझै मैदानमा फर्कन सकेका छैनन्।

सायद, कोलम्बियाली स्टारलाई स्वाभाविक रूपमा फर्काउने श्रेय माउरिन्होको नाममा जान सक्छ। यो सही समयमा खेलिएको जुवा हुनसक्छ। जसले शारीरिक रूपमा धेरै कठिन मानिने प्रिमियर लिगमा युनाइटेडबाट गर्न नसकेको पुनरागमन फाल्काओले गर्न सक्लान्। चेल्सीमा उनले एट्लेटिकोमा हुँदाका तीन सहयात्रीसँग सम्बन्ध नवीकरण गर्न पाउने छन्। उनीअघि नै गोलकिपर थिबाउट कोर्टोइस, रक्षक फिलिप लुइज र स्ट्राइकर डिएगो कोस्टा चेल्सीको हिस्सा भइसकेका छन्। मड्रिडमा फाल्काओ र कोस्टा स्ट्राइकिङ पार्टनरमा खेल्थे। जहाँ फाल्काओ मुख्य स्ट्राइकर थिए भने कोस्टा उनका सहायक। अहिले अवस्था फेरिएको छ। चेल्सीमा कोस्टा स्थापित भइसकेका स्टार हुन् भने फाल्काओले उनको सहायकको भूमिका निर्वाह गर्नुपर्नेछ। वा बेन्चबाट टिमको सफलतामा योगदान गर्न पनि पर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।