0 COMMENTS

लिखु नदी र सुनकोशी मिल्ने दोभान रामेछापको रामपुर गा.वि.स. मा २०३१ सालमा जन्मेका कुमार कसजु बिरुवा र फूलसंग पिरती गाँस्दै २० वर्षको यात्रा तय गरिसकेका छन् । फ्लोरीकल्चर एसोसिएने नेपालका उपाध्यक्ष समेत रहेका उनी व्यवसाय, सहकारी र एसोसिएसनको गतिविधिमा नै बढी समय बिताउँछन् ।

तत्कालिन अवस्थामा उनको गाँउमा निम्न माध्यामिक सम्मको मात्र विद्यालय भएकोले, माध्यमिक विद्यालय शिक्षाको खोजीमा काठमाण्डौं छिरेका थिए । जसले पढाईदिन्छु भनेर बचन दिएका थिए उनले नै साथ छोडेपछि दिउँसो जे काम भेटिन्छ त्यहीँ काम गरी राती पढेका उनले नन्दी रात्री माध्यामिक विद्यालयबाट प्रवेशिका परिक्षा उत्तिर्ण गरे ।

प्रविणता प्रमाणपत्र तहसम्म जेनतेनले पढेका उनले पछि कामलाई बढी ध्यान दिँदा पढाईलाई छोड्नुपर्यो । शिक्षा महत्वपूर्ण हुन्छ भन्ने थाहा हुदाँ हुदै पनि विभिन्न परिस्थितिले पढाइलाई निरन्तरता दिन नसकेका कसजुलाई कहिले काही पढाई पुरा नगरेकोमा पश्चताप हुने गरेको समेत बताए ।संयोग नै भन्नु पर्दछ, कसजुलाई बाल्यकाल देखि नै बिरुवा प्रति अत्यन्त लगाव थियो ।४ ⁄ ५ कक्षा पढ्दै गर्दा विद्यालय नजिकको सामुदायिक वनमा टिफिन टाईममा पोलि भर्न जाने गर्थे । १ घण्टामा ५०० वटा सम्म पोलि भर्न भ्याउने उनले सो गरे वापत दैनिक ५ रुपैंया कमाँउथे । त्यहीँ ज्ञान र बिरुवाको माया पछि फेरी दोंहोरियो । उनको व्यवसायको सुरुवार्ती बिन्दु सिक्ने र अभ्यास गर्ने विश्वविद्यालय बन्यो मैतिदेवि स्थित जय किसान नर्सरी ।

जीवनको स्वर्णिम समयको ९ वर्ष श्रम संगठनमा बिताएका उनले रोजगारदाता र श्रमिक बिच कहिले राम्रो सम्बन्ध हुन नसक्ने राम्रो पाठ पनि सिकेका छन् । श्रम संगठनमा अधिकारको कुरा मात्र सिकाउने तर दायित्व के हो भन्ने कुरा कहिले नसिकाउने भएकाले आफूले त्यो बाटो छाडेको र उद्यमी बन्न अगाडी बढेको सुनाए । आफ्नो व्यवसायसँग सम्बन्धीत व्यावसायीक सस्था छ भन्ने कुरा थाहा पाएपछि कसजुले फ्यानको सदस्यता लिए । खरो शैलीमा कुरा गर्ने पहिचान बनाएका उनले व्यवसाय र फ्यान दुवै ठाउँमा सकृयता बढाउँदै लगे ।

२०५१ सालमा साझेदारी व्यवसायबाट पुष्प व्यवसाय सुरु गरेको भएता पनि उनको व्यवसायले निरन्तरता पाउन सकेन । चार वर्षको अन्तरालमा नै उनको साझेदारी टुंगियो, गरेको लगानी पनि सबै डुब्यो । असफलता नै सफलताको प्रतिक हो भन्ने कुरा राम्ररी बुझेका कसजुले २०५६ सालमा फेरी काठमाडौ नर्सरीको शुरुवात गरे ।

व्यवसाय सञ्चालन सँगै पाएको सफलता र असफलताले खारिंदै आएका कसजुले आफ्नो अनुभव सुनाँउदै भने “व्यवसाय सञ्चालनकै क्रममा २०१२ मा दक्षिण कोरीया जाने मौका पाए । त्यहाँको पुष्प व्यवसायबाट प्रभावित भई मलाई अझ बढी लगानी गर्ने विचार आयो । त्यहाँ फूल तँ दालभात जस्तै रहेछ ! नेपालमा पनि यहीं स्थिती ल्याउन सकिन्छ भनेर मैले चालिस, पचास लाखको लगानीमा चल्दै गरेको व्यवसायमा १ करोड जति लगानी थप गरि व्यवसाय विस्तार गरे । हालै सम्पन्न सार्क सम्मेलनलाई लक्षित गरेर २०१२ देखि काम गर्न थालेको थिए । तर सोचे जस्तो गर्न सकिएन ! माईतीघर मण्डलालाई देखेर धेरैले कति राम्रो भने, कति पत्रपत्रिकामा फोटो आए, कतिले क्यामरामा कैद गरे । त्यो काठमाण्डौं नर्सरीको काम हो उनि गर्वका साथ सुनाउछन् । त्यस्तै गरी परराष्ट्र मन्त्रालय, युनडिपीको कार्यालय लगायत धेरै ठाउँमा निरन्तर सेवा पुर्याईरहेका छौं । ”

व्यवसाय विस्तारको क्रममा रहेका कसजुले हालै मात्र नेदरल्याण्डबाट प्राविधिक पनि बोलाई आफ्नो व्यवसाय सञ्चालनका क्रममा भएका कमि कमजोरी पत्ता लगाई दिर्घकालीन योजना समेत बनाएका छन् । अब उनको ध्यान उत्पादनको बजारीकरण तर्फ केन्द्रित रहने बताउँदै आगामी दिनको लागि व्यवसायिक कार्यनिति पनि तयार पारिसकेको बताए । भर्खरै नेदरल्याण्ड भ्रमण गरि पुष्प उत्पादन र सोको बजारीकरण सम्बन्धी भएको अभ्यासहरुको अवलोकन गरि फर्केका उनी गार्डेन सेन्टरको स्थापना गर्ने सोचमा पुगेका छन् । तत्कालका लागि बजार सर्बेक्षण तथा उपभोक्ता सम्म आफ्नो सेवा पुर्याउन हाल २ वटा पसल खोलिसकेको र २०१६ सम्ममा विभिन्न स्थानमा थप ५ वटा रिटेल आउटलेट खोल्ने योजना रहेको बताए । बढी फूलका सौखिनहरु बस्ने क्षेत्रमा पसल खोल्ने विचारमा छु । यसले मध्यस्थकर्ताले मात्र कमाउने प्रथालाई विस्तारै हटाउने उनको बुझाई छ ।

पुष्प व्यवसायको भविष्य कस्तो देखिरहनुभएको छ त ?

भन्ने हाम्रो प्रश्नमा कसजु भन्छन- यो व्यवसाय पनि अरु क्षेत्र जस्तै आन्तरिक र बाह्य कारणले प्रभाव पार्दछ । हाल यो व्यवसाय त्यत्ति धैरै दिगो छैन । बजारमा माग हुने समयमा उत्पादन छैन, उत्पादन भएको समयमा बजार छैन , त्यस्तै गरी निरन्तर आपूर्ति पनि छैन । सबभन्दा मुख्य कुरा त फूलको उपभोग गर्ने भन्ने कुरा मा जनचेतनाको कमी छ । फूललाई अझ पनि सौखिन र आर्थिक सबलहरुको लागी मात्र भन्ने मानिसहरुको सोचाई छ । अर्कोतर्फ जोखिम धेरै छ , त्यसकारण पनि होला ठूला तथा नयाँ लगानीहरु भित्रिन सकेका छैन ।

एक शब्दमा भन्ने हो भने साधारण जनमानस देखि निति निर्माणकर्ता सम्मलाई फूल बिक्री गरेर खाद्यान्न किन्न सकिन्छ भन्ने कुरालाई महसुस गर्न सकेको छैन । न भने निर्यातको प्रचुर संम्भावना बोकेको पुष्प व्यवसायले सबैको लगानी र ध्यान पाउन सकिन्थ्यो । अर्को एउटा समस्या भनेको हामी निर्यात भन्नासाथ युरोपको बजारलाई मात्र सोच्दछ छौं, हामीले उत्पादन गर्न सक्यो भने एसियाको बजार आफै पनि एकदम राम्रो छ ।

 

एउटा उद्यमीको नाताले के कस्ता समस्याहरु भोगिरहनु भएको छ भन्ने हाम्रो प्रश्नमा उनले भने

प्रविधि दक्ष प्राविधिक तथा लगानीको मूल समस्या रहेको र हाल आएर जमिन, जनशक्ति एवंम पानी तथा कच्चा पदार्थका समेत समस्या रहेको उनले बताए ,अर्को समस्या भनेको बजार व्यवस्थापन र मानिसमा चेतनाको कमी हो । तर उद्यमीले समस्यामा नै अवसर खोज्नुपर्दछ । त्यहींबाट आर्थिक तथा सामाजिक लाभ लिन सक्नुपर्दछ ।

नयाँ पुस्ता नेपालमा काम नै छैन भन्दै वैदेशिक रोजगारीको लागि बाहिर जादैं गरेको अवस्था मा कसजु भन्छन्, युवा श्रम बेचेर देश चलाउने कुरा दुःखद हो । तर नयाँ पुस्ता पनि देशबाट चाहिने भन्दा बढी अपेक्षा गर्दछन् । प्रायले बिर्सने कुरा हामी युरोप, अमेरिकामा जन्मेको होइन । नेपालको सामाजिक परिस्थिति , वस्तुस्थिति र आर्थिक संरचनामा आफैलाई ढाल्नुपर्दछ । यहाँ गर्न सक्ने विकास सम्भावनालाई खोलेर बजारले संमभावना खोज्नुपर्दछ । आफ्नो पहिचान आफैं बनाउन लाग्नुपर्दछ । त्यसको लागि अध्ययन गरौं, गर्ने वातावरण बनाऔं । जिवन सुहाँउदो शिक्षा खोजौं ।

अन्तमा केही भन्ने हाम्रो जिज्ञासामा उनले भने – उच्च घरानिया र शहरमुखी व्यवसाय भनेर चिनेको यो व्यवसायलाई गाउँ, गाउँमा लानुपर्दछ । करिब डेढ अर्ब कारोबार हुने पुष्प व्यवसायलाई अझ वृद्धि गर्न सकिन्छ जसको लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्दछ । उद्यमशिताको विकासको लागि अध्ययन समूह बनाई कसरी नाफामूलक ढङ्गले जान सकिन्छ भन्ने पत्ता लगाउनु पर्दछ । हालसम्म पुष्प खेतीमा बिमाको प्रबन्ध छैन वित्तिय पहुँच टाढा छ यसलाई सहज बनाउनु पर्यो किनभने वित्तिय संस्था पनि सहयोगी छन्, जसको सहयोग बिना व्यवसाय गर्न सम्भव छैन । फूललाई सौखको रुपमा होइन जिवनको अभिन्न अङ्गको रुपमा लिनु पर्दछ ।

तपाइ हरूपनी उत्कृष्ठ  बगैचा नीर्माण गर्नचाहनु हुन्छ भने हामीलाइ सम्पर्क गर्नुहाेस

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।