0 COMMENTS

कुमार विवेकानन्द मिश्र

काठमाडौं, असार २६ गते । लामो समयदेखि न्यायाधीश नियुक्ति नहुँदा सर्वाेच्च अदालतमा सर्वसाधारण सेवाग्राहीले सास्ती खेप्नुपरेको बताउँदै तत्काल पर्याप्त संख्यामा न्यायाधीश नियुक्ति गर्न सुझाव दिइएको छ ।
सर्वाेच्च अदालतले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा सहभागी वरिष्ठ अधिवक्ता एवं कानुनविद्हरूले नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यस्तो सुझाव दिनुभएको हो । न्यायालयप्रति घट्दो जनआस्थाप्रति उहाँहरूले चिन्तासमेत प्रकट गर्नुभयो । जनआस्था एवं जनविश्वास नै अदालतको सबैभन्दा ठूलो पुँजी भएको र यसलाई कुनै पनि अवस्थामा गुम्न दिन हुँदैन भन्दै उहाँहरूले बेन्च र बार दुवै मिलेर अदालतको स्वतन्त्रता रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँहरूले न्यायाधीशहरूको आचरणमा व्यापक सुधारको आवश्यकतासमेत आँैल्याउनुभयो ।
छलफलमा प्रधानन्यायाधीश श्रेष्ठ र वरिष्ठतम न्यायाधीश गिरीशचन्द्र लालसहित सर्वाेच्च अदालतका सबै न्यायाधीश र उच्च अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । दुई दिनअघि प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएका श्रेष्ठले न्यायालयमा गर्नुपर्ने सुधारका विषयमा आफ्ना कार्ययोजना सुनाउँदै बिना संकोच सुझाव दिन वरिष्ठ अधिवक्ताहरूलाई आग्रह गर्नुभएको थियो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्कीले केही समययता न्यायपालिकामा भ्रष्टाचार बढेर आएको र त्यसलाई नियन्त्रण गरिनुपर्ने बताउनुभयो । पेसी व्यवस्थापन, बहस व्यवस्थापन र मुद्दा संख्याको अनुपातमा तत्काल न्यायाधीश नियुक्ति हुनुपर्ने उहाँले बताउनुभयो । ‘योग्यतामा आधारित रहेर न्यायाधीश नियुक्ति भयो भने न्यायालयप्रतिको जनआस्था अभिवृद्धि हुन्छ, भवनको पनि व्यवस्था हुनुपर्छ, कुनै पनि अनियमितता हुनुहुँदैन’, उहाँले भन्नुभयो, ‘कार्ययोजना राम्रै छ, समस्याको पहिचान ठीक ढंगबाट भएको छ तर व्यवहारिक रूपमा कार्यान्वयन चुनौतीपूर्ण छ । ’
नेपाल बारका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिहर दाहालले मुद्दाको पेसी र इजलास तोक्दा प्रधानन्यायाधीशबाटै चलखेल हुने गरेको बताउँदै निष्पक्षतापूर्वक इजलास तोक्न आग्रह गर्नुभयो । ‘बेन्च सपिङ हुने गरेको छ, त्यो रोकिनुप¥यो, बेन्च नै कतिपय विषयमा भ्रमित भइरहेको छ, विषयगत आधारमा इजलास तोकिनुपर्छ’, उहाँले भन्नुभयो ।
‘कानुन व्यवसायी एक छिन ढिला हुनुहुँदैन तर न्यायाधीश जति ढिला गरे पनि हुने, इजलासमा बस्दै नबसे पनि हुने, यस्तो हुनुहुँदैन’, वरिष्ठ अधिवक्ता दाहालले सुझाव दिनुभयो, ‘राजनीति भागबन्डाको गन्ध न्यायाधीश नियुक्तिमा हुनुहुँदैन, न्याय गर्ने व्यक्ति आऊन्, तत्काल सर्वाेच्च अदालतलाई पूर्णता दिनुस् । ’
नेपाल बारकै पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायपालिकालाई कुन दिशातिर डो¥याउने भन्ने विषय न्यायाधीशको कार्य सम्पादनले निर्धारण गर्ने बताउनुभयो । न्यायाधीशलाई मुद्दा तोक्दा र न्यायाधीश नियुक्ति हुँदा निष्पक्षता अपनाउन आग्रह गर्दै उहाँले नयाँ प्रधानन्यायाधीशको परीक्षण प्रारम्भ भएको बताउनुभयो ।
‘तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष भएपछि न्यायपालिका गलत दिशातर्फ अगाडि बढ्यो, त्यसअघि ठीक थियो, न्यायपालिकाको छविमा सुधार आवश्यक छ’, उहाँले भन्नुभयो, ‘न्यायाधीश सम्मानित पद हो, हामी वकिलहरू पैसा कमाउने व्यक्ति हौँ, हामीलाई पक्षले जति पैसा दिए पनि भ्रष्टाचार लाग्दैन तर न्यायाधीशले तलबबाहेक छुनु पनि हुन्नँ । ’
वरिष्ठ अधिवक्ता एवं नेपाल बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले अदालतमा विकृति, विसंगति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको नियन्त्रण प्रयास प्रधानन्यायाधीशबाटै हुनुपर्ने बताउनुभयो । ‘श्रीमान् कजलिस्ट तोक्दा सेटिङ नहोस्, यहाँ त वकिलभन्दा पहिला पक्षलाई नै इजलास थाहा हुन्छ’, उहाँले भन्नुभयो, ‘विकृति हटाउने आँट र साहस छ भने शुरू गरौँ श्रीमान् । ’
अर्का वरिष्ठ अधिवक्ता रामनाथ मैनालीले न्यायाधीशबाटै न्यायाधीश नियुक्ति हुने परम्परा संसारमा कतै नभएको प्रसंग उल्लेख गर्दै न्यायाधीश पुनःनियुक्तिको प्रावधान राखिनुपर्ने बताउनुभयो । ‘न्यायालय भ्रष्टाचारमा मुछिएको छ तर न्याय परिषद् टुलुटुल हेरेर बसिरहेको छ’, उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीशबाट यी कुरामा गम्भीरतापूर्वक सम्बोधन हुनुपर्छ । ’
वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले नजीरहरूमा एकरूपता कायम गर्ने यसअघिका प्रयास न्यायाधीशहरूकै मतभिन्नताका कारण सफल हुन नसकेको बताउँदै आफ्नै नजिर स्थापित हुनुपर्ने न्यायाधीशको अडानका कारण एकै विषयमा फरक फरक नजिर स्थापित भएको बताउनुभयो । त्यस छलफलमा करिब ५० जना वरिष्ठ अधिवक्ताहरूले आफ्नो धारणा राख्नुभएको थियो । सर्वाेच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता नरहरि आचार्यले भन्नुभयो, ‘डर र लोभ त्यागे संसार जित्न सकिन्छ, श्रीमान्का विषयमा त्यति सुनिएको छैन, तपाईँले पनि डर, लोभ र स्वार्थ त्याग्नुस्, न्यायपालिकामा अपेक्षित सुधार अवश्य हुन्छ । साभार गाेर्खापत्र दैनीक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।