0 COMMENTS

काठमाडौँ, २४ साउन । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई निजामती प्रशासन सेवालाई जनता र राष्ट्रप्रति उत्तरदायी र मर्यादित बनाउन महत्वपूर्ण योगदान पुर्याएको भनी अभिनन्दन गरिएको छ । मोरङ समाज काठमाडाैद्वारा हिजाे आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उहाँलाई समाजका तर्फबाट अभिनन्दनपत्र प्रदान गर्नुभयो ।

निजामती ऐन चौथो संशोधनमार्फत सामान्य प्रशासन मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले विदेशी मुलुकको डिभी, पिआर तथा ग्रीन कार्ड लिन नपाउने व्यवस्था गर्नुभएको छ । विदेशका आवासीय प्रवेशाज्ञा लिएर बस्ने व्यक्ति राष्ट्रसेवक कर्मचारी हुनै नसक्ने मान्यतामा अडिग रहनुभएका मन्त्री पण्डितको उक्त निर्णयबाट निजामती प्रशासनमा देखिएको अनियमितता र अनुसाशनहीनतालाई रोक्न थोरै भने पनि योगदान पुग्ने विश्वास लिइएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री नेपालले सत्मार्ग र विचार बोकेर आफ्नो अडानप्रति दृढ र व्यवहारमा लचकता प्रदर्शन गर्ने व्यक्तिलाई समाजले प्रोत्साहन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सकारात्मक सोच राखेरै केही गरौँ भन्दा अनेक बात लाग्ने हाम्रो समाजमा मन्त्री पण्डितले राष्ट्र र जनताहितका लागि राम्रो विचार र उद्देश्य राखेर गर्नुभएको काममा प्रोत्साहन गर्दै उत्साहित बनाउनेतर्फ हामीले भूमिका निर्वाह गर्नुपर्छ । सो अवसरमा मन्त्री पण्डितले निजामती प्रशासनमा देखिएका सबैखाले विकृति र विसङ्गतिलाई अन्त्य गर्न आफू दृढताका साथ अघि बढिरहेको बताउनुभयो ।

समाजका अध्यक्ष विमल भट्टराईको अध्यक्षतामा भएको उक्त अभिनन्दन कार्यक्रममा पूर्वमन्त्री शङ्कर कोइराला, समाजका उपाध्यक्ष कृष्णमुरारी कोइराला लगायतले सदाचारी प्रधानमन्त्रीको नेतृत्वमा रहेर मन्त्री पण्डितले मुलुक र जनताका लागि निजामती प्रशासनमा सुधारका लागि गर्नु भएको कार्यको सबैले सराहना गरेको धारणा व्यक्त गर्नुभयो । उहाँहरूले भन्नुभयो, “निजामती प्रशासनका बारेमा अनेकाै टीकाटिप्पणी भइरहेका बेला मन्त्री पण्डितले विशेष चासो र अडान लिएर गर्नुभएको डिभी, पिआर र ग्रीनकार्डसम्बन्धी निर्णयको चौतर्फी रूपमा सराहना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।