0 COMMENTS

काठमाडौं१७कार्तिक०७७- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी फुटाएर देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुको चाहना पूरा गर्न नहुने बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गर्दै प्रवक्ता श्रेष्ठले उक्त आह्वान गरेका हुन् ।सत्तारुढ नेकपा फुटनजिक पुगेको खबर बाहिरिएको बेला प्रवक्ता श्रेष्ठको यस्तो सन्देश सार्वजनिक भएको हो ।

‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो,’ उनले लेखेका छन्, ‘यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन ।’

उनले नेता कार्यकर्तालाई पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।‘फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहना र जनादेशविरुद्ध हुन्छ,’ उनले भनेका छन्, ‘तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाउँबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं ।’

पार्टी भित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिध्दान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवम् सञ्चालनसम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुनसक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरी नसकेको प्रवक्ता श्रेष्ठको बुझाई छ ।

‘तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिवद्धता भए पुग्छ, पार्टीको विधि, पध्दति एवं निर्णयको पालना र कार्यान्वयन,’ उनले लेखेका छन्, ‘व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन ।’

नेकपाका सचिवालय सदस्य समेत रहेका श्रेष्ठले देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोच्न र सकारात्मक निष्कर्ष निकाल्न अनुरोध गरेका छन् । ‘जान वा अन्जानमा देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौं,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।