0 COMMENTS

काठमाडौँ, १५ असोज / दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरू चर्काे भाडा तिरेर घर जान बाध्य भएका छन् ।

कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ । काठमाडौँबाट हेटौँडा जान लागेका एक यात्रुले ४५० लाग्ने भाडा ८०० तिरेर यात्रागर्न बाध्य भएको बताउनुभएको छ ।

केही यात्रु घरमा पुग्न पाइने आशमा बढी भाडा तिर्ने गरेका छन् भने धेरै यात्रुले चाहना नहुँदानहुँदै बढी भाडा तिर्नुपरेको गुनासो गरेका छन् । ट्राफिक प्रहरीले बढी भाडा लिने सवारीको निगरानी बढाए पनि यात्रु ठगिने क्रम रोकिएको छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको बताउनुभयो । उहाँले दशैँमा हुने यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको र आजसम्मका २३२ सवारीलाई कारवाही गरिएको उल्लेख गर्नुभयो तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरेका छन् ।

ठगी रोक्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । बसपार्क क्षेत्रमा पछिल्लो समयमा प्रगति भइरहेको र ठगिने क्रम रोकिएको दाबी प्रहरीको छ तर अन्य क्षेत्रमा अझै प्रहरीको आँखा छलेर पैसा असुल्ने क्रम जारी छ । प्रहरीले भिडियो रेकर्ड र बढी भाडा लिएको रसिदसहित पक्राउ गरेर कारवाही गर्दै आएको छ ।

प्रहरीले आफैँ प्यासेन्जर बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र प्यासेञ्जर बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरूलाई कारवाहीको दायरामा ल्याउने गरेको छ । यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।