0 COMMENTS

वि.सं. २०७६ भाद्र २८ गते शनिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १४ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : इन्द्रदह स्नान, भक्तपुरमा सिद्धपोखरी मेला, सोह्र श्राद्ध प्रारम्भ, सोह्र श्राद्धअन्तर्गत प्रतिपदा तिथिको श्राद्ध, चेपांगहरूको चोनाम पर्व, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), यँया पुह्नि, ओंगया मंगया, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) पूर्णिमा तिथि, बिहान ०८:४१ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, पूर्वाभाद्रा नक्षत्र, बेलुका १०:४७ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, दिउँसो ०४:०८ बजेसम्म, त्यसपछि मीन राशिमा, शूल योग, बेलुका १०:२७ बजेसम्म, त्यसपछि गण्ड योग, सुरुमा बब करण बिहान ०८:४१ बजेसम्म, त्यसपछि बालब करण बेलुका ०९:४३ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : कालदण्ड, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : वायव्य, वारशूल : पूर्व, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४८ बजे, सूर्यास्त : साँझ ०६:०९ बजे, दिनमान : ३० घडी ५५ पला (१२ घण्टा २२ मिनेट, रात्रीमान : २९ घडी ०५ पला (११ घण्टा ३८ मिनेट)

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति लगनशील भइने छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । शत्रुहरू पराजित हुनेछन् । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । साँझमा बाह्रौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, त्यसपछि खर्चको मात्रा बढ्न सक्छ, कुनै क्रियाकलापले निराशा बढाउन सक्छ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरायसी सम्बन्ध सुमधुर रहने छ । मातापिता र अभिभावकवर्गको सहानुभूति र आशीर्वाद प्राप्त हुनेछ । कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । व्यापार/व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ । कर्मप्राप्ति र व्यवसायिक उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । आज साँझ कर्मक्षेत्रमा रहेको चन्द्रमा लाभ भावमा प्रवेश गर्दैछ, त्यसैले अब ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भाग्यमा चन्द्रमा छ, पारमार्थिक काममा खटिनु पर्ने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी बढ्ने छ । कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ । बेलुका कर्मक्षेत्रमा चन्द्रमाले प्रवेश गर्नेछ । त्यसपछि थातीरहेको आवश्यक र गर्नैपर्ने काममा मिहिनेत गर्ने विचार आउने छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा शुभफल देखिन्छ । पिता वा पितृतुल्य व्यक्तिको प्रेरणा प्राप्त हुने समय छ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दीर्घकालिक काम बेलुकीपख गर्नु शुभ हुन्छ किनकि आजबाट नकारात्मक समयको अन्त्य हुँदैछ । तर दिउँसो अबेरसम्म अष्टम भावको चन्द्रगोचर रहेकाले दिनभरि विभिन्न समस्या झेल्ने र बाधाअड्चन ब्यहोर्नु पर्ने दिन छ । भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ । त्यसैले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । आज धार्मिक र सामाजिक क्षेत्रमा गरिएको लगानीको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । आज आत्मीय मित्रसँग रमाइलो पल बिताउने समय हो । उता व्यवसायिक गतिविधि र बन्दव्यापारबाट पनि लाभ लिन सकिने समय छ । हाँसखेल र रामरमाइलोमा नै आजको दिन व्यतीत हुने सङ्केत छ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अपराह्नमा आठौं भावमा चन्द्रमाको प्रवेश हुँदैछ । अब रामरमाइलो त्यागेर बाध्यात्मक काम र व्यवसायिक गतिविधिमा संलग्न हुनु पर्ने हुन्छ, कुनै महत्वपूर्ण घरायसी काम छ भने साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । त्यसपछि पारिवारिक जीवनमा असमझदारी वा चिसोपन बढ्न सक्छ । समय दिन नसक्नाले पारिवारिक वातावरण बिग्रन सक्छ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिनभरि किचलो, झमेला, पुराना काम र खित्रिङमित्रिङमा समय बित्नेछ । मनमा दम्भ र पाखण्ड हाबी हुने समय छ, त्यसैले वादविवाद र मुद्दामामिला अघि सर्नु हुँदैन । बन्दव्यापार र उद्योगधन्दामा ध्यान केन्द्रित गरेमा मात्र लाभ लिनसकिने छ । घरिघरि मन अशान्त रहने छ, के गरौं र के गरौं भइरहन्छ । भावुकता र काल्पनिकतामा अल्मलिएर गर्नै पर्ने काममा विलम्ब हुनसक्छ । हुन त दैनिक कामधन्दा र बन्दव्यापार सामान्य नै रहने देखिन्छ । गरेका काम दोहोर्याउने परिस्थिति बन्नेछ । बेलुकीपख मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । रमणीयतातर्फ झुकाव बढ्ने छ । दाम्पत्य सम्बन्ध वा प्रेमी/प्रेमिकाका बीचमा सामीप्यता बढ्ने छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । घरपरिवारबाट सहयोग मिल्नेछ । माया प्रेमको लागि रमाइलो समय छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ, किशोरकिशोरीमा रागात्मक भावनाको उदय हुनसक्छ । सँगीसाथी र परिवारका सदस्यहरूको सहयोग प्राप्त हुनेछ । बुद्धिकौशल र आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार/व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । मन अशान्त रहने छ, बुद्धिमा अहङ्कारको प्रवेश हुनेछ, रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चतुर्थ भावको चन्द्रमाले तपाईंलाई शुभफल प्रदान गर्ने परिस्थिति बनेको छ । हुन त प्रारम्भमा जाँगर चल्ने दिन देखिंदैन, मनमा नैराश्य र वैराग्यका भाव सञ्चरण भए पनि गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । दिनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्नेछन् । प्रेम सम्बन्ध र दाम्पत्यसुखमा बृद्धि हुनेछ । परिवारका सदस्यहरूमा खुसी, उमङ्ग र हर्षको सञ्चार हुनेछ । दिन ढल्दै जाँदा ज्ञानमूलक क्षेत्रमा आकर्षण बढ्ने छ ।

 

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पराक्रम स्थानमा चन्द्रमाको उपस्थिति भएकाले साख र सम्मान जोगाउन प्रयास गर्ने दिन हो, आजको दिन । रोकिएका पुराना कामहरू बनाउने प्रयास हुनसक्छ, तर नयाँ कामधन्दा सुरु गर्दा उस्तो फाइदा हुने सम्भावना छैन । अरुमाथि भर नपर्नुहोला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । सङ्घर्षका साथ कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने र नेतृत्व ग्रहण गर्ने योग छ । दिनको सुरुवातमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ अपराह्नपछि चौथो चन्द्रमाले असहज परिस्थिति सिर्जना गर्नेछ । खर्च वृद्धि हुने समय छ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । घरपरिवारभित्र देखिने समस्यामा केन्द्रित हुनु पर्ने छ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ । मौखिक क्रियाकलाप र कलाक्षेत्रका अध्येताले उपलब्धी हासिल गर्ने दिन हो ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज बेलुका तपाईंको राशिमा रहेको चन्द्रमाले धनस्थानमा प्रवेश गर्दैछ । अब धनधान्य बृद्धि गर्ने अनुकूलता मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । नरनाताको काम गरेर सम्मान र साख बढाउन सकिने छ, त्यस्तै पारिवारिक जमघटमा सहभागी बन्नुपर्ने छ । कतैबाट वस्त्र, अलङ्कार आदि उपहारसमेत पाउन सक्नुहुन्छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । आर्थिक पक्ष मजबूत बनाउन गरेको चिन्तन फलदायी हुनेछ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज साँझबाट तपाईंका नकारात्मक समयको समाप्ति हुँदैछ, तर सूर्योदयकालमा चन्द्रमा अनुकूल छैन, तर नडराइकन सुझबुझ, आत्मबल र हौसलाको प्रयोग गरेमा सफलता नै हासिल हुने दिन हो । वहस र वादविवादमा विजय प्राप्त हुनेछ । नयाँ कामको वातावरण तैयार हुनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । भविष्यमा फाइदा हुने कुनै काम गर्ने वातावरण मिल्नसक्छ । अब क्रमशः असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । बन्दव्यापारमा देखिएका समस्या हल हुनेछन् ।

 

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।