0 COMMENTS

वि.सं. २०७६ भाद्र २४ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १० तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : वामन द्वादशी, दही दान गर्ने दिन, इन्द्रध्वजोत्थान, नेवारी पर्व मतछोयके, त्रिपुष्कर योग दिनको ०१ बजेर १८ मिनेटसम्म, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) द्वादशी तिथि, मध्यरात्रीपछि ०३:०८ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, उत्तराषाढा नक्षत्र, दिउँसो ०१:१८ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), शोभन योग, बेलुका ०८:४५ बजेसम्म, त्यसपछि अतिगण्ड योग, सुरुमा बब करण दिउँसो ०२:३३ बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०३:०८ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : पद्म, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४६ बजे, सूर्यास्त : साँझ ०६:१४ बजे, दिनमान : ३१ घडी ११ पला (१२ घण्टा २८ मिनेट, रात्रीमान : २८ घडी ४९ पला (११ घण्टा ३२ मिनेट)

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय निकालेमा कर्मसिद्धि हुनाले व्यवसायमा प्रगति हुनेछ । व्यवसायिक यात्राका लागि उचित समयको योग छ । आफ्नो काममा तल्लीन हुनुपर्ने छ, दिन बितेको पत्तो पाइने छैन । काम गर्दा कुनै दुविधा भएमा जान्नेबुझ्ने वा अनुभवीको राय लिनु पर्छ, सफलता मिल्नेछ । आज कर्मक्षेत्रमा सबल चन्द्रमा रहेकाले नोकरी, बन्दव्यापार वा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । कुनै रोजगारी वा व्यवसायका बारेमा सोच्दै हुनुहुन्छ भने तुरुन्त काम थाल्नु राम्रो हुन्छ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा अनुभवी व्यक्तित्वका साथमा अति सुमधुर सम्बन्ध कायम हुनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । भाग्यभावमा चन्द्रमाको उपस्थिति छ, सोचेको काममा धेरैले साथ दिनेछन् । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । ठूलाबडासँग मित्रता बढ्नेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसरले पछ्याउनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । छात्रछात्राले प्रतिभा देखाउने र सिर्जना गर्ने समय हो, धेरैले तपाईंको कामको तारिफ गर्नेछन् ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
शरीरमा आलस्य, भ्रम र रिसरागले डेरा जमाउने दिन छ । अष्टम भावमा चन्द्रमा भएकाले मेसिन, कलपुर्जा, सवारी साधन र हतियार चलाउँदा होस् राख्नु राम्रो हुन्छ । घाउखटिरा र चोटपटकलगायत स्वास्थ्यमा समस्या देखिन सक्छ । बेकारको विवादमा फँस्न सकिन्छ, व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, बोलीमा नियन्त्रण गरेको राम्रो हुन्छ । कुनै पनि नयाँ काम थालनी गर्दा शुभफल पाउन सकिंदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । सामाजिक र परोपकारका मार्गमा जस पाइँदैन, यद्यपि संलग्न हुनु राम्रो हुन्छ । कुनै पुरानो समस्या वा गुप्त रोगले सताउने दिन हो, सतर्क हुनुपर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज भावनाप्रधान दिन हो । प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनसक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । आत्मीय व्यक्तिसँग नजिकिने मौका पाइने छ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । खासगरी साझेदारीमा गरेको व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । व्यावसायिक यात्राको सम्भावना पनि छ । नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ साथी वा साझेदार बनाउन पाइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
तर्क, बहस र वादविवादमा संलग्न हुने समय चल्दैछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । आज न्यायिक, कानूनी र प्रशासनिक क्षेत्रका व्यक्तिका लागि राम्रो दिन छ, अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । आफन्त, मित्रवर्ग, सहयोगीहरू तपाईंको साथमा हुनेछन् । स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुनेछन् । साथीभाइले सकेको मद्दत गर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज बौद्धिक क्षेत्रका व्यक्तिहरूको दिन हो, छात्रछात्राले पनि राम्रो गर्नेछन् । विचारको कदर हुनेछ । ताकेका काम बन्नेछन् । सृजनात्मक सफलता मिल्नेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राज्ञिक, बौद्धिक र दार्शनिक गतिविधिमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुबान्धवले आवश्यक सहयोग गर्नेछन् । खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ । बन्दव्यापार र पेसागत जीवनमा समेत राम्रो छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । कल्पना, भावना र प्रेममय वातावरणको सिर्जना हुनेछ । पारिवारिक जीवनमा सुमधुरता प्राप्ति हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
चौथो चन्द्रमाले स्वास्थ्यसम्बद्ध समस्या ल्याउनसक्छ, तर डराई हाल्ने परिस्थिति छैन । धैर्यले काम लिने समय छ । घरगृहस्थी र पारिवारिक रमझममा समय व्यतीत हुनेछ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरूले आज आमाको माया र घरायसी कुरा सम्झेर दिन बिताउने छन् । लक्ष्य कठिन छ, तर असफल नै भइँदैन, चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । बन्दव्यापार राम्रो छ, आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना देखिन्छ । नचिताएको साथी वा छिमेकीले अप्रत्यासित सहयोग गर्ने सङ्केत पनि छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । पति/पत्नी र प्रेमी/प्रेमिकाका बीचमा निकटता बढ्ने छ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । बन्दव्यापार र क्रयविक्रयबाट लाभ मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । इष्टमित्र, बन्धुवान्धव र सहयोगीहरूको साथ पाउने दिन हो, थोरै मिहिनेत गरे पनि काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रतिस्पर्धामा सफल भइने छ, प्रतिस्पर्धी परास्त हुनेछन् । परिश्रम र पराक्रम गरेबमोजिम समाजमा सम्मान र साख बढाउन सकिने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज धनबृद्धि गर्ने समय हो, धेरथोर आम्दानी हुने समय छ । तर कमाएको धन टिक्न गाह्रो छ, निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, त्यसैले सचेत रहनुपर्छ । कृषि, पशुपालन र झिनामसिना घरायसी काममा समय दिनु पर्ने हुन्छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन र श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ । पढाइलेखाइमा समय दिन सकिंदैन । बोलीमा संयमता अपनाउनु राम्रो हुन्छ । स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । कुनै नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने जान्नेबुझ्नेको सुझाव प्राप्त गर्नु बेस हो । मनोरञ्जन र विलासिताका क्षेत्रमा धनखर्चको योग छ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफ्नै राशिमा चन्द्रमाको उपस्थिति छ, मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ तर पनि आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । बन्दव्यापारका अन्य क्षेत्रमा समेत लाभ मिल्नेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । निर्णय क्षमता मजबूत छ, जेगरे पनि बुद्धिकौशलको प्रयोग गर्नु राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
द्वादश भावमा पुगेको चन्द्रमाको प्रभावले खर्च बृद्धि हुने समय चल्दैछ, तर समुचित स्थानमा धनव्यय हुनेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ, आलस्य त्यागेर उत्साहपूर्वक काम गर्ने दिन हो, आज । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ र रामरमाइलो तथा मनोरञ्जनात्मक क्षेत्रमा धनलगानी हुनसक्छ । मातापिता र अभिभावक वर्गको इच्छाबमोजिम धार्मिक वा सांस्कृतिक क्षेत्रको भ्रमण हुने सम्भावना पनि छ । बन्दव्यापारमा सामान्य छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ, वैदेशिक प्रयोजनका कामबाट लाभ लिन सकिने छ, तर श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लाभ भावको चन्द्रमा र भाग्यभावको बृहस्पतिको प्रभावले उत्कृष्ट सङ्केत गर्दैछ । हिजोआज कर्मसिद्धिको समय चल्दैछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । श्रमको उचित मूल्याङ्कन होला । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । समाजमा साख रहने दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।