0 COMMENTS

वि.सं. २०७६ भाद्र ०९ गते सोमबार तदनुसार ई. सं. २०१९ अगस्ट २६ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : अजा एकादशी व्रत, भाद्रपद कृष्णपक्ष (गुँलागा) एकादशी तिथि, मध्यरात्रीपछि १२:३९ बजेसम्म, त्यसपछि द्वादशी तिथि, आर्द्रा नक्षत्र, मध्यरात्रीपूर्व ११:४५ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), वज्र योग, बिहान ०९:५१ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा बब करण दिउँसो ०१:१९ बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि १२:३९ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : कालदण्ड, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:३९ बजे, सूर्यास्त : साँझ ०६:३१ बजे, दिनमान : ३२ घडी ११ पला (१२ घण्टा ५२ मिनेट, रात्रीमान : २७ घडी ४९ पला (११ घण्टा ०८ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पराक्रम स्थानमा रहेको चन्द्रमाको शुभफलमा कमी भएको दिन छ । परिस्थिति विपक्षमा भए पनि हिम्मतले काम लिनुपर्ने समय छ । त्यसैले बन्धुबान्धव र साथीभाइसँग सन्तुलित व्यवहार गर्नु पर्ने दिन हो, आज । आफन्तहरू टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सहयोगीहरूको भावना बुझ्न नसक्दा केही अप्ठ्यारोमा परिनेछ । सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ । कृषि तथा पशुपालनमा लागत बढ्नेछ । पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ । तापनि मिहिनेत गर्दा फाइदा नै हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरूलाई समेत फाइदा दिलाउन सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । धनस्थानमा रहेको चन्द्रमाको प्रभावले मिहिनेत र श्रमबाट प्रशस्त धन लाभ हुने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । मुखमा सरस्वतीको बास छ, बोली बिक्ने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफ्नै राशिमा चन्द्रमा भए पनि विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । कताकता आत्मबलमा कमी भएको अनुभूति हुनेछ । मिहिनेत गर्दा पनि काम बन्न नसक्दा भने दिक्क लाग्न सक्छ । ईर्ष्या गर्नेहरूले डाहा गर्न छाड्दैनन् । तर प्रयासरत रहेमा र लगनशील भएमा आज ठूलो फाइदा नभए पनि असफल नै भइँदैन । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । कम बोलेको राम्रो हुनेछ । सोच र तार्किक क्षमताको प्रदर्शन गर्न सकेमा मात्र लाभ दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । सल्लाह र सुझाव दिनेहरू प्रशस्तै भेटिनेछन्, तर आफ्नो सुरमा काम गर्नु राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
काममा ढिलासुस्ती हुनसक्छ । बाह्रौं भावमा रहेको चन्द्रमाका कारण अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार/व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । नयाँ योजना कार्यान्वयन गर्दा लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । आफ्नै कमजोरीले विवादमा परिनेछ तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । धेरै टाढाको यात्रा गर्नु हानिकारक बन्नसक्छ । पतिपतगबिीच घरसल्लाह नमिल्न सक्छ । अनजानको गल्तीले हानि पुर्याउन सक्छ, सजग रहनुहोला । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ । समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लाभ स्थानमा चन्द्रमा छ, कुनै सरकारी वा मुद्दामामिलासम्बद्ध काममा सफलता मिल्ने दिन हो । तर काम बनाउन सञ्चित धन खर्च गर्नुपर्ने वा ऋणभार बढ्ने सम्भावना देखिन्छ । शत्रुपक्ष हाबी हुने दिन हो, जुनसुकै काम गर्दा चनाखो र सतर्क भएर गर्नुपर्ने हुन्छ । गोपनीयतामा जोड दिनुहोला । वास्ता नगर्नाले वा अल्छी वा आलस्यले गर्दा थालेको काम बीचैमा रोकिन सक्छ । अर्थ सङ्ग्रहमा बाधा पुग्नेछ । यद्यपि मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा भविष्यमा फाइदा हुने काम सुरु गरिने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कर्मक्षेत्रमा चन्द्रमाको उपस्थिति देखिन्छ । राहुबाट दूषित चन्द्रमा भएकाले अवसर जुटे पनि त्यसलाई अनुसरण गर्न सकिंदैन, दिगो काम तथा भौतिक साधनका लागि व्ययभार बढाउनु पर्ने हुनसक्छ, अनि काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । उता आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, आफैंले अरूलाई दिएको वचन पूरा गर्न धौधौ पर्नेछ । हुन त विभिन्न अवसर आउने समय छ, यद्यपि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु आवश्यक छ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । व्यापारमा भने फाइदा नै देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भाग्यस्थानमा चन्द्रमा रहेकाले आज गरेको कामबाट भविष्य सपार्ने समय हो । तर सामाजिक काम वा अरूका काममा समय बित्न सक्छ । समयमा होस पुर्याउन नसक्दा बन्नै लागेको काम बिग्रन सक्छ । परिस्थिति अनुकूल नदेखिए पनि काम र जिम्मेबारीको बोझ थपिने दिन हो । सभासमारोहमा अलमलिंदा वा बेकामे काममा खट्नु पर्ने भएकाले गर्नै पर्ने काममा बिलम्ब हुने समय छ । त्यस्तै काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । तर भाग्यमा चन्द्रमा रहेकाले धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । धैर्य र संयमताका साथ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अष्टम भावमा राहुदूषित कमजोर चन्द्रमाको उपस्थिति देखिन्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । यात्राको योग छ, सचेत हुनुपर्छ, बास बस्ने गरी टाढा जानु हुँदैन । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यप्रति सचेत हुनुपर्छ, आहारविहारमा तलबितल पर्ने सम्भावना छ । गोपनीयता भङ्ग हुने खतरा छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
रामरमाइलो र मनोरञ्जनमा केन्द्रित हुने समय छ । यद्यपि बाध्यात्मक परिस्थिति र कर्तव्यपालनाका मार्गमा तल्लीन हुनुपर्दा मनोरञ्जन र रामरमाइलो गर्ने फुर्सत पाइँदैन । आफ्नै वा जीवनसाथीको व्यक्तिगत स्वास्थ्यमा सामान्य समस्या देखिनसक्छ । पति/पत्नीका आपसी समस्या सुल्झाउन समय दिनुपर्ने हुन्छ । बन्दव्यापार र व्यवसायिक काममा विविध चुनौती र तनाव झेल्नुपर्ने समय छ । चिन्ता र छटपटी बढ्न सक्छ । बाध्यताले मन खिन्न तुल्याउनेछ । तर आत्मबल र संयमता गुमाउनु हुँदैन, वैदेशिक प्रयोजनका काम, आयातनिर्यात र मार्केटिङमूलक कामबाट राम्रो फाइदा जुटाउन सक्नुहुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसरसमेत प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । शत्रु र प्रतिस्पर्धीले चलखेल बढाए पनि डराउनु पर्दैन । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ । आज छात्रछात्राले प्रतिस्पर्द्धा र परीक्षामा मिहिनेतअनुसारको राम्रो परिणाम निकाल्न सक्नुहुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज मुखमा सरस्वतीको निवास भएको उत्कृष्ट समय छ । त्यसैले विशेष गरी बौद्धिक क्षेत्रका व्यक्तिहरू र छात्रछात्राले बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सक्नेछन् । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अध्ययनमा प्रगति हुनेछ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । भाइबहिनीको क्रियाकलापले सन्तुष्ट भइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हुन त चन्द्रमा चौथो भावमा रहेको देखिन्छ । चिन्ता, शङ्का र छटपटी बढ्ने सङ्केत छ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्दैन । पहिलेका कमजोरीका कारण झमेला लम्बिन सक्छ । महत्वाकाङ्क्षा जाग्नेछ, तर योजना कार्यान्वयन हुन सक्दैनन् । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध समस्या देखिने छन् । सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । व्यक्तिगत स्वास्थ्यस्थितिप्रति सचेतता अपनाएको जाति हुनेछ । तर सँगीसाथी र आफन्तजनको साथसहयोग जुट्ने छ, शत्रुपक्षको मनोबल कमजोर हुने समय देखिन्छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।