0 COMMENTS

वि.सं. २०७६ भाद्र ०६ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अगस्ट २३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : श्री कृष्ण जन्माष्टमी व्रत, अष्टमी व्रत, मोहरात्री, गौरा पर्व, गोरखकाली पूजा, मन्वादि, दूर्वाष्टमी, डोलेश्वर उत्सव, भाद्रपद कृष्णपक्ष (गुँलागा) अष्टमी तिथि, मध्यरात्रीपछि ०३:२० बजेसम्म, त्यसपछि नवमी तिथि, कृतिका नक्षत्र, मध्यरात्रीपछि १२:०९ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), ध्रुव योग, दिउँसो ०२:२६ बजेसम्म, त्यसपछि व्याघात योग, सुरुमा बालब करण दिउँसो ०३:१८ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०३:२० बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : छत्र, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : ईशान, वारशूल : पश्चिम, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:३७ बजे, सूर्यास्त : साँझ ०६:३४ बजे, दिनमान : ३२ घडी २२ पला (१२ घण्टा ५७ मिनेट, रात्रीमान : २७ घडी ३८ पला (११ घण्टा ०३ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दोस्रोभावमा रहेको चन्द्रमाको मध्यमफल प्राप्त हुनेछ, साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, तर मुख छुच्चो नै देखिए पनि कुनै महत्त्वपूर्ण काम बन्नसक्छ । चेलीबेटी वा कुटुम्बपक्षसँगको सम्बन्धमा सचेत हुनु जाति हुनेछ । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । धातु र गरगहनाको खरिदमा महँगोमा पर्न सक्नुहुन्छ । आर्थिक पक्ष सबल भएको दिन नै देखिन्छ, दैनिक कारोबारबाट फाइदा हुनेछ । पारिवारिक र घरायसी जीवनमा देखिएका समस्याहरू सजिलै समाधान हुनेछन् । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज एकाबिहानै तपाईंको आफ्नै राशिमा चन्द्रमाको आगमन भएको छ, अब खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन/अध्यापनको क्षेत्रमा प्रगति गर्ने अवसर मिल्नेछ । त्यस्तै पेसा र व्यवसायबाट समेत लाभ लिन सकिने छ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिउँसोका तुलनामा बिहानको समय केही सकारात्मक देखिन्छ, तर आज द्वादश भावको चन्द्रमाको प्रभाव भएको दिन छ । सुरुमा मनमा उत्साह र उमङ्ग देखिए पनि समग्रतामा आत्मबलमा कमी देखिन सक्छ, तर शरीरमा स्फूर्ति, उत्साह र उमङ्गलाई नत्याग्नु राम्रो हुन्छ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ । घरभित्रका समस्या हल गर्न आर्थिक व्ययभार बढ्न सक्ने सम्भावना देखिन्छ । दिन छिप्पिंदै जाँदा तनाव र चिडचिडेपन बढ्न सक्छ । रिसराग र प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । विदेशबाट शुभ समाचार प्राप्त हुने दिन छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने दिन छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ । खासगरी छात्रछात्राले कुनै नयाँ विषयको जानकारी लिने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कर्मक्षेत्रमा रहेको चन्द्रमाको प्रभावले आज श्रममूलक काम वा कृषिक्षेत्रका काममा मन जानेछ । तर लापरबाही गर्ने दिन होइन, जुनसुकै काममा संयम र अनुशासित भई लागीपर्नु उचित हुनेछ । आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यजनको सेवासुश्रुषाका लागि खट्ने परिस्थिति बन्नसक्छ । व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन दिनु हुँदैन, नत्र सानो त्रुटिका कारण काम बिग्रन सक्छ । प्राविधिक कामबाट ढिलो भए पनि सोचेजस्तो सफलता हात पर्नेछ । विद्यार्थी र ज्ञानार्जनका मार्गमा लागेकाहरूले अलि बढी मिहिनेत गर्ने समय हो । त्यस्तै बन्दव्यापारमा फाइदा नै देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । करकुटुम्बको आगमन हुनसक्छ । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ, संयम हुँदा जीत हुनेछ । पेसाव्यवसाय र रोजगारीका मार्गमा सामान्य रहने छ, तर प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । आज जुनसुकै काममा लगनशील हुनुपर्छ, एउटै कामबाट दोहोरो लाभ लिन सक्नुहुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आठौं घरमा चन्द्रमा रहेको छ, सानातिना घरायसी समस्याहरू देखिन सक्छन् । आवेग र संवेगलाई नियन्त्रणमा राखी काम गर्नसके ती समस्याले तपाईंको दैनिकीमा खास फरक पार्ने परिस्थिति बन्ने छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । मनमा कताकता चिन्ता र शङ्का सिर्जना भए पनि आज उत्साहमा कमी हुन दिनुहुँदैन । तपाईंको रोकिएको काम बन्न सक्छ । उपलब्धीमूलक यात्राको योग छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ । राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । दूरगामी उन्नतिका लागि घोत्लिन सक्नुहुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सातौं भावको चन्द्रमाको प्रभावले मन र शरीरले आराम र रमणीयताको खोजी गर्ने दिन हो । त्यसैले कामकाजमा जाँगर चल्दैन, मन भावुक र रोमान्टिक बन्न सक्छ । कामधाममा सोचेजस्तै सफलता प्राप्त गर्न निक्कै खट्नु पर्नेछ । बन्दव्यापार र व्यवसायका अप्ठ्यारा र असजिला पक्षको चिन्तनमा एकाएक केन्द्रित हुने परिस्थिति बन्नेछ । पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने, उपयोगी समय छैन । दाम्पत्य वा प्रेम जीवनमा पनि ठास्सठुस्स बढ्ने दिन हो । जीवनसाथी वा प्रेमी/प्रेयसीलाई समय दिनु र सकेसम्म घुमघाम र रामरमाइलोमा समय दिनु राम्रो हुन्छ । बुद्धि पुर्याउन नसके मनोरञ्जनात्मक क्षेत्र र सँगीसाथी हानिकारक बन्न सक्छन्, होस राख्नुपर्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट समय अलि धमिलिएको महसुस हुनेछ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । छैटौं भावमा चन्द्रमा रहेकाले झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनुपर्ने समय छ । दिन छिप्पिंदै जाँदा आर्थिक सङ्कट बढ्ने समय छ, त्यस्तै मानसिक एवं शारीरिक क्षमतामा कमी भएको आभास हुनेछ, छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यस्थितिमा समेत सामान्य असर पर्ने दिन हो, त्यसैले खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । सामाजिक र परोपकारका मार्गमा बाधा देखिंदैन, बरु अरुको भलाइ हुने पारमार्थिक काममा खर्चको मात्रा बढ्न सक्छ । बन्दव्यापार सामान्य रहने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज एकाबिहानै घरभित्रको कुनै महत्वपूर्ण काममा संलग्न हुनुपर्ने देखिन्छ । चन्द्रमा पञ्चम भावमा रहने भएकाले आजबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित हुने समय छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न अबको समय अनुकूल हुनेछ । आत्मबलमा बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । खासगरी विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन्, त्यस्ते अरुले पनि ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ । गृहिणीहरूले माइतीपक्षको शुभ समाचार प्राप्त गर्नुहुनेछ । बन्दव्यापारमा राम्रो छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
चन्द्रमा चतुर्थ भावमा रहेकाले भावुक र संवेदनशील हुने समय छ । सामान्यतया व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिन सकिने छ । तर सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु परे पनि सफलता हासिल हुने समय छ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा बढोत्तरी हुनेछ । बन्दव्यापार फस्टाउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । विद्यार्थीहरूले सामूहिक क्रियाकलाप वा सहकार्यका माध्यमबाट लाभ लिन सक्नेछन् ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

पूवैर्ली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।