0 COMMENTS

वि.सं. २०७६ श्रावण २३ गते बिहीबार तदनुसार ई. सं. २०१९ अगस्ट ०८ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : अष्टमी व्रत, गोरखकाली पूजा, नेवारी पर्व यँलपञ्चदान, श्रावण शुक्लपक्ष (गुँलाथ्व) अष्टमी तिथि, दिउँसो ०३:११ बजेसम्म, त्यसपछि नवमी तिथि,विशाखा नक्षत्र, मध्यरात्रीपछि ०२:३१ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र,चन्द्रमा तुला राशिमा, बेलुका ०८:३९ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा,शुक्ल योग, साँझ ०६:५२ बजेसम्म, त्यसपछि ब्रह्म योग,सुरुमा बब करण दिउँसो ०३:११ बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०२:३३ बजेसम्म, अन्तिममा कौलव करण,आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान, वारशूल : दक्षिण,

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०१:४८ देखि ०३:२८ सम्म, यमघण्ट : बिहान ०५:३० देखि ०७:१० सम्म, गुलिक काल : बिहान ०८:४९ देखि १०:२९ सम्म, काल वारवेला : दिउँसो ०३:२८ देखि ०५:०८ सम्म, रोग वारवेला : बिहान ०७:१० देखि ०८:४९ सम्म,

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : दिउँसो १२:०९ देखि ०१:४८ सम्म, शुभ वारवेला : साँझ ०५:०८ देखि ०८:०८ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।भोलिको चाडपर्व र उत्सव : विश्व आदिवासी दिवस, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुनसक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । आम्दानीमा कमी हुने छैन । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । छात्रछात्रा मनोरञ्जन र आत्मरतिमा भुलिने दिन भएकाले पठनपाठन प्रभावित बन्नसक्छ, सचेत हुनुपर्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुनेछ । घरायसी र प्रेमसम्बन्धमा देखिएका तनाव र समस्याको अन्त्य हुने सङ्केत छ, जीवनसाथी र प्रेयसीसितको दूरीमा क्रमशः कमी आउने छ । परीक्षा वा प्रतिस्पर्द्धामा समावेश हुनेले विजय प्राप्त गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ । छात्रछात्राले थोरै मिहिनेत गरे पनि राम्रो परिणाम प्राप्त गर्ने समय देखिन्छ । पठनपाठन र लेखनकार्यमा प्रगति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चौथो चन्द्रमाको प्रभावले आज कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिन सक्छ । घरमा बाध्यात्मक खर्च गराउने परिस्थिति सिर्जना हुनेछ, उदाहरणका लागि परपाहुनाको आगमन हुने वा स्वागतसत्कारमा समय दिनुपर्ने हुन्छ । शुभरङ्ग : रातो वा पहेंलो

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समाजमा सम्मानित र चर्चित व्यक्तिहरूको साथ सहयोग प्राप्त हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । दाजुभाइका माझमा सहयोग लिन/दिन सकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । साझेदारी व्यापारमा लगानी गर्ने मुड बन्नसक्छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । छात्रछात्राले सहकार्यका माध्यमबाट प्रतिष्ठा कमाउने वेला हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक काममा संलग्न भएर व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । लगानीमा रहेको वा सापटीमा गएको धन फिर्ता आउने वेला हो । दोस्रो भावमा चन्द्रमा रहेकाले बोलीवचनमा सुमधुरता आउने छ, नचिताएको ठाउँमा बोली बिक्न सक्छ । चेलीबेटी र कुटुम्बका काममा सहयोग गर्नु पर्नेछ, त्यस्तै कुनै काम फत्ते गर्नुछ भने आमा वा दिदीको सहयोग लिएको जाति हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज आफ्नै राशिमा रहेको चन्द्रमाले साँझपख धनभावमा प्रवेश गर्दैछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विदेशयात्राको योजनामा हुनुहुन्छ भने काम थाल्न आजको दिन अनुकूल हुनेछ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । बाह्रौं चन्द्रमा भएकाले ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, सचेतता अपनाउनु राम्रो हुन्छ । घरका बुजुर्ग व्यक्तिको इच्छा पूरा गर्नुपर्ने समय छ, तीर्थव्रत वा भ्रमण/पर्यटनमा बजेट बृद्धि हुने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
लाभभावमा चन्द्रमा भए पनि आज हाँसखेल र मनोरञ्जनका लागि समय निकाल्न सकिंदैन । कामधन्दा र व्यवसायिक क्षेत्रमा बढी खट्नु पर्ने दिन भएकाले नियमित भोजनको अनुकूलता नमिल्न सक्छ । अरुले तपार्इंका क्रियाकलापको चियोचर्चो गर्नेछन् । बोल्दा ख्याल गर्नुहोला, गलत सन्देश जानसक्छ । मनमा दोधारको स्थिति बन्नाले जिम्मेवारीका अवसर गुम्न सक्छन्, सचेत रहनु बेस हुनेछ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले गर्नै पर्ने र विशेष काममा बाधा पुग्नसक्छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले असर पार्नसक्छ । साँझपख अझ प्रतिकूल छ । गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज कर्मसिद्धिको समय आएको छ । समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । मातापिता र अभिभावकको आशीर्वादले काम गर्नेछ । रोजगारीको प्रयासमा रहेकाहरूका लागि आशावादी बन्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज परिश्रम गरेभन्दा राम्रो परिणाम आउन सक्ने भाग्यमा चन्द्रमा भएको दिन हो । अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । सामाजिक र परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्ने छ । दाजुभाइ र बन्धुबान्धवको सद्भाव र सहयोग प्राप्त हुनेछ । कामको दायित्व थपिने सम्भावना छ । कर्मप्रतिको समर्पणभाव बढ्ने छ । पुरुषले ससुरालीको निम्तोमा र महिलाले माइत जाने अवसर प्राप्त गर्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आयुक्षेत्रमा चन्द्रमा भएकाले त्यत्ति गतिलो समय छैन, त्यसै पनि मन डराउन सक्छ, विविध कठिनाइ र चुनौतीको सामना गर्नुपर्ने हुन्छ । तर समस्यादेखि नभाग्नु होला, सफलता तपाईंको मुट्ठीमा छ, नत्र पछुतो हुनसक्छ । कडा मिहिनेत र लगनशीलतापछि धन, धर्म र भाग्यबलमा अभिबृद्धि हुनेछ । स्वास्थ्य पक्षमा देखिएको कमजोरी हट्दै जानेछ । झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।