0 COMMENTS

वि.सं. २०७६ आषाढ १८ गते बुधबार तदनुसार ई. सं. २०१९ जुलाई ०३ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन र कुनै मुहूर्त पनि जुरेको देखिंदैन । आषाढ शुक्लपक्ष (दिल्लाथ्व) प्रतिपदा तिथि, मध्यरात्रीपूर्व ११:१७ बजेसम्म, त्यसपछि द्वितीया तिथि, आर्द्रा नक्षत्र, बिहान ०७:४७ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा, मध्यरात्रीपछि ०१:०० बजेसम्म, त्यसपछि कर्कट राशिमा, ध्रुव योग, दिउँसो ०१:३३ बजेसम्म, त्यसपछि व्याघात योग, सुरुमा किंस्तुघ्न करण दिउँसो १२:१० बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपूर्व ११:१७ बजेसम्म, अन्तिममा बालब करण, आनन्दादि योग : मुसल, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पूर्व, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:१४ बजे, सूर्यास्त : साँझ ०७:०१ बजे, दिनमान : ३४ घडी २८ पला (१३ घण्टा ४७ मिनेट, रात्रीमान : २५ घडी ३२ पला (१० घण्टा १३ मिनेट)

आजका लागि अशुभ समय
राहु काल : दिउँसो १२:०८ देखि ०१:५१ सम्म, यमघण्ट : बिहान ०६:५७ देखि ०८:४१ सम्म, गुलिक काल : बिहान १०:२४ देखि १२:०८ सम्म, काल वारवेला : बिहान ०८:४१ देखि १०:२४ सम्म ,

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय
लाभ वारवेला : बिहान ०५:१४ देखि ०६:५७ सम्म र साँझ ०५:१८ देखि ०८:१८ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव : चन्द्रोदय, श्री जगन्नाथ रथयात्रा
भोलिको मुहूर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, द्रव्यप्रयोग वा लगानी, घर छाउने/ढलान गर्ने, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परिश्रमका बलमा पराक्रम र प्रतिष्ठा स्थापना गर्ने दिन छ । आज बोलीको विपरीत अर्थ लाग्नाले अप्ठ्यारामा पर्ने सम्भावना छ, मौन रहनु नै कल्याणकारी हुनेछ । तर जसअपजसको ख्याल नगरी काम गर्नुपर्छ, अन्त्यमा तपाईंकै श्रेय बढ्ने समय छ, मानसम्मान र प्रसिद्धि बढाउन सकिने दिन छ । गृहिणीहरूलाई कसैले पनि साथ दिने अनुकूलता मिल्दैन, घरपरिवारभित्रै वा आफन्तबाट नै तपाईंको विश्वास नगर्ने वातावरण बन्न सक्छ । छात्रछात्राले पनि गुरुजन, विद्वान् र प्राज्ञिक व्यक्तिहरूले पनि साथ पाउने समय देखिंदैन । प्रायः सबैका लागि यात्राबाट पनि सोचेजस्तो फाइदा लिन सकिंदैन, त्यसैले टाढाको यात्राको योजना छ भने नगर्नु राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउने छ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । छात्रछात्राले प्रतियोगितात्मक क्रियाकलापमा सफलता पाउने छन् । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ । कर्मचारी हरूको विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । गृहिणीहरूको पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । व्यवसायीहरूका लागि कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण समेत बन्नेछ । सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्ने समय छ । खासगरी गृहिणीहरूका लागि सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । व्यापारीहरूको व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । आज प्रायः सबैको मनमा कताकता दोधारको स्थिति देखापर्न सक्छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
खर्च बृद्धि हुने समय चल्दैछ । बाह्रौं भावको चन्द्रमाका कारण काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । उता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ, नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ । यात्रामा पनि झमेला आउनसक्छ, सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नु पर्छ । स्वास्थ्यमा पनि अनुकूलता देखिंदैन, खानपानमा नियन्त्रण गर्नु राम्रो हुन्छ । त्यस्तै चिन्ता र शङ्का पनि आजका शत्रु हुन्, अतः मानसिक तनाव बढ्नाले मनमा दोधारको अवस्था सिर्जना हुनेछ, नकारात्मक भावनाले दुःखित बनाउन सक्छ । विद्यार्थीले खेलवाडमा समय खेर फाल्ने परिस्थिति देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज आत्मबल बढ्ने समय छ । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । छात्रछात्राले पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । प्रायः सबैले आज प्रतिस्पर्द्धामा विजय प्राप्त गर्नेछन्, शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । सन्तति र भाइबहिनीले समेत सहयोग गर्नाले सन्तुष्टि मिल्नेछ । नाम, दाम र प्रतिष्ठाका लागि प्रयास गरिने छन् । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने र लाभ लिन सकिने समय छ । लाभदायक यात्राको सम्भावनालाई पनि नकार्न सकिंदैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पितृस्थानमा रहेको चन्द्रमाका कारण वंश, कुल र पितृपक्षका विषयमा घोत्लिन मन लाग्नेछ । हाकिम वा अभिभावकका विचारले प्रभावित तुल्याउन सक्छ । गृहिणीहरूले सन्तान पक्षबाट सहयोग प्राप्त गर्नेछन् । छात्रछात्रा र किशोरवयका व्यक्तिको साथीभाइसित भेटघाट हुने योग छ । प्रायः सबैलाई सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । कर्मक्षेत्रमा मिहिनेतका साथमा खट्ने समय छ । आम्दानीको बाटो सहज छ । बन्दव्यापार र कारोबारबाट राम्रो प्रतिफल आउने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । पारिवारिक सम्बन्ध सामान्य ढंगले अघि बढ्ने छ । मायाप्रीति र रसरङ्गमा आकर्षण देखिंदैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज भाग्य निर्माणको समय छ । सहयोगको आशामा रहेका व्यक्ति वा असहाय र बृद्धबृद्धाको सहयोग गर्नाले भाग्य अभिबृद्धिमा सघाउ पुग्नेछ । पुराना साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्नेछ । प्रतिभाको कदर हुनेछ । नयाँ ज्ञान प्राप्त हुने समय छ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । ठूलाबडाको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकारी समय हो, प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । छात्रछात्राले आज गरेको प्रयास नै भविष्यका लागि महत्त्वपूर्ण अवसर बन्न सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अष्टम भावको चन्द्रमाका कारण बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु राम्रो हुन्छ । चोटपटकको भय हुनेछ र बिनापत्ताको आरोप व्यहोर्नु पर्ने दिन छ । धन, धर्म र भाग्यमा हानी पुग्ने तथा स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । विभिन्न समस्याहरू झेल्ने समय छ । घरपरिवारभित्र सानातिना समस्या देखिनसक्छन् । मानसिक तनाव र चिडचिडेपना बढ्न सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैको साथीले समेत कुरो बुझी दिदैंन, मन त्यसै त्यसै एकतमासको बन्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जीवनसाथीसित विवाद, तनाव र असमझदारी बढ्ने समय हो, त्यसैले गृहस्थीहरूले पति वा पत्नीको भावना बुझ्ने प्रयास गर्नुपर्छ । अन्य व्यक्तिका लागि नजिकैका व्यक्तिले समेत भावनाको मूल्यांकन नगर्दा कताकता मन रुमल्लिन सक्छ । सातौं भावको कमजोर चन्द्रमाको प्रभावले प्रेम र प्रणय प्रसङ्गका लागि राम्रो समय छैन । घरायसी काममा समय र धन खर्च हुनेछ । आम्दानीमा कमी त हुने छैन, तर बन्दव्यापारको दौडधूपले पारिवारिक जीवनमा निरसता आउने छ, काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । छात्रछात्रालाई उचित सल्लाह दिने व्यक्तिको अभाव खट्किन सक्छ । यद्यपि आज मानप्रतिष्ठा र सामाजिक मर्यादाको रक्षाका लागि प्रयास हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । गृहिणीहरूलाई आफन्त वा मित्रले आज अप्रत्याशित रूपमा सहयोग गर्ने समय छ । प्रायः सबैका लागि प्रेमी/प्रेमिका वा जीवनसाथीसितको सम्बन्धमा देखिएको समस्या निराकरण गर्ने दिन छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । खानपान र मेजमानीको अनुकूलता प्राप्त हुनसक्छ, तर स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । विद्यार्थीहरूले कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको चिन्तन र उपायले काम गर्नसक्छ । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । खासगरी आज छात्रछात्राको पठनपाठनमा प्रगति हुने समय छ, ज्ञानगुनका क्षेत्रमा सक्रिय भइने छ । बन्दव्यापारमा संलग्नहरूले पनि व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । सामाजिक कार्यकर्ताले विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । प्रायः सबैले मित्रवर्ग र दाजुभाइको प्रगतिको समाचार सुन्न पाउने छन् । गृहिणीहरूको पारिवारिक जीवन सन्तोषप्रद रहने छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । प्रायः सबैका लागि आफन्त र इष्टमित्रलाई सन्तुष्ट तुल्याउने र प्रशंसा प्राप्त गर्ने समय हो, अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज चतुर्थ भावमा रहेको चन्द्रमाले घरगृहस्थीका झिनामसिना काममा खट्ने प्रेरणा प्रदान गर्नेछ । छरछिमेकी वा साथीभाइका क्रियाकलाप देखेर दिक्क मान्न सकिन्छ । कुनै किसिमको झैझगडा र वादविवाद हानिकारक बन्ने भएकाले सतर्क रहनु पर्छ । प्रेमसम्बन्ध वा रागात्मक मनोभावनाका कारणसमेत निराशा हुनेछ । गृहस्थीहरूका निमित्त भाइबहिनी र सन्तानपक्षका समस्या र क्रियाकलापसमेत चित्त बुझ्दो हुँदैन । छात्रछात्रालाई मनोरञ्जन र खेलवाडले बेफाइदा हुनसक्छ । तर परदेशमा बस्ने वा वैदेशिक रोजगारी गर्नेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । मातापिता वा अभिभावकसँग कुराकानी गरी खैखबर लिनु उचित हुनेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।