0 COMMENTS

वि.सं. २०७६ आषाढ १७ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जुलाई ०२ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन, खेलकुद पत्रकार दिवस, आज दक्षिणी तथा मध्य अमेरीकामा सूर्यग्रहण, आषाढ कृष्णपक्ष (तछलागा) अमावस्या तिथि, मध्यरात्रीपछि ०१:०३ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, मृगशिरा नक्षत्र, बिहान ०८:३२ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), बृद्धि योग, दिउँसो ०३:५३ बजेसम्म, त्यसपछि ध्रुव योग, सुरुमा चतुष्पाद करण दिउँसो ०१:४६ बजेसम्म, त्यसपछि नाग करण मध्यरात्रीपछि ०१:०३ बजेसम्म, अन्तिममा किंस्तुघ्न करण, आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:१४ बजे, सूर्यास्त : साँझ ०७:०१ बजे, दिनमान : ३४ घडी २९ पला (१३ घण्टा ४८ मिनेट, रात्रीमान : २५ घडी ३१ पला (१० घण्टा १२ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०३:३४ देखि ०५:१८ सम्म, मघण्ट : बिहान ०८:४१ देखि १०:२४ सम्म, गुलिक काल : दिउँसो १२:०८ देखि ०१:५१ सम्म, काल वारवेला : दिउँसो ०१:५१ देखि ०३:३४ सम्म, रोग वारवेला : बिहान ०५:१४ देखि ०६:५७ सम्म र साँझ ०५:१८ देखि ०८:१८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान १०:२४ देखि १२:०८ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । भोलि कुनै विशिष्ट चाडपर्व र उत्सव छैन र कुनै मुहूर्त पनि जुरेको देखिंदैन । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक काममा संलग्न हुनुपर्ला । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभको अवसर आउने छ । धार्मिक/सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । गृहिणीहरूको परोपकारी काममा दिलचस्पी बढ्न सक्छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मेवा मिष्ठान्न र परिकार मिल्नेछ । छात्रछात्राले प्रतिष्ठा बृद्धि गर्ने समय चल्दैछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नचिताएको ठाउँबाट धनलाभको सङ्केत छ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । गृहिणीहरूले कुनै धार्मिक सामाजिक कार्यमा सहभागी हुने दिन छ । मान्यजन वा गुरुपुरोहितबाट आशीर्वचन प्राप्त हुनेछ । व्यवसायीहरूको बन्दव्यापार फस्टाउने योग छ, विद्यार्थी र प्रतियोगीले परीक्षा र प्रतिस्पर्द्धामा हार व्यहोर्नु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन सबैले क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । छात्रछात्राका लागि बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो छ, तर मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । कर्मचारीले विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । नौलो र रमणीय स्थानको यात्रा पनि हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुपर्छ । दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु नै ठिक हुनेछ । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । छर–छिमेकमा पनि सानातिना असमझदारी बढ्ने योग छ । विद्यार्थीहरूले प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ, कल्पना र भावनामा केन्दित भइने छ । गृहिणीहरूले सानातिना सरसामान हराउने सम्भावना देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन । आर्थिक पक्ष सबल बन्नेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । गृहिणीहरूका लागि मायाप्रेमका लागि समय जुट्ने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । छात्रछात्राका लागि नयाँ ज्ञान प्राप्त हुने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनसक्छ । उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । छात्रछात्राको साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा मात्र कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । कर्मचारी र कामदारका लागि श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । पारिवारिक सम्बन्धमा आत्मीयता बढ्ने छ । जीवनसाथी वा बालबच्चालाई समय प्रदान गर्ने दिन हो, तिनीहरूको भावना बुझ्ने प्रयास हुनेछ । अभिभावक वा इष्टमित्रको शुभकामना र सहयोग प्राप्त हुनेछ । छात्रछात्राले प्रयास गरेका काममा शुभफल प्राप्त हुनेछ । गरेका काममा भाग्यले साथ दिनेछ । गृहिणीहरूको धार्मिक, सामाजिक वा सांस्कृतिक काममा रुचि बढ्ने छ । कर्मचारी र कामदारका लागि सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । व्यवसायीहरूका लागि आस मारेको काम पनि पूरा गर्ने साहस र हिम्मत पलाउने छ । नसोचेको ठाउँबाट आर्थिक लाभ हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रेमसम्बन्धमा निरसता छ । प्रायः सबैका लागि शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । स्वास्थ्यप्रति पनि सचेत हुनुहोला । आठौं घरमा रहेको चन्द्रमाको प्रभावले किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, लामो दूरीको यात्रा प्रारम्भ गर्नु हुँदैन । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, बोले/भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । छात्रछात्रा तुजुक देखाउने काममा मन लगाउने छन् । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । गृहिणीहरूमा पति, परिजन र सन्तानपक्षको सहयोग मिल्नेछ । कर्मचारीहरूले प्रशंसा, बढुवा वा जिम्मेवारी पाउने समय छ भने छात्रछात्राका लागि हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । प्रायः सबैको परिवारजन र आफन्तजनसँग आत्मीय सम्बन्ध कायम हुनेछ, तपाईंका विचार र भावनामा उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । आज पति वा पत्नीको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । व्यवसायबाट लाभ लिन सकिने छ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । मनमा शान्तिको अनुभूति हुनेछ । छात्रछात्राका लागि सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । गृहिणीहरूले लामो समयदेखि देखिएको घरायसी समस्या समाधान गर्नेछन्, माया र प्रेमको वातावरण तैयार हुनेछ । प्रायः सबैका लागि तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्ने समय छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । दूरदराजको यात्राको सम्भावना छ । वैदेशिक प्रयोजनका लागि गरिएको प्रयास सार्थक हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज खासगरी पठनपाठनमा संलग्न व्यक्तिहरूका लागि राम्रो दिन छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । गृहिणीहरूलाई भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बन्दव्यापारमा संलग्न व्यक्तिहरूले समय खेलबाड र मोजमज्जामा बिताउनु हुँदैन, नत्र झमेलामा पर्न सकिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादा र प्रतिष्ठाका लागि सङ्घर्ष गर्नुपर्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन । कर्मचारी र कामदारहरूका लागि हाकिम वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ, त्यस्तै किशोरकिशोरीलाई अभिभावक र मान्यजनका कुरा मन नपर्ने दिन छ, मनमा वैराग्य र निराशाका भाव सञ्चरण हुनसक्छन् ।गृहिणीहरूले परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।