0 COMMENTS

वि.सं. २०७६ आषाढ १२ गते बिहीबार तदनुसार ई. सं. २०१९ जुन २७ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : नेवारी पर्व नक्वादिशि, धनिष्ठा पञ्चक समाप्त बिहान ०५ बजेर ३२ मिनेटमा, आजको मूहुर्त : अग्निवास(होमादि), आषाढ कृष्णपक्ष (तछलागा) दशमी तिथि, मध्यरात्रीपछि ०३:३५ बजेसम्म, त्यसपछि एकादशी तिथि, रेवती नक्षत्र, बिहान ०५:३२ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा बिहान ०५ बजेर ३२ मिनेटसम्म, त्यसपछि मेष राशिमा, अतिगण्ड योग, बेलुका १०:१७ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा वणिज करण दिउँसो ०३:०६ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि ०३:३५ बजेसम्म, अन्तिममा बब करण, आनन्दादि योग : छत्र, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : उत्तर, वारशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:१२ बजे, सूर्यास्त : साँझ ०७:०१ बजे, दिनमान : ३४ घडी ३२ पला (१३ घण्टा ४९ मिनेट, रात्रीमान : २५ घडी २८ पला (१० घण्टा ११ मिनेट),

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०१:५० देखि ०३:३४ सम्म, यमघण्ट : बिहान ०५:१२ देखि ०६:५६ सम्म, गुलिक काल : बिहान ०८:३९ देखि १०:२३ सम्म, काल वारवेला : दिउँसो ०३:३४ देखि ०५:१७ सम्म, रोग वारवेला : बिहान ०६:५६ देखि ०८:३९ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : दिउँसो १२:०७ देखि ०१:५० सम्म, शुभ वारवेला : साँझ ०५:१७ देखि ०८:१७ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सुरुमा बाह्रौ भावमा र त्यसपछि आफ्नै घरमा चन्द्रमा रहने छ, त्यसैले मनमा देखिएका निराशा र खिन्नता अब क्रमशः हट्दै जाने समय आएको छ । आज मूलतः दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै रहने समय हो । बन्दव्यापार गर्नेहरूको नयाँ व्यवसायतर्फ मन आकर्षित हुनेछ । छात्रछात्राले पनि सुरुमा ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त हुने दिन छ, प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । प्रायः सबैको दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । गृहिणीहरूले परिजन र सहयोगीबाट सोचेजस्तै सरसहयोग पाउने छन् । आम्दानीमा कुनै कमी आउने छैन, समग्रमा खुसी र उमङ्ग रहने दिन नै देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
एकाबिहानै बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुने भएकाले आजको दिन सकारात्मक छैन । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । दिउँसो कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुनेछन् । तर तपाईंले प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा अलि बढी मिहिनेत गरेमा मात्र कर्मसिद्धि हुने देखिन्छ । श्रममूलक काम गर्नेहरूले गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क मान्नेछन् । गृहिणीहरूलाई सानातिना कामको झमेला आउनसक्छ, परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । छात्रछात्रा भ्रमण, पर्यटन र मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षित बन्ने समय चल्दैछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सुरुमा धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय हुनुपर्ने समय छ । मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । छात्रछात्राले सम्मान र साख आर्जन गर्ने दिन हो । कामदारहरूले अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । गृहिणीहरूले कुलकुटुम्ब र बन्धुवान्धवबाट सुखद समाचारहरू सुन्न पाउने छन्, देश/परदेशबाट पनि राम्रो समाचार आउने छ । वैदेशिक कामकाज सुल्झाउन र मुद्दामामिला वा प्रशासनिक समस्या हल गर्न राम्रो दिन छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज एकाबिहानै कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । गृहिणीहरूका लागि दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । छात्रछात्राको आत्मविश्वासमा अभिबृद्धि हुनेछ । अन्य सबैका लागि मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ, भविष्यका लागि गरिएको हरेक काममा सफल बन्ने समय हो।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज भाग्यभावमा चन्द्रमाको प्रवेश भएको छ, आजबाट रोकिएका काम पुनः बन्न थाल्नेछन् तर पनि दिन मिश्रित फलदायी रहेको देखिन्छ । उतारचढाव आएपनि बन्दव्यापार र रोजगारीको क्षेत्रबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले खासगरी गृहिणीहरूले व्यवहारमा संयमता अपनाउनु राम्रो हो । छात्रछात्राले गरेको प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्न सक्छ । प्रायः सबैको मनमा परोपकारी भावना उत्पन्न हुनसक्छन् वा त्यस्तै कुनै काममा खट्नु पर्नेछ । आज तपाईंले कसैलाई ज्ञान र अर्ति दिनुभयो भने पनि उसले त्यसबाट लाभ पाउने समय छ । घरायसी सम्बन्ध राम्रै रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
उदयकालको चन्द्रमा सातौं भावमा रहेकाले मनमा उत्साह र उमङ्ग नै देखिने छ । छात्रछात्राको सामान्यतया बौद्धिक क्षेत्रमा राम्रै देखिन्छ । सबैले हाँकेका/ताकेका काममा उपलब्धी नै हासिल गर्नेछन् । मध्याह्नसम्म सबै पक्षमा शुभफल नै प्राप्त हुनेछ, तर बिहान नै आठौं घरमा प्रवेश गरेको चन्द्रमाको नकारात्मक प्रभाव प्राप्त हुने भएकाले दिन ढल्दै जाँदा मानसिक रूपमा विचलन आउने सम्भावना देखिन्छ, आवेश, रिसराग र उत्तेजनामाथि नियन्त्रण गरेको जाति हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । गृहिणीहरूको पतिसित वैचारिक मतभेद हुनसक्छ, तर छिट्टै सहमति जुट्ने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्ण दिन हो । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । छात्रछात्रा तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय हुनेछन् । गृहिणीहरूको पनि दिनभरि मन प्रफुल्ल रहनेछ, शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । सबैका लागि व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । कर्मचारीहरूको कामको चाप घट्ने समय हो, अब खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ । प्रेमभाव र प्रणयसुखका लागि अनुकूल समय छ । बेलुकीपख मन चञ्चल बन्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्राज्ञिक क्षेत्रका व्यक्ति र छात्रछात्राको बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा नै दिन बित्नेछ, गृहिणीहरूले पनि घरपरिवारबाट सहयोग पाउने समय छ । तर छैटौं भावमा चन्द्रमाको प्रवेश भएकाले बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनसक्छ । कारोबारीहरूलाई आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । अन्य सबैमा रिस, अहंकार र चिडचिडेपन बढ्ने समय हुनेछ । नयाँ जोडी वा नवीन प्रेममा खटपटी बढ्ने समय हो, छटपटी र असन्तुष्टि बढ्ने समय छ, त्यसैले आत्मबल र संयमता गुमाउनु हुँदैन । आज कसैले पनि व्यर्थमा तर्क वा बहस नगर्नु होला, किनभने सानो किचलोले ठूलो रूप लिने समय देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बिहान निराशाको अनुभूति हुनेछ, घरिघरि रिस र आवेशको सिकार पनि बन्नसक्नु हुन्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । गृहिणीहरूलाई पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । सन्ततिका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । प्रणयप्रसङ्गमा देखिएको निराशाको समाप्ति हुनेछ । आर्थिक मामिलामा सुधार आउने छ । विद्यार्थीहरूको पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्रायः सबैले बौद्धिक र सृजनात्मक क्षमता बृद्धि गर्न सकिने दिन छ । याद गर्नुहोस्, आजको चिन्तन र उपायले केही न केही काम सपार्ने सङ्केत छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सुरुमा तेस्रो भावमा चन्द्रमा रहेकाले सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर आज बिहानै चौथो भावमा चन्द्रमाको प्रवेश हुने भएकाले असहज परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । छात्रछात्रा भावुक बन्नेछन्, गृहिणीहरूको पनि प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
गृहिणीहरूका लागि आज सामाजिक काममा खट्ने समय आएको छ, त्यस्तै धार्मिक/सामाजिक क्षेत्रबाट जस पाउने सम्भावना पनि देखिन्छ । बन्दव्यापारमा संलग्न हुनेहरूले व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । प्रायः सबैले मातापिता वा अभिभावकवर्गबाट आशीर्वचन र सामीप्य पाउने समय देखिन्छ । स्वास्थ्यस्थितिमा पनि सकारात्मक सङ्केत छ । कामकाजी व्यक्तिको चाहनाबमोजिम कार्य सम्पन्न हुनेछ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । आत्मीयजनहरूसँग भेटघाट हुनेछ । विद्यार्थीहरूलाई साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन्, त्यस्तै गुरुजन र मान्यजनको सहानुभूति मिल्नेछ । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिउँसोबाट आम्दानी र लाभ हुने विषयमा ध्यानकेन्द्रित हुनसक्छ, दिन खासै नराम्रो नभएकाले जोस र जाँगरको संयमताका साथ प्रयोग गरी अघि बढ्नु उचित हुने छ । याद गर्नुहोला, आज गरेको जुनसुकै काम ढिलो गरी सम्पन्न हुनेछ । आर्थिक पक्ष बलियो नभए पनि केही लाभमूलक काम बन्ने सम्भावना छ । विभिन्न सामाग्री किनमेल गर्दा महँगोमा पर्न सकिन्छ । पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । गृहिणीहरूलाई कुटुम्बपक्षका क्रियाकलाप देखेर चित्त नबुझ्न सक्छ । छात्रछात्राले बोलीमा संयमता अपनाउनु राम्रो हो । त्यस्तै मुख र घाँटीमा रोग लाग्ने खतरा छ, त्यसैले चिसो चिजबीजको खानपानमा नियन्त्रण गर्नु राम्रो हुनेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।