0 COMMENTS

काठमाडौं ११असार/ गत सातादेखि लगातार उकालो लाग्दै आएको सुनको मूल्य बढ्ने क्रम जारी छ । सोमबार प्रतितोला ६५ हजार रुपैयाँ रहेको सुनको मूल्य मंगलबार तोलामा ५ सय बढेर ६५ हजार रुपैयाँ ५ सय पुगेको हो ।

 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको असर स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार तोलामा ६५ हजार ५ सय मूल्य अहिलेसम्मकै रेकर्ड हो । महासंघका अध्यक्ष मोहन विश्वकर्माले अमेरिका र इरानबीच भएको द्वन्द्वका कारणले सुनको मूल्य अकासिएको बताए ।

“गत सातादेखि सुनको मूल्य लगातार बढ्दै गएको छ,” उनले भने, “मूल्यवृद्धि भइ कारोबार कम हुँदा व्यवसायीलाई असर परेको छ ।” सुनको मूल्य बढ्दा व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर परेको उनको भनाइ छ । लगनको समय भएपनि मूल्य बढेकाले बजारमा सुनको माग एकदम न्यून छ । उनले भने, “अहिले नयाँ गहना भन्दा पनि पुराना गहना बेच्नेको भीडभाड धेरै छ ।” महासंघका अनुसार लगनको समयमा दैनिक ३० देखि ४० किलो सुनको कारोबार हुने गरेकोमा अहिले बजारमा सुनको कारोबार नै ठप्प जस्तो भएको छ । सधैँजसो भीडभाड हुने न्यूरोड लगायतका क्षेत्रका सुन पसलमा यतिबेला सुनसानजस्तै छन् ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंश १४०४ डलर रहेको सुनको मूल्य मंगलबार १४३५ डलर पुगेको छ । अमेरिका र इरानबीचको युद्धका कारण लगानीकर्ता सुनमा आकर्षित भएपछि मूल्यमा प्रभाव परेको हो । सुनको मूल्य बढेर प्रतिऔंश १५०० डलरसम्म पुग्ने विज्ञहरूले अनुमान गरेका छन् । सो अनुमान सावित भएमा स्थानीय बजारमा सुनको मूल्य तोलामै ७० हजारसम्म पुग्ने विज्ञहरूको अनुमान छ ।

यसअघि २०७० भदौ १२ गते सुनको मूल्य तोलामै ६३ हजार ३ सय पुगेको थियो । मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पनि ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।