0 COMMENTS

कोलकाता, असार ०८ । जादु देखाउनका लागि आफूलाई पिँजडामा थुनेर नदीमा डुबेका जादुगर बेपत्ता भएका छन् ।समाचार एजेन्सीहरुका अनुसार भारतको पश्चिम बंगाल राज्यस्थित सोनारपुर निवासी जादुगर चञ्चल लाहिडी आइतबार हुगली नदीमा बेपत्ता भएका हुन् । उनी तालासहितको पिँजडामा थुनिएर नदीमा डुबेको अवस्थामा सकुशल बाहिर निस्कने जादु देखाउने अभियानमा थिए ।

४१ वर्षीय लाहिडीले यस प्रकारको कला यसअघि नै सफलतापूर्वक देखाइसकेको बताइन्छ ।भारतीय सञ्चारमाध्यमका अनुसार उनले आइतबार हावडा पुल मुनी उक्त कला देखाउने योजना बनाएका थिए । प्रहरीले अनुमति नदिएका कारण उनी केही पर गएर आफ्नो कला देखाउने अभियानमा थिए ।

उनलाई सहयोगीहरुले हातखुट्टा बाँधेर पिँजडामा थुनिदिएका थिए । उक्त पिँजडामा ताला लगाएर क्रेनको मद्दतमा सो पिँजडासहित उनलाई नदीमा डुबाइएको थियो ।

उपस्थित दर्शकहरु उनी सो पिँजडाबाट बाहिर निस्किएको दृष्य हेर्न आतुर थिए । लामो समयसम्म पनि ‘जादु’ कै कारण उनी अन्यत्र पुगेर निस्किएको हुन सक्ने भन्दै दर्शकहरु उनको प्रतीक्षामा बसिरहे ।

अन्ततः उनी आएनन् । त्यसपछि गोताखोर र उद्धारकर्मीसहितको टोलीले उनको खोजतलास सुरु गरेको बताइन्छ । उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।