0 COMMENTS

काठमाडौं३०साउन०७५/ सामाजिक सञ्जालमा विभिन्न नेता तथा चर्चित व्यक्तिको फोटो बिगारेर सार्वजनिक गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिमाना वा दुवै सजाय हुने भएको छ । मुलुकी ऐनलाई विस्थापित गरेर १ भदौदेखि लागू हुने अपराध संहिताले यस्तो व्यवस्था गरेको छ ।
मुलुकी अपराध संहिताको दफा २९५ को उपदफा ३ अनुसार कुनै पनि व्यक्तिको फोटोमा अर्को व्यक्ति वा अन्य वस्तुसँग जोड्ने र प्रकाशन गर्नेलाई सजाय हुने व्यवस्था गरेको छ । ‘कसैले एकको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रूपको तस्बिर बनाउनु वा प्रकाशन गर्नुहुँदैन,’ संहितामा उल्लेख छ ।

फोटो खिचेर अरूलाई दुःख दिने उद्देश्यले फोटोको दुरुपयोग गरेमा तीन वर्षसम्म कैद वा ३० हजार जरिमाना वा दुवै सजाय हुने व्यवस्था संहिताले गरेको छ । ‘कसैले कुनै व्यक्तिको तस्बिर निजको अनुमतिबिना अरूलाई दिन वा बिक्री गर्न वा निजलाई झुक्याउने वा सताउने, हैरान पार्ने वा निजबाट अनुचित फाइदा लिने वा तस्बिरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन गर्नु, प्रचार वा खरिदबिक्री गर्नुहुँदैन,’ संहितामा भनिएको छ ।
संहिताले अनुमतिबिना कसैको फोटो खिच्न पनि निषेध गरेको छ । कसैको फोटो खिच्न वा अरू फोटो जोड्न पनि कानुनले प्रतिबन्ध लगाएको छ । यस्तो कसुर गरेमा एक वर्ष कैद वा १० हजार जरिमाना गरिएको छ । सार्वजनिक स्थानको फोटो खिच्दा कसैको फोटो देखिएमा भने कानुन नलाग्ने संहितामा उल्लेख छ ।
ऐनमा अर्काको कुरा सुन्ने, रेकर्ड गर्ने र फोटो खिच्नेलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिमानाको सजाय तोकिएको छ । यो व्यवस्थाले खोज पत्रकारितामा भने ठेस लाग्ने भन्दै पत्रकारका संघसंस्थाले विरोध गर्दै आएका छन् ।

संहिताको दफा २९३ को उपदफा १ मा उल्लेख छ ‘कसैले दुई वा दुईभन्दा बढी व्यक्तिका बीचमा भएका कुनै कुरा अधिकारप्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिको मञ्जुरीबिना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनि अंकन गर्नुहुँदैन ।’ दुई वा दुईभन्दा बढी व्यक्तिबीचको कुराकानीमा भाषण भने नपर्ने ऐनमा उल्लेख गरिएको छ । अरूको कुरा सुन्ने कसुर गर्ने र गराउने दुवैथरिलाई दुई वर्षसम्म कैद वा २० हजार जरिमाना वा दुवै हुने सजाय हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।