0 COMMENTS

काठमाण्डाै २३साउन०७५/  राष्ट्रियसभा बैठकमा सांसदहरूले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानका बारेमा सरकारलाई ध्यानाकर्षण गराएका छन्।बैठकमा विशेष समय लिएर बोल्दै सांसद राधेश्याम अधिकारीले कञ्चनपुरमा बालिका बलात्कारको विषयमा सरकारको धारणा सदनलाई जानकारी गराउन माग गर्दै काँडाघारीमा पछिल्लो पटक निशान खड्काको हत्या प्रकरणमा जोडिएका पात्र र प्रवृत्तिका बारेमा पनि उचित जवाफ गृहमन्त्रीले दिनुपर्ने माग गरे।

राजनीति गणितका आधारमा नचल्ने भन्दै सांसद देवले राजनीतिलाई गणितको आधारमा नचलाउन आग्रह गरे। सांसद वृजेशचन्द्र लालले तराई मधेशका नागरिकले नागरिकता नपाएकोमा गुनासो गरे।

बैठकमा सांसद चक्रप्रसाद स्नेहीले हलिया मुक्तिको घोषणा गरिएको लामो समय भए पनि उनीहरुको उचित व्यवस्थापन नभएकामा गुनासो गरे।सरकारले हलियालाई तीन लाख रुपैयाँ र घर मर्मतका लागि एक लाख रुपैयाँ दिने व्यवस्था गरेको भए पनि सरकारी कर्मचारीले सोही रकममा समेत घुस मागेको भन्दै उनले आपत्ति प्रकट गरे। सांसद स्नेहीले घुस माग्ने सरकारी कर्मचारीलाई कडा कारवाही गर्न माग गरे।

सांसद विमला राई पौडेलले कञ्चनपुरमा पटकपटक बालिकाको बलात्कारपछि हत्या भएको भन्दै सरकारले कुनै पनि अपराधका बारेमा जानकारी नदिएको भन्दै गुनासो गरिन्।

उनले बलात्कारको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न र सत्यतथ्य छानबिन गर्न माग गरिन्। बलात्कार गर्नेलाई कडा कारवाही गर्न आग्रह गर्दै उनले विद्यमान कानूनमा सजाय कम भएकाले जन्मकैदको व्यवस्था गर्न सुझाव दिइन्।

सांसद भैरवसुन्दर श्रेष्ठले गत शनिबार जाजरकोट जिल्लामा पहिरोमा परी नौ जनाको निधन भएको भन्दै अव्यवस्थित तवरले निर्माण गरिएका सडकका कारण पहिरो आउने क्रम बढ्दै गएको सदनलाई जानकारी गराए।

उनले निर्माण व्यवसायीको लापर्वाहीका कारण जाजरकोट–जुम्ला सडकखण्ड अवरुद्ध भएको, जाजरकोट–डोल्पा जोड्ने सडकखण्डमा समेत निर्माण व्यवसायीले ज्यादती गरेको र पहिरोको कारण समस्या पैदा भएको भन्दै त्यस्ता व्यवसायीलाई कारवाही गर्न माग गरे।

सांसद रामलखन चमारले नवलपरासीको गण्डक नहरका कारण भएको कटान, डुबानका कारण स्थानीयवासी समस्यामा परेको, समस्या समाधानका लागि पहल नभएको भन्दै गुनासो गरे।

गण्डक नहरका सम्बन्धमा भएको सम्झौता कार्यान्वयन गर्न भारत सरकारले तदारुकता नदेखाएको भन्दै सांसद चमारले सत्यतथ्य जानकारी गराउन सरकारसँग माग गरे।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।