0 COMMENTS

काठमाडौँ ०८साउन०७५/ संगठन संरचना लेनिनवादी संगठनात्मक सिद्धान्तमा आधारित जनवादी ढाँचामा लैजाने भने पनि नेपाल कम्युनिस्ट पाटी (ने क पा)ले सचिवालयलाई पार्टीको शक्तिशाली अंग बनाएको छ । भर्खरै छापिएको विधानमा ने क पाले ९ सदस्यीय सचिवालयलाई शक्तिशाली अंग बनाएको हो ।

विधानको धारा १८ को (ज)मा केन्द्रीय सचिवालयको अधिकार बाँडफाँड गरिएको छ । दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक महासचिव र एक प्रवक्तासहित ९ सदस्यीय सचिवालयलाई १० वटा अधिकार प्रत्यायोजन गरिएको हो । जबकी यसअघि शक्तिशाली मानिएको स्थायी समितिलाई पाँचवटामात्रै अधिकार दिइएको छ ।

विनियोजित अधिकारअनुसार केन्द्रीय सचिवालयले केन्द्रीय कार्यालय सञ्चालन गर्नेछ । केन्द्रीय स्तरका कार्ययोजना, कार्यक्रम आदि तयार पार्नेछ । केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी बैठकको एजेन्डा तयार पार्ने, केन्द्रीय विभाग, मातहत कमिटी, संसदीय दल, संयन्त्र, कार्यदललगायतका कामको प्रतिवेदन तयार पारी स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने दायित्व पनि सचिवालयकै भागमा छ ।

स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीका बैठकबीचको अवधिमा राजनीतिक तथा संगठनात्मक निर्णय पनि सचिवलायले नै लिनेछ । र, सो निर्णय तल्ला कमिटीबाट अनुमोदन गराउने व्यवस्था छ ।
समसामयिक विषयमा पार्टीको धारण सार्वजनिक गर्ने, अन्तरापार्टी निर्देशन (अपानी) जारी गर्ने काम पनि सचिवालयलाई नै जिम्मा दिएको छ ।

बैठकको अध्यक्षता दुवै अध्यक्षल गर्ने

त्यस्तै विधानको धारा १८ कै खण्ड (झ)मा अध्यक्षको काम, कर्तव्य र अधिकार तोकिएको छ । अध्यक्षलाई ७ अधिकार दिइएको छ । जसमध्ये बैठकको अध्यक्षता दुवैले गर्नेछन् । सल्लाहमा एक अध्यक्षलेमात्रै पनि बैठकको अध्यक्षता गर्न सकिने प्रावधान छ । त्यस्तै निर्देशनमा दुवैले या सल्लाहमा एकलेसमेत हस्ताक्षर गर्न सकिने प्रावधान विधानमा छ ।
यसअघि केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी, सचिवालय र राष्ट्रिय परिषद्समेत पाँचवटै बैठकको अध्यक्ष आलोपालो गर्ने बताइए पनि विधानले त्यसलाई खण्डन (अस्वीकार) गरेको हो ।

महासचिव शक्तिशाली

विधानको धारा १८ को खण्ड (ट)मा महासचिवको अधिकार तोकिएको छ । दिइएको अधिकारमा पाँचवटै बैठकको कार्यसूची तयार पार्ने, बैठकका निर्णयको कार्यान्वयनको कार्ययोजना तयार पार्ने, बैठकमा संगठनात्मक प्रतिवेदन तयार पार्ने, बैठकका निर्णय कार्यान्वयन गर्न अध्यक्षलाई सघाउनेलगायत छन् । विधानअनुसार महासचिवलाई पाँच अधिकार प्रत्यायोजन गरिएको छ भने प्रवक्ताका दुई अधिकारमात्रै छन् ।

एकताको राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका निर्णय सार्वजनिक गर्ने, पार्टीका आधिकारिक निर्णय र धारणा सार्वजनिक गर्ने अधिकार प्रवक्तलाई तोकिएको छ ।

९ निकाय, ३२ विभाग

ने क पामा ९ निकाय रहनेछन् । एकताको राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन, लेखापरीक्षण, निर्वाचन आयोग रहनेछन् । त्यस्तै राष्ट्रिय परिषद्, सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्च रहनेछन् ।
दुई वर्षभित्र एकताको महाधिवेशन सम्पन्न गर्ने र महाधिवेशनको मिति र प्रतिनिधित्व केन्द्रीय कमिटीले तोके बमोजिम हुने विधानले बताएको छ । त्यस्तै पार्टी नियमावलीको परिच्छेद सातमा ३२ वटा विभागको व्यवस्था गरिएको छ ।

जसअनुसार निम्न विभाग रहनेछन्–
१. अर्थ तथा योजना विभाग
२. उद्योग तथा वाणिज्य विभाग
३. उपभोक्ता हित तथा आपूर्ति विभाग
४. कृषि तथा भूमिसुधार विभाग
५. कोष तथा आर्थिक व्यवस्थापन विभाग
६. खानेपानी तथा सरसफाई विभाग
७. जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग
८. निर्वाचन विभाग
९. न्याय, कानुन तथा मानव अधिकार विभाग
१०. पर्यटन प्रबद्र्धन तथा नागरिक उड्डयन विभाग
११. प्रचार तथा प्रकाशन विभाग
१२. प्रादेशिक मामला विभाग
१३. पार्टी स्कुल विभाग
१४. पुस्तकालय तथा अभिलेख विभाग
१५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
१६. युवा तथा खेलकुद विभाग
१७. राजकीय मामला तथा सुशासन विभाग
१८. राष्ट्रिय सुरक्षा प्रबद्र्धन विभाग
१९. वन तथा वातावरण विभाग
२०. विज्ञान तथा प्रविधि विभाग
२१. विदेश मामला विभाग
२२. शिक्षा तथा मानवस्रोत विभाग
२३. श्रम तथा रोजगार विभाग
२४. संगठन विभाग
२५. संघीय संसदीय विभाग
२६. समाज कल्याण विभाग
२७. सहकारी तथा गरिबी निवारण विभाग
२८. सहरी विकास विभाग
२९. सामान्य प्रशासन विभाग
३०. साहित्य, कला तथा संस्कृति विभाग
३१. स्थानीय तह विभाग
३२. स्वास्थ्य तथा जनसंख्या विभाग

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।