0 COMMENTS

काठमाडौं११, असार ०७५/ ल्यान्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने रासससँग बताए ।

‘प्रहरीमा उजुरी परेर अदालतले आवाजको अभिलेख राख भनेमात्र यस्तो प्रविधि जडान हुन्छ । सबै टेलिफोन र मोबाइलको यस्तो अभिलेख राख्ने प्रविधि, उपकरण एवं भौतिक संरचना पनि टेलिकमसँग छैन’–उनले भने ।

ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख पनि सम्बन्धित ग्राहकबाहेक अरुलाई नदिइने गरेको टेलिकमले जनाएको छ ।

प्रहरीमा परेको उजुरी र अदालतमा मुद्दा परेको अवस्थामा भने ती संस्थाले लेखेको पत्रका आधारमा यस्तो अभिलेख उपलब्ध गराउने अभ्यास छ ।

विभिन्न देशका अनुसन्धानसँग सम्बन्धित संस्था (इन्टेलिजेन्स)ले भने सूचना लिने प्रयोजनका लागि यस्तो प्रविधि जडान गर्ने गरेका छन् ।

प्रविधिको विकाससँगै उत्पादन भएका आधुनिक मोबाइलका सेटमा भने आवाज नै रेकर्ड गरेर राख्ने एप्स जडान गरिएको छ ।

यसरी जडान गरिएको एप्सका आधारमा मानिसले विभिन्न विषयका कुराकानीको आवाज राख्ने गरेका छन् । यसरी राखिएको आवाजलाई टेलिकमको प्रविधिले गरेको भनी नबुझ्न पनि उनले सबैमा अनुरोध गरे ।

संविधानको मौलिक हकमा व्यवस्था भएको गोपनीयताको हकबमोजिम टेलिकमका ल्यान्डलाइन टेलिफोन र मोबाइलमा कुराकानी गर्न सुरक्षित रहेको सहप्रवक्ता अधिकारीले बताए ।

विद्यालय तहमा इ–क्लास सेवा उपलब्ध गराउने

नेपाल टेलिकमले विद्यालय तहमा पढाइने पाठ्यक्रममा इ–क्लास सेवा उपलब्ध गराउने भएको छ ।

विद्यार्थीलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटरका माध्यमबाट उपलब्ध गराइ सिक्न सघाउने उद्देश्यले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास इ–क्लास सेवा उपलब्ध गराउने भएको हो ।

इ–क्लास विद्यार्थीलाई कम्प्युटरका माध्यमबाट उपलब्ध गराइ सिक्न सघाउने एक सिकाइ थलो ‘प्लेटफर्म’ भएको टेलिकमले सोमबार एक विज्ञप्तिमार्फत् जनाएको छ ।

उक्त प्लेटफर्मको माध्यमबाट उपलब्ध गराइने शैक्षिक सामग्री श्रव्य, दृश्य माध्यममा हुने भएकाले बालबालिकालाई रुचिपूर्ण र बुझ्न तथा सम्झन सहज हुने कम्पनीको अपेक्षा छ ।

विद्यालयमा पढ्नुपर्ने पाठमा आधारित ‘क्वीज’ र ‘गेम’ पनि यसमा उपलब्ध छन् ।

टेलिकमका ग्राहकले इन्टरनेटको प्रयोग गरी मोबाइल फोन र ट्याब्लेटमार्फत मिदास इ–क्लास प्रयोग गर्न सक्नेछन् ।

मिदास इ–क्लासमा शिशु कक्षा (प्लेग्रुप) देखि कक्षा–१० सम्मका विभिन्न विषय समावेश गरिएको छ ।

मिदास इ–क्लासको सहयोगले बालबालिकाले नबुझेका विषयवस्तुकाबारेमा अनलाइनमार्फत् शिक्षकसँग सम्पर्क गरी सिक्नसक्ने, शिक्षकले विद्यार्थीका लागि आवश्यक पाठ्यसामग्री यसैमार्फत् उपलब्ध गराउन सक्नेछन् ।

त्यसैगरी, अभिभावकले पनि शिक्षकसँग अन्तरक्रिया गरी सिकेर आफ्ना बालबालिकालाई सिकाउनसक्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मिदास इ–क्लासको प्रयोग गर्नका लागि ‘गुगल प्ले स्टोर’मार्फत् मिदास इ–क्लास एप डाउनलोड गर्नुपर्छ ।

यो सुविधा यही असार १२ देखि उपलब्ध हुनेछ । नेपाल टेलिकमका ग्राहकले दैनिक रु १५, साप्ताहिक रु ७० र मासिक रु २५० मा यो सुविधा खरिद गर्न सक्नेछन् ।

इन्टरनेटको माध्यमबाट सामग्री उपलब्ध गराइने भएकाले ग्रामीण तथा दुर्गम स्थानका बालबालिकालेसमेत सहजै शैक्षिक सामग्री प्राप्त गरी लाभान्वित हुने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।