0 COMMENTS

Nepal-Telecome२९ असार, काठमाडौं -विनाशकारी भूकम्पपछि राजधानीमा घरधनीको मागबमोजिम नेपाल टेलिकम, एनसेल र युटिएल कम्पनीका ७२ टेलिफोन टावर झिकिएपछि मोबाइल नेटवर्कमा समस्या देखिएको छ।
 

भूकम्पका बेला अग्ला घरको छतमा जडान गरिएका टेलिफोनका टावर हल्लिएपछि त्यसबाट थप क्षति हुने त्रासले सयौँ घरधनीले त्यस्ता टावर हटाउन सम्बन्धित टेलिफोन कम्पनीमा निवेदन दिएका छन् ।
 
घरधनीको मागपछि जोखिममा रहेका घरबाट काठमाडौं उपत्यकामा नेपाल टेलिकमका ३७, एनसेलका २८ र युटिएलका सात टावर झिकिएको टेलिफोनको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए।
 
प्राधिकरणले घरधनीको माग बमोजिम जनधनको क्षति हुन नदिन इन्जिनियरमार्फत जाँच गराई जोखिमयुक्त घरमा टावर राख्ने-नराख्ने बारेमा अध्ययन भइरहेको अध्यक्ष झाले बताए। कतिपय टावर झिकिएका स्थानमा मोबाइल ट्राफिक जामले मोबाइल सेवाको स्तरीयतामा कमी आएको जानकारी दिँदै उनले त्यसको समाधानका लागि आवश्यक काम भइरहेको बताए।
 
झिकिएका टावरमध्ये सबैभन्दा बढी कलङ्की, गोङ्गबु, वसुन्धारालगायतका क्षेत्रका छन्। टावर झिकिएपछि राजधानीका मोबाइलका ग्राहकले ठूलो समस्या व्यहोर्नुपरेको गुनासो गरेका छन् ।
 
उपत्यकाका तीन जिल्लामा मोबाइल फोनको सुविधाका लागि हाल नेपाल टेलिकमका ४४३, एनसेलका ३४७ र युटिएलका ४५ टावर जडान गरिएका छन् । यसमध्ये ९५ प्रतिशतभन्दा बढी टावर घरको छतमाथि नै छन् ।
 
त्यस्ता टावर औसतमा आठ मिटर अग्ला र दुई सयदेखि एक टनसम्म वजनका छन् । टेलिफोन कम्पनीले मोबाइलकर्ताको घनत्वका आधारमा उपत्यकामा करिब पाँच सय मिटरको दूरीमा आ–आफ्ना टावर राखेका छन्। नेपाल टेलिकमले टावर राखेबापत घरधनीलाई मासिक दुईदेखि २० हजारसम्म भाडा तिर्ने गर्छ ।
 
हाल उपत्यकामा नेपाल टेलिकमका करिब ४० लाख, एनसेलका १७ लाख ६० हजार र युटिएलका दुई लाख मोबाइल प्रयोगकर्ता छन् ।
 
भूकम्पपछि नेपाल टेलिकममा मात्र दुई सयभन्दा बढी घरधनीले आफ्नो घरमाथिका टावर हटाउन निवेदन दिएको टेलिकमको मोबाइल सेवा निर्देशनालयका नायब महाप्रबन्धक प्रेमप्रसाद सिलवालले जानकारी दिए। भूकम्पमा टावरले घरमा क्षति नभए पनि संरचनागत क्षति भएका घरधनीले आत्तिएर त्यस्तो निवेदन दिएको उनले बताए। अझ कतिपय धरधनीले आफ्नो मागबमोजिम नझिकिएका टावरमा विद्युत् सेवासमेत अवरुद्ध गरिदिँदा नेटवर्कमा थप समस्या परेको छ ।
 
हाल टेलिफोन कम्पनीहरुले आत्तिएर निवेदन दिने घरधनीसँग टावर हटाउने विषयमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । टावर झिकिएका स्थानमा टेलिकमले मोबाइल सेवाको गुणस्तर सुधार्न युद्धस्तरमा काम गरिरहेको बताउँदै उनले सात घरधनीसँग नयाँ सम्झौता भइसकेको जानकारी दिए।
 
एनसेलका २८ टावर झिकिएपछि मोबाइल नेटवर्कमा देखिएको समस्या समाधानका लागि के प्रयास भइरहेका छन् भन्ने सम्बन्धमा राससले पटक पटक प्रयास गर्दा पनि कम्पनीले कुनै जानकारी दिन मानेन।
 
एउटै टावरमा चार कम्पनीका मोबाइलका एन्टेना राख्न सकिन्छ। तर कानुनी प्रावधान नहुँदा हाल सबै कम्पनीले आ–आफ्ना टावर राखेका छन्। टावरलाई आवश्यक बिजुली÷ब्याट्रीको खपत जोगाउन, त्यसबाट निस्कने प्रदूषण (इलेक्ट्रो म्याग्नेटिक रेडिएसन) नियन्त्रण गर्न र सहरको कुरुप हटाउन प्राधिकरणले भूकम्पअघि नै निर्देशिका बनाए पनि हालसम्म पारित हुन सकेको छैन ।
 
दूरसञ्चार क्षेत्रमा पूर्वाधारको सहप्रयोग तथा मापदण्ड निर्धारण गर्न २०६८ सालमा सूचना तथा सञ्चार मन्त्रीको अध्यक्षतामा विभिन्न आठ मन्त्रालयका सचिव रहने ‘पूर्वाधार प्रवद्र्धन समिति’ बनेको थियो । समितिको एउटा पनि बैठक नबस्दा उक्त निर्देशिका पारित हुन नसकेको अध्यक्ष झाको गुनासो छ ।
 
निर्देशिकामा टावरमात्रै जडान गरी भाडामा दिन मिल्ने छुट्टै स्वतन्त्र कम्पनीको व्यवस्था छ । “निर्देशिका पारित भए टेलिफोन कम्पनीले टावर जडान गर्ने ध्यान गुणस्तर सुधारमा केन्द्रित गर्न सक्छन,” अध्यक्ष झाले भने।
 
हाल टावरसँगै शक्ति सञ्चयलाई राखिने सयौँ केजी वजनका ब्याट्रीलाई प्राधिकरणले भुइँतलामा राख्न सुझाव दिएको छ। हाल देखिएको टावर समस्या समाधान गर्न प्राधिकरणले भविष्यमा धेरै टावरको काम एउटैले गर्ने मोनोपोल टावर (सानो क्षेत्रफलमा अग्लो टावर) निर्माण गर्ने योजना अघि सारेको छ । रासस/ सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।