0 COMMENTS

बेँसीशहर, लमजुङ, २० माघ ०७४/ जिल्लामै दोस्रो पटक मञ्चन भएको थिएटर नाटक ‘पानीघट्टा’ दुई हजारभन्दा बढीले हेरेका छन् ।

गत बुधबारदेखि आजसम्म मञ्जरी नाट्य समूहले मञ्चन गरेको नाटक ‘पानीघट्टा’ हेर्न दर्शकहरूको भिड लागेको हो ।

थिएटरको अभावमा जिल्ला समन्वय समितिको हललाई सजावट गरी नाटक मञ्चन गरिएको थियो । पाँच पटकसम्म प्रदर्शन गरिएको नाटक हेर्नका लागि राजनीतिक दलका नेता, कर्मचारी, व्यवसायी एवं शिक्षक विद्यार्थीहरूको भिड लागेको थियो ।

नाटकमा वर्षौँअघिको गाउँले जीवनशैली, हालको वैदेशिक रोजगारमा युवाहरूको पलायन र स्थानीय लोक संस्कृतिलाई अभिनयमार्फत प्रस्तुत गरिएको थियो । नाटकमा लोप हुँदै गएको परम्परागत पानीघट्टालाई केन्द्रित गरी कथा तयार पारिएको थियो भने लमजुङको लोपोन्मुख ठाडो भाकालाई पनि समावेश गरिएको थियो ।

७५ मिनेट लामो नाटकमा मञ्जरी नाट्य समूहका १४ जना कलाकारले अभिनय गरेका छन् । नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गर्नुभएको हो । नाटकमा सामाजिक यथार्थतालाई समेटिएको भन्दै उत्कृष्ट रहेको प्रतिक्रिया दर्शकहरूले दिएका छन् ।

नाटक पानीघट्टा भारतको कोलकातामा फेब्रुअरी २३–२५ सम्म हुने अन्तर्राष्ट्रिय नाटक महोत्सवका लागि पनि छनौट भएको छ । सडक नाटक, लघु नाटक, मेला तथा महोत्सवमा सामाजिक क्षेत्रलाई समेटेर नाटक प्रदर्शन गर्दै आएको मञ्जरी नाट्य समूहले यसअघि ‘फड्के’ नामक थिएटर नाटक प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।