0 COMMENTS

बैतडी, ५ माघ ०७४/ बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ ।

स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक गाउँपालिकाले दिएको थप रु एक हजार प्रोत्साहन भत्ता वितरण गरिसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताउनुभयो । उहाँले भन्नुभयो “आव २०७४÷७५ को साउनदेखि ४८ जना आमालाई सो रकम वितरण गरिसकेका छौँ ।”

गाउँपालिकाको यो निर्णयले दोगडाकेदार गाउँपालिकाका महिला निकै खुशी भएका छन् । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिएबापत गाउँपालिकाले प्रोत्साहन भत्ता दिँदा जन्मिएका बालबालिकालाई न्यानो लुगा किन्न सजिलो भएको दोगडाकेदार–६ का रुवसी विकले बताउनुभयो ।

“पैसा कमै भएपनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो”, उहाँले भन्नुभयो “दोगडाकेदार गाउँपालिकाले छोरी जन्मिँदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको छ ।”

यो कार्यले आमालाई पनि साहस प्राप्त हुने र घरमै हुने विभेदको अन्त्य पनि हुने गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो “छोराछोरीमाथि भेदभाव अन्त्यका लागि गाउँपालिकाले पहल थालेको हो”, हाम्रो समाजमा अझैै पनि छोरा र छोरी भनेर विभेद गरिन्छ, उहाँले भन्नुभयो “छोराछोरीबीचको विभेद अन्त्य हुने विश्वास लिएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।