0 COMMENTS

काठमाण्डौ५ पाैष०७४/ मुख्य तीन दल कांग्रेस, एमाले र माओवादी बीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ। राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको कांग्रेसबीच मत बाझिएपछि सहमति टाढिएको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सहमतिको खोजीमा लाग्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल तत्पर देखिए पनि एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भने महिना दिनयता संवादसमेत भएको छैन।प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच ५ मंसिरयता भेटघाट भएको छैन। पुत्रशोकमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई समवेदना दिन पुग्दा ५ मंसिरमा यी दुई नेताबीच संयोगले छोटो भेटघाट भएको थियो। त्यसयता दुवै नेता भेटघाटका लागि तर्केर हिँडेका छन्। दुई नेतालाई सहमतिको बाटोमा ल्याउन भूमिका खेलिरहेका माओवादी अध्यक्ष दाहालले त्यसको पुष्टि सोमबार माओवादी केन्द्रीय समिति बैठकमा गरे।

दाहाल भने ओली-देउवा दुवैसँगको छलफलमा छन्। वाम गठबन्धनका कारण पनि ओलीसँग उनको हिमचिम बढी नै छ। प्रधानमन्त्री देउवासँगको भेटघाटलाई पनि उनले निरन्तरता दिइरहेका छन्। पछिल्लो पटक पनि उनले १ पुसमा मात्रै प्रधानमन्त्री देउवालाई भेटी सहमतिका लागि प्रयास गर्न तीन दलको बैठक बोलाउन सुझाएका थिए। तर, प्रधानमन्त्री र एमाले अध्यक्ष दुवै ‘गरम’ देखिएका कारण भेटवार्ता सहज भइरहेको छैन।

राष्ट्रपतिकहाँ सरकारले पठाएको राष्ट्रिय सभासम्बन्धी अध्यादेश स्वीकृत नभएसम्म देउवा प्रधानमन्त्रीबाट हट्ने मनस्थितिमा नरहेको सरकारका प्रवक्ता सञ्चारमन्त्री मोहन बस्नेतले खुलाए। ‘कांग्रेस र प्रधानमन्त्रीको पनि प्रस्टै नीति भनेकै सरकारले राष्ट्रपतिकहाँ पठाएको राष्ट्रिय सभासम्बन्धी अध्यादेश जारी गर्न एमालेले सहयोग गर्नुपर्छ। त्यसो भए मात्रै सत्ता हस्तान्तरण र राष्ट्रिय सभा गठनको बाटो खुल्छ’, मन्त्री बस्नेतले भने।

मन्त्रिपरिषद्ले स्वीकृतका लागि पठाएको अध्यादेश एमालेको दबाबमा राष्ट्रपतिले स्वीकृत नगरेको आरोप कांग्रेसले लगाउँदै आएको छ। कांग्रेसले अनावश्यक अडान लिएर बसिरहँदा राजनीतिक गतिरोध देखा परेको एमालेको तर्क छ। तर, कांग्रेस त्यस्तो अडानमा टिकिरहन नसक्ने एमाले पोलिटब्युरो सदस्य अग्नि खरेलले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।