0 COMMENTS

कपिलवस्तु, २३ कात्तिक ०७४/ कपिलवस्तुका दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक टर्कीपालनमा जुटेका छन् ।

बीस प्रतिशत दाना र ८० प्रतिशत घाँस खाने भएकाले टर्की पाल्न सजिलो रहेको र टर्कीको मासु स्वास्थ्यबर्धक र कोलेस्ट्रोल फ्री रहेकाले पनि उपभोक्ता खान मन पराउने गरेका छन् । रु १४ लाखको लगानीमा आठ महिनाअघिदेखि शुरु गरिएको टर्कीपालनका लागि खरेन्द्रपुरका दाजुभाइ युवराज पौडेल र युधीर पौडेलले चार कट्ठामा खोर बनाएका छन् भने छ कट्ठामा स्टाइलो रियो सन्टी सिभो जातको घाँस लगाएका छन् ।

भाले जातका टर्की बिक्रीका लागि तयार भएको र पोथी टर्कीले भने अण्डा पार्न थालेको उनको भनाइ छ । स्वदेशमा केही काम पाइँदैन, पाए पनि खासै आम्दानी हुँदैन भन्ने आम मान्यतालाई चुनौती दिँदै यहाँका युवाले सामूहिक टर्कीपालन गरी मनग्य आम्दानी गरेका छन् ।

स्वदेशमै केही गरेर देखाउन शिवराज नगरपालिका–३ खरेन्द्रपुरका यी दाजुभाइ टर्कीपालनमा कम्मर कसेर लागेका छन् । कुनै पनि कामले मानिसलाई सानो र ठूलो नबनाउने भन्दै राम्रो अध्ययनपछि आफूहरु टर्कीपालनमा लागेको उनीहरु बताउँछन् ।

मेहनत र परिश्रम गरे जुनसुकै काम वा व्यवसायबाट पनि प्रशस्त लाभ लिन सकिने उनीहरुको दाबी छ । स्वदेशमै लगानी गरेर आफ्नो पहिचान कायम गर्न उनीहरु व्यावसायिकरुपमा टर्कीपालनलाई अँगालेका हुन् । कपिलवस्तु खरेन्द्रपुरमा आफैँले करिब चार कट्ठा जग्गा खरिद गरी झण्डै तीन कट्ठामा फार्म र माछा पोखरी बनाएर व्यवसाय शुरु गरेको सञ्चालकद्वय बताउँछन् ।

बजारमा टर्कीको मासु प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरेको छ । सरकारले टर्की पालनलाई प्राथमिकता दिएर यससम्बन्धी अनुदानको व्यवस्था गर्न सकिए टर्कीपालनमा धेरै किसान आकर्षित हुने निर्विवाद छ सञ्चालक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।