0 COMMENTS

रत्ननगर, चितवन, २२ असोज०७४/ चितवनमा पोटाउन लागेको धानमा विभिन्न रोग देखा परेको छ । निस्किन लागेको धानमा रोग देखिएपछि किसान प्रभावित भएका छन् ।

भरतपुरका किसान मुक्तिप्रसाद अधिकारीले आफ्नो दुई बिगाहाभन्दा बढीमा लगाएको धानमा रोग लागेर पहेँलपुर भएको बताउनुभयो । विषादी हाल्दासमेत रोग नियन्त्रणमा नआएपछि धान उत्पादन घट्ने चिन्ता भएको उहाँले बताउनुभयो । सँधियारका धान पनि रोग लागेर पहेँलो भएको उहाँको भनाइ छ ।

चितवनको पूर्वी क्षेत्रमा धान निस्किसकेको अवस्थामा रोग लागेकाले उत्पादन सोचेअनुसारको देखिएको छैन । अहिले पश्चिम क्षेत्रमा रोगको प्रकोप भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेले जानकारी दिनुभयो ।

“धानमा एउटा मात्रै रोग छैन, विभिन्न रोग देखियो, खाद्य तत्वको असन्तुलन भएको अनुमान गरेका छौँ, कारण पत्ता लाग्न सकेको छैन ।”, उहाँ भन्नहुन्छ, “धानको गुबो मर्ने, पात सुक्ने, खैरो र पहेँलो हुने, पातमा ढुसी देखिने र फड्के किरासमेत देखिएको छ ।”

गएको वर्ष यतिबेला चिसो भइसक्ने भए पनि अहिले चिसो नहुँदा पनि समस्या भएको अनुमान गरिएको प्राविधिक सहायक लामिछाने बताउनुहुन्छ । शीत परेपछि केही रोग आफैँ हट्ने गरे पनि अहिले शीत पर्नसमेत ढिला भएको कृषि विज्ञहरु बताउँछन् ।

तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व डिन सुन्दरमान श्रेष्ठको भनाइ उद्धृत गर्दै खाद्य तत्वको असन्तुलन पनि एउटा कारण भएकामा लामिछाने जोड दिनुहुन्छ । कृषि कार्यालयका अनुसार अहिले समस्या पहिचानका लागि अनुसन्धान भइरहेको छ ।

लगाएको धानमध्ये करिब ३० प्रतिशतमा रोग देखिएको कृषि कार्यालयको भनाइ छ । चितवनमा यसपालि २९ हजार २०० हेक्टर क्षेत्रफलमा धानखेती लगाइएको थियो ।

विगत वर्ष एक लाख तीन हजार मेट्रिक टन धान उत्पादन भएकामा यसपालि एक लाख २५ हजार मेट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएको थियो तर धानमा देखिएको रोगका कारण धान उत्पादन घट्ने कार्यालयका प्राविधिक सहायक लामिछाने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।