0 COMMENTS
विष्णुकुमार प्रसाई

कांग्रेसभित्र त्यागी, इमान्दार र सिद्धान्तनिष्ट कार्यकर्ताहरु प्रायः निस्कृय छन् वा पार्टी छोडिसकेका छन् । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले समेत पार्टी छोडिसकेका थिए । अहिले इमान्दार र सैद्धान्तिक कांग्रेसीहरु नेपाली कांग्रेस पार्टी नै नभएको बताउन थालेका छन् । सत्ता स्वार्थका लागि कांग्रेसले कांग्रेसकै अपमान गर्दै पार्टी अस्तित्व समाप्त पार्ने काम गरेको उनीहरुको ठहर छ । अझ शेरबहादुर देउवा सभापति भएपछि नेपाली कांग्रेसलाई थिलथिलो पारिएको छ । लोकमान प्रकरणमा कांग्रेस मौन रहनु, राजदूत नियुक्ति प्रकरणमा बदनाम हुनु, दलाई लामाका प्रधानमन्त्रीसँग भारतमा पुगेर एउटै मञ्च शेयर गरि नेपालको छवि धुमिल पार्नु, भरतपुर जस्तो कांग्रेसको प्रभाव भएको महानगरमा उम्मेदवारी दिइसकेर प्रचार प्रसार तीव्र हुन थालेपछि मेयरका उम्मेदवारलाई फिर्ता बोलाई प्रचण्डकी छोरी रेणु दाहाललाई मतदान गर्न कांग्रेसीजनलाई निर्देशन दिनु, माओवादी केन्द्रका लडाकुले मतपत्र च्यत्दा त्यसको पक्षमा वकालत गर्नु र पुनः मतदानका पक्षमा लागि प्रजातन्त्रको खिल्ली उडाउनुले नेपाली कांग्रेसका नेता कार्यकर्तालाई लज्जित बनाएको छ ।

आइजीपीमा क्षेत्रीयतावादी सोच राखी चौथो नम्वरकालाई नियुक्ति गर्नु एवं प्रहरीमा राजनीतिक हस्तक्षेप गर्नुले सच्चा कांग्रेसको शीर नुहेको छ । यति मात्र होइन, सम्मानित सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई मुद्दाको सन्दर्भमा दवाव दिन लगाउनु र नमान्दा महाअभियोग लगाउनु, फेरि जनदवाव र विरोधपछि महाअभियोग फिर्ता लिनु, मधेशी दलका नाममा विखण्डनकारी गतिविधिलाई सघाउँदै स्वयं कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाले विभिन्न गतिविधि गर्नुले नेपाली कांग्रेसको चरित्र, आदर्श एवं मूल्य मान्यता समाप्त भएको छ ।

कांग्रेसको प्रजातन्त्र माओवादी निरंकशतामा फ्युजन भईसकेको छ । कांग्रेसको समाजवादलाई वाढीले वगाईसकेको छ । देशका सम्पूर्ण राष्ट्रिय उद्योग कलकारखाना कौडीका मूल्यमा वेचेर नेपाली कांग्रेसले आफ्नो समाजवादी आदर्शलाई दाहसंस्कार गरिसकेको छ ।
राष्ट्रियता र राष्ट्रिय संस्कृतिको रक्षाका सन्दर्भमा कांग्रेस एमाआवादी भन्दा केही फरक छैन । अहिले कांग्रेसलाई एमाओवादी भनेर समेत भन्न थालिएको छ । भारतीय नाकाबन्दीमा देशले सास्ती भोग्दा कांग्रेसले देश र जनताभन्दा भारतप्रति भक्ति देखायो । देशभर सीमा मिचिँदा कांग्रेस नेतृत्व माओवादी केन्द्र भैm मौन रह्यो र रहदैछ । हिजो सगरमाथाको विषयमा नेपाल र चीनकावीच विवाद हुँदा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता बीपी कोइराला तुरुन्त चीन गई माओ त्सेतुङसँग आँखामा आँखा जुधाई कुरा गरेर सगरमाथा सम्वन्धी विवाद समाधान गरेर फर्के । आज त्यो पार्टी राष्ट्रियतामाथि आक्रमण गर्ने कांग्रेस विदेशी विधर्मीको गुलाम वनेको छ ।

नेपालको संविधानसभाले आफ्नो देशको संविधान जारी गर्दा सीमा नाकामा बसेर नेपाल र नेपाली विरोधी गतिविधि गर्ने नेपाली नागरिकता बोकेका केही ब्यक्तिले देश विरुद्ध अपराध गरे, त्यसको समर्थक कांग्रेस बन्यो । नेपालका मधेसी समुदाय होइन उनीहरुका नाममा भारतको स्वार्थ घुसाउने सिसिला थियो त्यो । भारतको राष्ट्रिय भाषा हिन्दीलाई राष्ट्रिय भाषा बनाउने र अंगीकृतलाई पनि प्रधानमन्त्री, राष्ट्रपति, प्रधानन्यायाधीश बन्ने बाटो खोल्न कांग्रेस नेतृत्व लाग्यो । स्थानीय तहका प्रतिनिधिले राष्ट्रियसभामा मतदान गर्ने अधिकार पाउनु हुदैन भन्ने यी पृथकतावादीहरुको माग छ । जनतालाई अधिकार सम्पन्न वनाउनु हुँदैन, स्थानीय तहका प्रतिनिधिले होइन अनिर्वा्चित केही झुण्डले विकास अनुदान खर्च गर्न पाउनु पर्ने उनीहरुको माग छ । त्यस मागमा कांग्रेसको समर्थन छ ।
हाम्रा पिता पुर्खाको रगत, पसिना, हाम्रो स्वाभिमान हाम्रो चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा जलाउने यी विखण्डनकारीहरु अहिले त्यही राष्ट्रिय झण्डा बोकेर ढुंगामुढा, आगजनी, अपहरण, तोडफोडमा लागेका छन् । निर्वाचनमा जाँदा यिनीहरुले गाउँपालिकाको एउटा वडाको वडा सदस्यमा समेत जित्न सक्दैनन् । त्यसैले उनीहरु निर्वाचन हुन दिदैनन् वा भाँड्छन् । यता निर्वाचन भयो भने आफ्नो असली रुप देखिने डर उता दलीय, भागण्डामा मधेश र प्रदेशको नाममा विकास निर्माणको बजेट भ्रष्टाचार गर्न नपाइने डर । त्यसैले यी विदेशी गोटी, यी औलामा गन्न सकिने भाडाका मान्छे र उनीहरुले भुक्नलाई चारो हालेका विभिन्न आवरणका व्यक्तिहरु जसरी हुन्छ नेपाल राष्ट्रमा घोर विपत्ति निम्त्याउँन न्वारानदेखिको वल देखाउँदै लागेका छन् ।

जतिबेला जसलाई प्रधानमन्त्री वनाउन मालिकले जाओ केटा हो भनेर चारो हालिदिन्छ त्यतिबेला प्रधानमन्त्रीमा भोट हाल्न यिनीहरुलाई संविधान संशोधन हुनु पर्दैन । जनताले मताधिकार प्रयोग गर्न खोज्दा जसरी हुन्छ निर्वाचन रोक्नु पर्छ । यस्तो कृत्यमा राजपा मात्र होइन कांग्रेस मतियार छ । सिंहदरवार पसेर भातले बनाइदिएको दाहाल देउवा गठबन्धनलाई भोट हाल्दै यी भाडाका मान्छेहरु भन्छन् – ‘हामी यो संविधानलाई कहाँँ मान्छौं ?, हामीले यो संविधानको स्वामित्व कहाँ ग्रहण गरेका छौं ? हामी थोडी हारेछ, भारत हारेछ ।’ बीपीको कांग्रेस आज त्यहाँ पुगेको छ । सरकार फेरवदलको कसरत हुनासाथ उनीहरु सिंहदरबार छिर्छन् र आफ्नो स्वार्थ पूरा गरेपछि फेरि फर्किन्छन् । प्रत्येक सरकार परिवर्तनमा यिनीहरु खसी वाख्रा किनिए झै किनिन्छन् । भन्नका लागि मधेशका लागि, मधेशीयाका लागि भनेर भन्छन् यिनीहरु । तर मधेशी जनताकै शोषण र दमनमा लागेका छन् उनीहरु ।

२० वर्षदेखि निर्वाचन भएको छैन । स्थानीय तहमा विकासे वजेट यिनैले खाइरहेका छन् । दर्जनौ पटक मन्त्री, उपप्रधानमन्त्री बन्ने यी महाभ्रष्टाचारीहरु पद र पैसाका लागि जे पनि गर्न तयार छन् । एक क्षण कोही ठिक जस्तो देखिए पनि यिनीहरुको असली रुप भिन्नै छ । उनीहरुलाई खुलस्त रुपमा विदेशी मालिकको निर्देशन छ । माओवादी केन्द्र र उसको सर्वोच्च नेता पुष्पकमल दाहाल एवं नाम चाही नेपाली राखेपनि नेपाल विरोधी गतिविधि गर्ने कांगेसका देउवा र निधि, जस्ता व्यक्तिहरुले नेपाली कांग्रेसलाई त समाप्त पारे नै माओवादी केन्द्रलाई समाप्तिको मार्गमा लगेलगे देशलाई पनि भड्खालोमा हाल्ने प्रयास भइरहेको छ ।
मतपत्र च्यात्ने माओवादी केन्द्र र कांग्रेसको साँठगाँठले माघभित्र तीनै तहको निर्वाचन हुन सक्ने अवस्था देखिदैन । जसले गर्दा मुलुकमा फेरि अस्थिरता र अराजकताले प्रश्रय पाउने स्थिति देखा पर्दैछ । कांगे्रस, माओवादी केन्द्र र जातीय, क्षेत्रीय विखण्डनकारी गतिविधि गर्ने पार्टीहरुका कारण नेपालको भविष्य अंध्यारो मार्ग्तिर अघि बढ्ने संकेतहरु देखिदैछन् । एउटा निश्चित पार्टी र उसका सहयोगी कांग्रेस, माओवादी केन्द्रका कारण देशमा अस्थिरता, अराजकता र राष्ट्रवादी शक्तिहरुलाई घेराबन्दी गर्ने नीतिले देशलाई भयावह स्थितिमा पुर्याउने सम्भावनाहरु बढेर गएका छन् ।

शेरबहादुुर देउवा चौथो पटक प्रधानमन्त्री वन्नासाथ भारतीय प्रमुख अखवारहरुले हाम्रो मान्छे नेपालको प्रधानमन्त्री भयो भनेर लेखे । भारतीय संचारमाध्यमहरुले देउवालाई आफ्नो समर्थक भएको दावी गरे । जसरी यसअघिका प्रधानमन्त्री पुष्पकमललाई भारतीय स्वार्थमा काम गर्ने भनेर भारतीय संचारमाध्यमले प्रचार गरेका थिए ।

पुष्पकमल, शेरबहादुरलाई जव भारतले आफ्नो मान्छे भनेर दावा गर्छ र उनीहरु गौरव महसुस गर्छन् भने अव देशभक्त नेपाली जनताले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई किन र कसरी मतदान गर्न सक्छन् ? त्यसै भएर होला कांग्रेसको गढ भनिने चितनवको भरतपुर, विराटनगर जस्ता महानगरपालिकामा समेत कांग्रेसजनले एमालेलाई मतदान गर्दैछन् ।(प्रसाई हिन्दु प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।