0 COMMENTS

बैतडी, २९ भदौ । चाँडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन शुरु गरेको छ । दशैँतिहारको समयमा बढी किनबेच हुने र उपभोक्ता बढी ठगिने भएकाले प्रशासनले अनुगमन बुधबारदेखि शुरु गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यको नेतृत्वमा रहेको अनुगमन टोलीले बुधबार पहिलो दिन जिल्ला सदरमुकाम गढी र गोठलापानी बजारमा अनुगमन गरेको छ ।

खुद्रा पसल, होटेल, फ्रेस हाउस र मदिरा पसलको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा दत्तराम बडूले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार गढी र गोठलापानीमा रहेका २२ किराना पसल, चार मदिरा पसल, एक होटेल, तीन मिठाइ पसल र तीन कस्मेटिक पसल गरी ३५ पसलमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा अधिकांश पसल दर्ता नगरेको भेट्टिएका छन् । केही पसल घरेलु कार्यालयमा दर्ता भए पनि नगरपालिका कार्यालयमा भने अधिकांशले दर्ता नगरेको पाइएको छ ।

साथै, उक्त अनुगमनका क्रममा मूल्यसूची नराखेको, साइनबोर्ड नभएको समेत फेला परेको थियो । उक्त अनुगमनका क्रममा भेटिएका रु आठ हजार ३५८ मूल्य बराबरका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ ।

उपभोग्य मिति समाप्त भएका मसला, नमकिन, बिस्कुट, तेल, जुस, चिउरालगायतका खाद्यपदार्थ जफत गरी प्रहरी, पत्रकार र सरोकारवाला सबैको रोहबरमा नष्ट गरिएको हो । अनुगमनका क्रममा व्यवसायीलाई मूल्यसूची राख्न, साइनबोर्ड राख्न तथा पसल दर्ता गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

यसैगरी, उपभोक्ता हित संरक्षणको विषयमा सबै व्यवसायी एवं व्यापारी, उपभोक्तालगायत सरोकारवाला सबैलाई सचेत रहनसमेत अनुरोध गरिएको छ । अघिल्ला वर्षभन्दा अहिले म्याद नाघेका सामान कम भेटिएको सहायक प्रजिअ आचार्यले बताउनुभयो ।

पटकपटक अनुगमन गरी सचेत गराइएकाले म्याद गुज्रेका सामान तुलनात्मकरुपमा कम भेटिएको जनाएको छ ।

बाजुरा– यसैगरी, दशैँ तिहारको समयमा कालोबजारी मनोमानी बढ्ने भन्दै यहाँको स्थानीय प्रशासनले बजार अनुगमन कार्य तीव्र पारेको छ । बजार अनुगमन समितिले मंगलबार स्थानीय होटल पसलमा अनुगमन कार्य शुरु गरेको हो ।

दुईदिन गरेर मार्तडी र दुनी हाटबजारका ४५ भन्दा बढी पसलको अवस्थाबारे जानकारी लिइएको बजार अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताउनुभएको छ ।

मंगलबार गरिएको अनुगमनका क्रममा रोशन एण्ड ज्ञानु मम सेकुवा सेन्टरका भीमबहादुर खड््काको पसलमा बिना अनुमतिको मदिरा भेटिएको र कारबाहीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पत्र पठाएको बताइएको छ ।

बुधबार गरिएको अनुगमनका क्रममा पाँचवटा पसलबाट ११७ प्याकेट बिस्कुट, १० प्याकेट खुर्सानी बरामद गरी जलाएर नष्ट गरिएको छ । अनुमगनमा समिति सदस्य उद्योग वाणिज्य संघ, प्रहरी, पत्रकार महासंघ, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । समितिले जिल्लाका अन्य बजारमा पनि अनुगमन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।