0 COMMENTS

pursotam-paudleकाठमाडौं, २५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त गर्दा विभागीय मन्त्रीले आर्थिक अनिमितता गरेको ठहर गर्दै कारवाहीका लागि सरकारलाई निर्देशन दिएको छ । शुक्रबार अख्तियारले सरकारलाई पत्र पठाउँदै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारवाही गर्ने निर्देशन दिएको हो ।
खेलाडीबाट रकम लिएर बिदेश पठाउने अभियोग लागेका ब्यक्तिबाट आर्थिक लाभ लिई सदस्य सचिवमा नियुक्त गरेको अख्तियारले ठहर गरेको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १२ ख अनुसार उहाँमाथि कारबाहि चलाउन अनुरोध गरेका छौँ’,अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले बताए । मन्त्रि पौडेललाई राष्ट्रिय खेलकुदका कार्यक्रम र राखेपमा भएका अनियमिततामा दोषि ठहर अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिएको हो । कुनै कसुरमा मन्त्रिलाई दोषि ठह¥याई अख्तियारले पत्र काटिसकेपछि नैतिकताको आधारमा सम्बन्धित मन्त्रीले पदबाट राजिनामा दिने अन्तर्राष्ट्रिय मान्यता रहेको छ ।

 

यस्तो छ, अख्तियारको विज्ञप्ती

 

प्रेस विज्ञप्तिः २०७२।५।२५ गते ।

माननीय युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव पदमा श्री केशव कुमार विष्टलाई गरेको नियुक्ती सम्बन्धमा ।

सन् २०१४ को सेप्टेम्वर/अक्टोवरमा दक्षिण कोरियाको ईन्चोनमा सम्पन्न १७ औं एसियाली खेलकुद प्रतियोगितामा खेलाडीको आवरणमा लिएर गएका ४ जना व्यक्तिलाई प्रति व्यक्ति रु. १५ लाख लिई कोरियामै भगाएको अभियोगमा सबैखाले खेलकुद गतिविधिमा प्रतिबन्ध लगाईएका केशव कुमार विष्टलाई मिति २०७२।०३।१० गते खेलकुद मन्त्रीको निजी सचिवालयको लेटरप्याडमा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा गैह्रकानूनीरुपमा नियुक्त गरेकोले छानबिन गरी कारबाही गरिपाउ भनि आयोग समक्ष पर्न आएको उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा १७ औ एसियाली खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरू मध्ये उसु, एथलेटिक्स र सेपाक ताक्रो खेलमा सहभागी खेलाडीहरू; खेल प्रशिक्षक तथा टिम व्यवस्थापकको लापर्बाही एवं गैर जिम्मेवारीका कारण भागी पलायन भएको सन्दर्भमा संलग्न खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक तथा सम्बन्धीत खेल संघहरूलाई कारबाहीका निमित्त माननीय युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा कार्य सम्पादन तथा व्यवस्थापन समितिको मिति २०७१।०७।०२ गते बसेको समिक्षात्मक बैठकले उक्त खेलमा सहभागी खेलाडी भगाउन खेल प्रशिक्षक र व्यवस्थापकको भूमिका निर्वाह गर्ने सेपाक ताक्रोका व्यवस्थापक केशव विष्ट समेतलाई निजहरूले सम्पादन गर्दै आईरहेको जिम्मेवारीबाट १ वर्ष सम्मको लागी विभागिय कारवाही गर्न रा.खे.प.लाई सिफारिस गर्ने निर्णय भएको देखियो ।

उल्लेखित निर्णय कार्यान्वयनका लागि मिति २०७१।०७।०५ गते युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद परिषदलाई लेखी पठाएकोमा रा.खे.प.को मिति २०७१।०७।२० को निर्णयले टिम व्यवस्थापकहरूलाई १ वर्षको लागि निजहरूले सम्पादन गर्दै आई रहेको संघको जिम्मेवारी वाट मुक्त गर्ने गरी टिप्पणी सदर गरेको पाईयो ।

यसरी जिम्मेवारीबाट मुक्त भएका व्यवस्थापक लगायतका पदाधिकारी एवं सदस्यहरुलाई सोही अवधि भित्रै जिम्मेवारी दिन मिल्ने नमिल्ने सम्बन्धमा खेलकुद विकास नियमावली, २०४९ को नियम १०(क) बमोजिम बनेको राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय खेल संघ कार्य सहजिकरण कार्यविधि, २०७० को परिच्छेद १० को दफा १०.४ अनुसार निलम्बन वा खारेजीमा भएको राष्ट्रिय संघ, संघका पदाधिकारी तथा सदस्यहरूले कुनै खेलकुद गतिविधि संचालन गर्न, सहभागी हुन र कुनै सरकारी सुविधा प्रयोग गर्न पाउने छैन भनी स्पष्ट किटानी व्यवस्था गरेको हुँदा १ वर्षका लागी जिम्मेवारीबाट मुक्त भई कारबाहीमा परेका व्यक्तिलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव जस्तो मर्यादित एवं गरिमामय पदमा नियुक्त गरेको देखिदा गैरकानूनी तवरबाट माननीय युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले जानी जानी आफूलाई प्राप्त अधिकार सम्बन्धित कानून, निर्णय वा आदेश विपरीत अर्कै उद्देश्यले प्रयोग गरी आफ्नो तजविजी अधिकार बदनियत साथ स्वेच्छाचारी रूपमा प्रयोग गर्नुका साथै आफ्नो पदको प्रकृति अनुसार पालना गर्नुपर्ने पदिय कर्तव्य पालना नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ को खण्ड (ग), (घ) र (छ) अनुसारको अनुचित कार्य गरेको पुष्टि हुन आएकोले सोही ऐनको दफा १२.क बमोजिम माननीय मन्त्री श्री पुरुषोत्तम पौडेललाई आवश्यक कारबाहीका लागी सम्माननीय प्रधानमन्त्रीज्यू लाई अनुरोध गरि लेखी पठाईएको छ ।

यसै गरी माननीय युवा तथा खेलकुद मन्त्रीवाट केशब कुमार विष्टलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा गैर कानूनी तवरवाट नियुक्त गरेको देखिदा सो नियुक्तिका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२.ख बमोजिम आवश्यक कारबाही हुन युवा तथा खेलकुद मन्त्रालयमा लेखि पठाईएको छ ।

साथै राष्ट्रिय खेलकुद परिषद्, खेलकुद विकास विभाग अन्तर्गत संघ संस्था समन्वय शाखा प्रमुख टेक प्रसाद कटेलले आफ्नो जिम्मामा रहेका सरकारी कागजातहरू सुरक्षित राख्न नसकेको र आफूले सम्पादन गर्नुपर्ने कार्य नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ को खण्ड (छ) अनुसारको कसुर गरेको देखिन आएकोले निजलाई विभागीय कारबाहीका लागि सोही ऐन, को दफा ११ बमोजिम स्पष्टीकरण माग गरी कारबाही प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।