0 COMMENTS

काठमाडौं, भदौ १२ – नेपालले १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा शनिबार भएको फाइनलमा भारतलाई टाइब्रेकरमा ५–४ ले हराउँदै नेपालले उपाधि जितेको हो ।

नेपाली फुटबलमा रहेको सन् १९९३ देखिको उपाधिको खडेरीलाई तोड्दै नेपालले उपाधि उचालेको हो ।

नेपालले बलियो र चिर प्रतिद्वन्द्वी भारतविरुद्ध प्रभावशाली खेल पस्कँदै उपाधि जित्न सफल भएको हो । शुरुवातबाटै भारतलाई डिफेन्सिफ हुन बाध्य पारेको नेपालले ३१ औं मिनेटमा गोलको खाता खोलेको थियो ।

नेपालका अनन्त तामाङ निर्णायक पेनाल्टी गोलमा परिणत गरेका थिए भने नेपाली गोलरक्षक सोजित गुरुङले भारतका तर्फबाट मोहमुद्धिनले गरेको पहिलो प्रहार नै रोकेका थिए ।नेपालका तर्फबाट सबै खेलाडीले गोल गर्ने क्रममा हेमन्त थापा मगर, सुनील बल, विश्वास श्रेष्ठ र डोना थापाले प्रहार चुकाएनन् ।

 यसअघि निर्धारित ९० मिनेटमा दुवै टिमले एक एक गोल गरेका थिए । ३१ औं मिनेटमा तेज तामाङले गरेको गोलबाट नेपालले लिएको अग्रता खेल सकिन ३ मिनेट मात्र बाँकी हुँदा गुमाएको थियो । कर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तामाङले गोल गरेका हुन् । त्यसअघि अन्जन विष्टको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो । ८७ औं मिनेटमा दिनेश राजबंशीले डी बक्सभित्र हातले बल छोएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतका सहबाजले बराबरी गोल फर्काएका थिए ।

जितसँगै नेपालले डेढ हप्ता अघि १६ वर्षमुनिको साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला पनि लिएको छ । बंगलादेशमा भएको १६ वर्षमुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित हारेको थियो ।

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उपाधि जितेमा नेपाली टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार स्वरुप दिने घोषणा यसअघि नै गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।