0 COMMENTS

भक्तपुर दरबार स्क्वायर क्षेत्रमा भूकम्पका कारण भत्किएका ऐतिहासिक सम्पदाको पुनः निर्माण कार्य चुस्त गतिमा अगाडि बढिरहेको छ । विभिन्न विवादका कारण काठमाडौँस्थित वसन्तपुर दरबार स्क्वायर क्षेत्रलगायतका सम्पदाको पुनः निर्माणले गति लिन नसके पनि भक्तपुरमा भएको पुनः निर्माणको गतिले काठमाडौँका जीर्ण सम्पदाको पुनः निर्माणमा नैतिक दबाब सिर्जना भएको छ ।
भक्तपुर नगरपालिकाले पुनः निर्माण गर्ने जिम्मा लिएका सम्पदामा यति बेला धमाधम काम भइरहेको छ । नगरपालिकाले जिम्मा लिएकामध्ये विश्वसम्पदा क्षेत्रका भक्तपुर दरबार स्क्वायर छिर्ने प्रवेशद्वार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यस्तै, केदारनाथको मन्दिर र वत्सल्यदेवी मन्दिरको तल्लो भागसम्म निर्माण भइसकेको छ । त्रिविक्रम, शङ्करनारायण र हरिहरको मन्दिर पुनः निर्माण अन्तिम चरणमा रहेको छ ।
त्यस्तै दतात्रेय क्षेत्रको भीमसेनको मन्दिर र लक्ष्मीनारायाण मन्दिरको मर्मतको कार्य पनि चलिरहेको छ । ती मन्दिर भने केदारनाथको मन्दिर र वात्सल्यदेखिको मन्दिर पुनः निर्माणको काम बहुवर्षीय योजनाभित्र परेका छन् । वात्सल्यदेविको मन्दिरका लागि धेरै ढुङ्गामा बुट्टा कुद्नु पर्ने भएकाले पनि केही समय लाग्ने भक्तपुर नगरपालिका सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठले बताउनुभयो ।
भक्तपुर नगरपालिकाले ऐतिहासिक सम्पदा निर्माण दुई किसिमबाट गर्दै आएको छ । सामान्य प्रकृतिका मन्दिरका लागि उपभोक्ता समिति बनाएर पुनः निर्माण गरिरहेको छ । त्यस्तै शङ्करनारायण र त्रिविक्रम नारायणजस्ता मन्दिरको काम भने अमानत प्रक्रियाबाट गरिरहेको छ । त्यसका लागि महानगरपालिका आफैले आवश्यक सामग्री जुटाएर डकर्मी, सिकर्मीलाई ज्यालामा काम लगाउँदै आएको छ । नगरपालिकाले ज्यामीलाई दैनिक ६३५ रुपियाँ र डकर्मीका लागि ८६५ रुपियाँ दिँदै आएको छ । bhaktapur
भक्तपुरका पुरातत्वसम्बन्धी ज्ञान र चासो राख्ने सबैलाई समेटेर समिति बनाइएको छ भने आवश्यक राय सुझावका लागि प्राविधिकहरूको छुट्टै समिति बनाइएको छ । सबैलाई समेटेर काम थालिएकाले पनि बिनाअवरोध काम भइरहेको श्रेष्ठको दाबी छ ।
यसबाहेक पुरातत्व विभागअन्तर्गतको भक्तपुर दरबार हेरचाह कार्यालयले शिलुमहादेब (फसिदेगाः), सिद्धिलक्ष्मी मन्दिर बहुवर्षीय योजनामा अन्तर्गत निर्माण सुरु गरेको छ । तवः सत्तलको निर्माण आधा पूरा भएको छ । चाँगुनारायणको मन्दिर पुनः निर्माण भइरहेको छ । दक्षिण वाराही, अनन्त लिङ्गेश्वरको मन्दिर, नील बाराहीको मन्दिरको सत्तल, नगदेशमा रहेको सत्तल र मन्दिर महेश्वरी घाटको पीठ र सत्तल, कला सङ्ग्रहालय निर्माणको काम भइरहेको कार्यालयका प्रमुख मङ्गला प्रधानले जानकारी दिनुभयो ।
कार्यालयमार्फत नै बद्रीनारायण, रामेश्वरको मन्दिर, गोलमणिमा रहेको गणेश मन्दिर, चोडे गणेश मन्दिर र बोडेको महालक्ष्मीको मन्दिर संरक्षण भएको प्रधानले बताउनुभयो । सम्पदा पुनः निर्माणका लागि गठन भएका विभिन्न कमिटीहरूमा आवश्यक छलफल गरेर सबैको राय सुझाव लिएर काम भइरहेको र सबै पक्षबाट सकारात्मक सहयोग जुटिरहेको उहाँको भनाइ छ । उहाँले अहिलेकै गतिमा काम गर्न सकिएमा आव २०७५।७६ भित्रमा सबै सम्पदा पुनः निर्माण कार्य सम्पन्न भइसक्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।