0 COMMENTS

काठमाडौँ, ७ भदौ । पहिलो पटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल आज बङ्गलादेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल सेन्टरको खेल मैदानमा भएको सो प्रतियोगितामा नेपाल बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै समूह ए को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको पहिलो हाफको ११ औँ मिनेटमा रोहित सरकारले बङ्गलादेशका लागि गोल गरे ।

त्यस्तै खेलको १८ औँ मिनेटमा नेपालका अञ्जान विष्टले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

निर्धारित समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अन्ततः नेपाललाई जित दिलाउन बङ्गलादेशका खेलाडीले नै सहयोग गरे । बङ्गलादेशका टुटुल बदशाहले खेलको दोस्रो हाफको इन्जुरी समयमा आत्मघाती गोल गरिदिएपछि नेपालको जित सुनिश्चित हुन पुग्यो ।

नेपाल जारी प्रतियोगितामा शीर्ष छ अङ्क जोड्दै समूह ए को समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै बङ्गलादेश तीन अङ्कका साथ उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश ग¥यो । नेपालले पहिलो खेलमा भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको तथा बङ्गलादेशले भुटानलाई २–० ले गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तीन अङ्क जोडेको थियो ।

मङ्गलबार समूह ‘बी’अन्तर्गत अपराह्न ३ः३० बजे माल्दिभ्सले भारतको सामना गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।