0 COMMENTS

काठमाडौं, १० असार । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता मनिष सुमनले ‘ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन् भन्ने राजपाको ठम्याई छ । हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं । र, ल्याकत छैन पनि । बरु, यो सरकार आफैं ढल्ने मसँग सुचना छ ।’ उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको पनि टिप्पणी गरे ।

पार्टीको अध्यक्ष मण्डलको बैठक बसिरहेको सुनाउँदै सुमनले सरकारको पछिल्लो भूमिकाप्रति आफूहरु चिन्तित रहेको सुनाए । पार्टीका केन्द्रिय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दापनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताउँदै त्यसप्रति घोर आपत्ति जनाए ।
उनले भने,‘उहाँ अहिले विरामी हुनुहुन्छ । उपचार गराईरहनुभएको छ । यसरी हतियार बन्द कोठामा राख्दा औषधीले पनि काम गर्दैन् । उहाँमाथि मनोवैज्ञानिक
त्रास फैलाईएको छ ।’ फरक प्रसँगमा उनले राजपा र समाजवादी पार्टीबीच एकताको लागि प्रशस्त संभावना रहेको सुनाउँदै त्यसको लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने आफूहरुको अडान रहेको स्पष्ट पारे । उनले भने,‘उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ । उहाँहरु र हामीबीच अरु धेरै कुरामा सैद्धान्तिक असहमति पनि छन् । जस्तो, राष्ट्रपतिबारे उहाँहरु प्रत्यक्ष निर्वा्चित राष्ट्रपति प्रणाली भन्नुहुन्छ, हामीले संसदबाट निर्वा्चित हुनुपर्छ भनेका छौं ।’

मधेशी जनताले मधेशमा एउटै पार्टी भएको हेर्न चाहेको सुनाउँदै उनीहरुको मनोकांक्षा पूरा गर्नको लागि पनि एकता आजको आवश्यकत्ता रहेको सुमनको भनाई छ । उनले भने,‘जनताले हामीलाई एकताको लागि उत्प्रेरणा दिईरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।