0 COMMENTS

काठमाडौं, १४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता प्रधानले यस्तो बताएका हुन् । खुल्लामञ्चको सटर हटाउनको लागि प्रधानमन्त्री ओलीको साथै पत्रकार ऋषि धमलाको पनि महत्वपूर्ण भूमिका रहेको प्रधानको भनाई छ । उनले भने,‘म सम्पूर्ण मिडियालाई धन्यवाद भन्न चाहन्छु। खासगरी रिपोर्टर्स क्लब नेपाल, जसले यो विषयको पर्दाफास गरेको हो । यहीँबाट सुरु भएको अभियानले आज सार्थकता पाएको छ ।’

बैशाखभित्रमा टुँडिखेलको अतिक्रमित जग्गा खालि नभएको भए आफूहरुले जेठ १५ गतेदेखि सशक्त आन्दोलन गर्ने योजना बुनिसकेको पनि प्रधानले स्मरण गराए । यद्धपी प्रधानमन्त्री ओलीले तत्कालै निर्देशन दिएर खुल्लामञ्चका सटर भत्काउन लगाएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई पूनः धन्यवाद दिए । त्यस्तै, उनले ईतिहाँसमै मिडियाले छ्याप्छ्याप्ती गरेर समाचार छापेको पनि यही टुँडिखेलको जग्गा प्रकरण भएको जिकिर गरे । उनले भने,‘सार्वजनिक सम्पत्ति जोगाउन सबै लाग्नुपर्छ । भूमाफीयाहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’ कुनै दल विशेषको नभई जनताको प्रतिनिधि भएर यस्तो गलत कार्यको विरोध गर्नुपर्ने उनको भनाई थियो ।

‘भ्यु–टावर’बाट सुरु भएको माफियाकरण खुल्लामञ्चसम्म पुगेको नेता प्रधानको आरोप छ । फरक प्रसँगमा उनले नेपालको ईतिहाँसमै अहिलेसम्मको बलियो सरकार भएपनि वर्तमान सरकारले काम गर्ने अवसर गुमाएको आरोप लगाए । उनले भने,‘यो सरकार अहिले काण्डै काण्डमा मुछिएको छ ।’ कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद विराजभक्त श्रेष्ठले खुल्लामञ्चका सटर हटाउन सफल भएको भन्दै सबैमा धन्यवाद दिए । उनले भने,‘सार्वजनिक सम्पत्ति लुटिनु भनेको हामी ३ करोड नेपाली जनता लुटिनु हो । खुल्लामञ्चका सटर हटाउन नै हाम्रो जीत होईन् । यो त सानो उपलब्धिमात्रै हो ।’ उक्त प्रकरणमा ठगिएकाहरुले विधिवत रुपमा उजुरी जाहेर गरे आफूहरुले उनीहरुलाई न्याय दिलाउने उनको विश्वास थियो ।

कार्यक्रममा सेभ भ्याली नेपालका अध्यक्ष राजाराम तण्डुकार, खुल्लामञ्च बचाउ अभियानका संयोजक सुसन बैद्य, काठमाडौं–२८ नम्बर वडाका वडाअध्यक्ष भाईराम खड्गी र सम्पदा बचाउ अभियान संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले खुल्लामञ्चका सटर हटाउनको लागि मिडियाको ठूलो भूमिका रहेको भन्दै धन्यवाद दिए । उनीहरुले मिडियाले माफियाहरुकोविरुद्ध आवाज निकालेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।