0 COMMENTS

लहान, १५ चैत०७६/  देशव्यापी लकडाउनका कारण समस्यामा परेका अति विपन्न नागरिकलाई घर घरमै पुगेर सिरहाको मिर्चैया नगरपालिकाले आजदेखि राहतस्वरुप खाद्यान्न वितरण शुरु गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले गरेको लकडाउनका कारण दैनिक छाक टार्नसमेत समस्यामा परेका अति विपन्न नागरिकको तथ्याङ्क सङ्कलन गरी नगरपालिकाले घर घरमै पुगेर राहतस्वरुप खाद्यान्न सामग्री वितरण गर्न शुरु गरेको हो ।

आज पहिलो दिन वडा नं ६ का अति विपन्न २५ परिवारलाई प्रतिपरिवार १५ किलो चामल, दुई केजी दाल, दुई केजी आलु, दुई केजी चिउरा, एक केजी नून, आधा लिटर खाने तेल, एउटा नुहाउने साबुनका दरले घर घरमै पुगेर वितरण गरेको मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादवले जानकारी दिनुभयो ।

नगरपालिकाका १२ वटै वडाका अति विपन्न ५०० परिवारलाई घर घरमै पुगेर खाद्यान्न सामग्री वितरण गर्ने प्रमुख यादवले बताउनुभयो । यस्तै सिरहाको विष्णुपुर गाउँपालिकाले घर घरमा साबुन, मास्क र सेनिटाइजर वितरण गरेको छ । गाउँपालिकाको सबै वडामा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन मास्क, सबानु र सेनिटाइजर वितरण गरेको गाउँपालिका अध्यक्ष जागेश्वर यादवले जानकारी दिनुभयो ।

यस्तै सिरहा नगरपालिका–१७ ले आज बिहान वडा क्षेत्रभित्र लामखुट्टे मार्ने विषादी छर्केका छन् । बढ्दो गर्मीसँगै लामखुट्टेको प्रकोप बढेपछि विषादी छर्केको हो ।

यसैबीच लकडाउनको पाँचाँै दिन आज पनि बिहानैदेखि सिरहाको लहान, गोलबजार, मिर्चैयालगायत मुख्य बजार सुनसान छन् भने चोकचोकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।