0 COMMENTS

काठमाडौं । अध्यागमन विभागले कोरोना संक्रमण धेरै देखिएका आठ देशका पर्यटकलाई विमानस्थल आएपछि दिइने गरिएको अन अराइभल भिसा दिन बन्द गरेको छ । विभागले कोरोना भाइरसको संक्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनका नागरिकलाई अन अराइभल भिसा दिन बन्द गरेको हो ।

विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार गत साता नै चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई नेपाल प्रवेशका लागि अन अराइभल भिसामा प्रतिबन्ध लगाइएको थियो । पछिल्लो समय थप तीन देश स्पेन, फ्रान्स र जर्मनका नागरिकलाई समेत कोरोना संक्रमणको जोखिमका कारण अन अराइभल भिसा दिन बन्द गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार नेपालतर्फको यात्रामा आउँदा आफ्नै देशबाट प्रवेशाज्ञा लिएर आउने पर्यटकका लागि भने बन्देज लगाइनेछैन । यसरी आउँदा समेत आठ देशका नागरिकले कोरोना भाइरसको संक्रमण नभएको प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ । तर, प्रवेशाज्ञा नलिईकन आउनेहरूले भने नेपाल आएपछि विमानस्थल वा अन्य सीमा नाकाबाट अन अराइभल भिसा पाउनेछैनन् । यसअघि नेपालले १३ देशका नागरिकबाहेक सबैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य सीमा नाकामै अन अराइभल भिसा प्रदान गर्दै आएको थियो ।

पर्यटकका रूपमा नेपाल भित्रने विश्वका धेरै देशका नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि र नेपालका विभिन्न नाकास्थित अध्यागमन कार्यालयबाट नेपाल प्रवेश गर्ने अनुमति लिन पाउने प्रावधान छ ।

पर्यटकका लागि स्थलमार्ग पनि बन्द
स्थल मार्ग हुँदै नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि स्थलमार्ग समेत बन्द भएको छ । भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरेपछि भारतीय स्थलमार्ग हुँदै नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकका लागि स्थल मार्ग बन्द गरिएको छ । भारतले १५ अप्रिलसम्मका लागि सबै मुलुकका पर्यटकको भिसा रद्द गरेको छ ।

कोरोना संक्रमणको उच्च जोखिम रहेको चीनतर्फका उत्तरी नाकासमेत सुनसान छन् । नेपालसँगको व्यापारिक नाकाका रूपमा पछिल्लो समय स्थापित भएको रसुवागढी नाका करिब एक महिनादेखि ठप्प छ । यो नाकाबाट पर्यटक नेपाल छिर्न पाएका छैनन् । यस्तै, तातोपानी नाकासमेत बन्द भएकाले दुवै छिमेकी मुलुक हुँदै स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको आगमन बन्द भएको हो ।

सन् २०२० को फेब्रुअरीमा कुल १ लाख १ हजार ४ सय जना पर्यटक नेपाल आएका थिए । उनीहरूमध्ये स्थलमार्गबाट मात्र करिब २४ हजार ३ सय ३६ जना पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । यसरी नेपाल प्रवेश गर्नेहरू अधिकांश दक्षिणी नाका हुँदै आएका छन् । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।