0 COMMENTS

वि.सं. २०७६ आश्विन ०६ गते सोमबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत दशमी श्राद्ध, मातृ नवमी, आश्विन कृष्णपक्ष (ञलागा) नवमी तिथि, दिउँसो ०१:२३ बजेसम्म, त्यसपछि दशमी तिथि, आर्द्रा नक्षत्र, बिहान ०७:४२ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा, मध्यरात्रीपछि ०१:०५ बजेसम्म, त्यसपछि कर्कट राशिमा, वरीयान् योग, दिउँसो ०३:४३ बजेसम्म, त्यसपछि परिघ योग, सुरुमा गर करण दिउँसो ०१:२३ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि १२:२८ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, आनन्दादि योग : कालदण्ड, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:५२ बजे, सूर्यास्त : साँझ ०५:५८ बजे, दिनमान : ३० घडी १७ पला (१२ घण्टा ०७ मिनेट, रात्रीमान : २९ घडी ४३ पला (११ घण्टा ५३ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिश्रमका बलमा पराक्रम र प्रतिष्ठा स्थापना गर्ने राम्रो दिन छ । तर आज बोलीको विपरीत अर्थ लाग्नसक्छ, अनि अप्ठ्यारामा पर्न सकिन्छ, त्यसैले नबोली चुप लागेर बस्नु नै कल्याणकारी हुनेछ । आज जसअपजसको ख्याल नगरी काम गर्ने दिन हो, अन्त्यमा तपाईंकै श्रेय बढ्ने छ, मानसम्मान र प्रसिद्धि बढाउन सकिने दिन छ । यद्यपि सहयोगीहरूले साथ दिने अनुकूलता मिल्दैन, घरपरिवारभित्रै वा आफन्तबाट नै तपाईंको विश्वास नगर्ने वातावरण बन्न सक्छ । ठूलाबडा, विद्वान् र प्राज्ञिक व्यक्तिहरूले पनि साथ दिने छैनन् । यात्राबाट पनि सोचजस्तो फाइदा लिन सकिंदैन, त्यसैले टाढाको यात्राको योजना छ भने नगर्नु राम्रो हुन्छ । परदेशमा हुनुहुन्छ भने घरको यादले सताउने समय देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण समेत बन्नेछ । आज नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना योजना, रणनीति र विचारलाई कार्यान्वयन गर्दा राम्रो हुनेछ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुनसक्छ । मुखमा लच्छिन बसेको दिन छ, प्रशस्त धनार्जन गर्ने अवसर पाइने छ । प्रतिस्पर्द्धा वा प्रतियोगितात्मक क्रियाकलापमा सफलता मिल्नेछ । सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफ्नै राशिमा रहेको चन्द्रमाको प्रभावले कल्पना र भावुकतामा मन रुमल्लिने छ, तर साथीभाइ र परिवारका सदस्यहरूले समेत तपाईंको भावना बुझ्न सक्दैनन् । व्यापारिक वा दैनिक कामहरूबाट सामान्यतया लाभ नै हुने देखिन्छ । मन उत्ताउलो बन्नेछ र निर्णयक्षमतामा कमी आउन सक्छ । यद्यपि रामरमाइलो र मनोरञ्जनात्मक क्षेत्रमा समय निकाल्न सकिंदैन, सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । घरभित्र झिनामसिना समस्या देखिन सक्छन् । दिक्कलाग्दो यात्रा हुनसक्छ । अप्रिय र मन नमानेको काम वा घटनामा सरिक हुनु पर्नेछ । खानपिनको समयमा फेरबदल हुनसक्छ । घरिघरि निराशाभाव हाबी भए पनि समग्रमा राम्रै दिन छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खर्च बृद्धि हुने समय चल्दैछ । बाह्रौं भावको चन्द्रमाले व्यवहारिक झन्झट र अनावश्यक खर्चका कारण काममा बाधा हुने तथा र धनको अभावमा मनमा अशान्ति र छटपटी व्याप्त हुने समय छ । उता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ, नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ । यात्रामा पनि झमेला आउनसक्छ, सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नु पर्छ । स्वास्थ्यमा पनि अनुकूलता देखिंदैन, खानपानमा नियन्त्रण गर्नु राम्रो हो । मन नपरेको खबर सुन्ने योग छ, साथै नकारात्मक भावनाले दुःखित बनाउन सक्छ । त्यस्तै चिन्ता र शङ्का पनि आजका शत्रु हुन्, अतः मानसिक तनाव बढ्नाले मनमा दोधारको अवस्था सिर्जना हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभस्थानको चन्द्रमा राहुसँग बसेकाले निर्बल छ, त्यसैले समय त्यत्ति बलियो छैन । तर अर्काको विषयमा कुनै चासो नराखी काम गरेमा कामधन्दा र व्यवसायबाट बेफाइदा नै हुँदैन । आज सहयोगको अपेक्षा गर्ने जोसुकैलाई सहयोग गर्नु र सद्भाव राख्नु राम्रो हुनेछ, यसो गरेमा भाग्यवृद्धि हुने समय हो । त्यसैले कुनै पनि भिखारी वा माग्नेलाई सकेसम्म निराश तुल्याउनु हुँदैन । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको जाति हुन्छ । पापबुद्धि र भ्रष्टमतिको उदय हुनाले बढुवा वा जिम्मेवारीका अवसर गुम्न सक्छन्, घरपरिवारमा सामान्य छ । हाँसखेल र मनोरञ्जनका लागि समय निकाल्न सकिंदैन । नियमित भोजनको अनुकूलता मिल्दैन । अरुले तपार्इंका क्रियाकलापको चियोचर्चो गर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कर्मक्षेत्रमा राहु र चन्द्रमा साथमा बसेर ग्रहण योगको सिर्जना भएको छ, त्यसैले आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडासँग सतर्क भएर व्यवहार गर्नु राम्रो हो । मातापिता र अभिभावकवर्गको सेवासुश्रुषामा समय व्यतीत हुनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । झिनामसिना घरायसी तथा श्रममूलक काममा समय व्यतीत हुनेछ । नयाँ काम वा व्यवसायका बारेमा अवधारणा उत्पन्न भए पनि कार्यान्वयन पक्षमा कमजोरी देखिने छ । पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । पैतृक सम्पत्ति र अचल सम्पत्तिमा विवाद हुनसक्छ । तर आज गरेको कर्मको राम्रो परिणाम मिल्ने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज भाग्य निर्माणको समय छ । सहयोगको आशामा रहेका व्यक्ति वा असहाय र बृद्धबृद्धाको सहयोग गर्नाले भाग्य अभिबृद्धिमा सघाउ पुग्नेछ । पुराना साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्नेछ । प्रतिभाको कदर हुनेछ । नयाँ ज्ञान प्राप्त हुने समय छ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । ठूलाबडाको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकारी समय हो, प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । पुरानो साथी वा प्रेमी/प्रेमिकासँग भलाकुसारी वा भेटघाट हुने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अष्टम भावको चन्द्रमाका कारण बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु राम्रो हुन्छ । चोटपटकको भय हुनेछ र बिनापत्ताको आरोप व्यहोर्नु पर्ने दिन छ । धन, धर्म र भाग्यमा हानी पुग्ने तथा स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । विभिन्न समस्याहरू झेल्ने समय छ । घरपरिवारभित्र सानातिना समस्या देखिनसक्छन् । मानसिक तनाव र चिडचिडेपना बढ्न सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैको साथीले भित्री कुरा बाहिर ल्याइदिनाले तनावमा अझ बृद्धि हुने भएकाले निकै होस राख्नुपर्ने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सातौं भावको चन्द्रमा र राहुको युति तथा राशिमा नै रहेको केतुका कारण प्रेमी/प्रेमिका वा जीवनसाथीसित विवाद, तनाव र असमझदारी बढ्ने दिन हो । आज नजिकैका व्यक्तिले समेत तपाईंको धारणा र इच्छा बुझिदिंदैन, अनि कताकता मन रुमल्लिन सक्छ । प्रेम र प्रणय प्रसङ्गका लागि राम्रो समय छैन तर व्यवहारिक काम र जिम्मेबारीप्रति राम्रो प्रभाव रहने छ । घरायसी काममा समय दिइने छ, गर्नैपर्ने काममा धनव्यय हुनसक्छ । प्रयास गर्दा आम्दानीको मार्ग सहज देखिन्छ, तर बन्दव्यापारको दौडधूपले पारिवारिक जीवन निरस रहन सक्छ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले ढिलो गरी कुनै काम बन्न सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाको रक्षाका लागि प्रयास हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । आफन्त वा मित्रले आज अप्रत्याशित रूपमा सहयोग गर्नेछन् । प्रेमी/प्रेमिका वा जीवनसाथीसितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । खानपान र मेजमानीको अनुकूलता प्राप्त हुनसक्छ, तर स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । कार्यक्षेत्र प्रशासन, न्याय वा सुरक्षा निकायको छ भने तपाईंको विशेष उन्नति हुने दिन हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –आज अध्येता र छात्रछात्राको दिन हो । चिन्तन र उपायले काम गर्नसक्छ । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । ज्ञानगुनका क्षेत्रमा सक्रिय भइने छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन् । प्रेमी/प्रेमिकाको मिलन हुने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज चतुर्थ भावमा रहेको चन्द्रमाले घरगृहस्थीका झिनामसिना काममा खट्ने प्रेरणा प्रदान गर्नेछ । छरछिमेकी वा साथीभाइका क्रियाकलाप देखेर दिक्क मान्न सकिन्छ । कुनै किसिमको झैझगडा र वादविवाद हानिकारक बन्ने भएकाले सतर्क रहनु पर्छ । प्रेमसम्बन्ध वा रागात्मक मनोभावनाका कारणसमेत निराशा हुनेछ । भाइबहिनी र सन्तानपक्षका समस्या र क्रियाकलापसमेत चित्त बुझ्दो हुँदैन । मनोरञ्जन र खेलवाडले बेफाइदा हुनसक्छ । तर घरबाहिर बसेर रोजगारी गर्नेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । मातापिता वा अभिभावकसँग कुराकानी गरी खैखबर लिनु उचित हुनेछ, कुनै नयाँ काम गर्नुछ भने आमाको आशीर्वाद लिन नबिर्सनु होला ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।